भरौल गोल्डकपः पथरी–११ फुटबल क्लब सेमिफाइनलमा

धरान (सुनसरी), २४ चैतः सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जारस्थित खेलमैदानमा न्यू स्टार फुटबल क्लबको आयोजनामा नवौँ अन्तरराष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।

प्रतियोगिताअन्तर्गत सोमबार भएको उद्घाटन खेलमा झापा–११ फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मोरङको पथरी–११ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको २५औँ मिनेटमा पथरीका खेलाडी सञ्जय लिम्बूले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसैगरी दोस्रो हाफको १०औँ मिनेटमा झापा–११ का घनश्याम कार्कीले गोल फर्काउँदै खेल बराबरीमा ल्याए । त्यसपछि दोस्रो हाफकै ३०औँ मिनेटमा पथरीका आदित्य शाक्यले थप एक गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।

सोमबारको खेलको ‘म्यान अफ द म्याच’ पथरीका खेलाडी आदित्य शाक्य घोषित हुँदै नगद रु पाँच हजार पुरस्कार प्राप्त गरेका छन् । आयोजक क्लबका अध्यक्ष भेषराज कार्कीका अनुसार मङ्गलबार आरटीएफसी मलेसिया र द योङ ब्रदर इटहरीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद रु चार लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु दुई लाखसहित ट्रफी हात पार्नेछन् । प्रतियोगितामा भारत र मलेसियासहित आठ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्