भोजपुर, १ वैशाख । पूर्वी पहाडी जिल्ला भोजपुरमा फुटबलको चहलपहल फेरि एकपटक बढ्ने भएको छ । आगामी वैशाख ६ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने नवौँ संस्करणको ‘मेयर भोजपुर गोल्डकप’ ले स्थानीयस्तरमा मात्र नभई राष्ट्रियस्तरका क्लबहरूबीच प्रतिस्पर्धात्मक खेलकुद वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा आयोजना हुन लागेको प्रतियोगिताबारे सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । आयोजकका अनुसार यसपटक प्रतियोगितालाई थप आकर्षक र प्रतिस्पर्धात्मक बनाउन ‘ए’ डिभिजन स्तरका क्लबसहित उत्कृष्ट टोलीहरूको सहभागिता सुनिश्चित गरिएको छ ।
जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविन कुमार सुवालका अनुसार प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीहरूमा सातदोबाटो युथ क्लब (ललितपुर), एपिएफ फुटबल क्लब (काठमाडौँ), प्लानिङ ब्वाइज युनाइटेड (काठमाडौँ), एल एक्स सिटी (मोरङ), सङ्खुवासभा–११ (सङ्खुवासभा), केपिलासगढी गाउँपालिका (खोटाङ), द गोर्खाज फुटबल एकेडेमी (उदयपुर) र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घको सहभागिता रहनेछ ।
प्रतियोगिताको पुरस्कार राशिसमेत आकर्षक राखिएको छ । विजेता टोलीले पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले तीन लाखमा चित्त बुझाउनुपर्नेछ । साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यस प्रतियोगितालाई सफलतापूर्वक सञ्चालन गर्न भोजपुर नगरपालिकाले करिब रु ३० लाख बजेट विनियोजन गरेको छ । स्थानीय सरकारको यस्तो लगानीले खेलकुदलाई सामाजिक तथा आर्थिक गतिविधिसँग जोड्ने प्रयास भएको देखिन्छ । खेलकुद प्रतियोगिताले स्थानीय बजार चलायमान बनाउने, आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र युवाहरूलाई सकारात्मक क्रियाकलापमा संलग्न गराउने अपेक्षा गरिएको छ ।
यसैबीच, भोजपुरमा महिला फुटबललाई पनि प्रोत्साहन गर्ने उद्देश्यसहित आगामी वैशाख १७ देखि २० गतेसम्म आठौँ संस्करणको ‘मेयर कप’ महिला फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । महिला प्रतियोगितामा विजेताले रु एक लाख ६ हजार र उपविजेताले रु ५१ हजार ५५५ नगद पुरस्कार प्राप्त गर्नेछन्। बाहिरबाट सहभागी हुने टोलीहरूलाई तयारी खर्चस्वरूप रु २० हजार उपलब्ध गराइनेछ, जसले सहभागिता बढाउने अपेक्षा गरिएको छ ।
पत्रकार सम्मेलनकै अवसरमा आयोजकले अघिल्ला संस्करणहरूको आय–व्यय विवरणसमेत सार्वजनिक गरेको छ, जसलाई पारदर्शितातर्फको सकारात्मक अभ्यासका रूपमा लिइएको छ ।
‘मेयर भोजपुर गोल्डकप’ केवल खेलकुद प्रतियोगिता मात्र नभई स्थानीय स्तरमा खेलकुद संस्कृतिको विकास, प्रतिभा पहिचान र सामाजिक एकताको माध्यमका रूपमा स्थापित हुँदै गएको छ । नियमित र व्यवस्थित रूपमा यस्ता प्रतियोगिता सञ्चालन हुन सकेमा ग्रामीण भेगमा खेलकुदको आधार मजबुत हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्