नेपाली बुद्धिचाल टोली चीन र काजाकिस्तानतर्फ प्रस्थान

काठमाडौं, २२ चैत । अन्तर्राष्ट्रिय स्तरका महत्वपूर्ण प्रतियोगितामा सहभागिता जनाउन नेपाली बुद्धिचालका दुई फरक टोली चीन र काजाकिस्तानतर्फ प्रस्थान गरेका छन् । नेपाल बुद्धिचाल महासंघका अनुसार आइतबार खेलाडीहरू सांघाई र अल्माटी गएका हुन्, जहाँ उनीहरूले फरक–फरक प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

चीनको सांघाईमा आयोजना हुने आठौं सांघाई कोअपरेशन अर्गनाइजेसन (एससीओ) अन्तर्राष्ट्रिय टिम बुद्धिचाल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने टोलीको नेतृत्व महासंघका कोषाध्यक्षले गरेका छन् । यस टोलीमा नेपालका शीर्ष वरियताका खेलाडी तथा वर्तमान राष्ट्रिय च्याम्पियन फिडे मास्टर रुपेश जैशवाल, दोलखाका प्रतिभाशाली खेलाडी आशिष फुयाल र महिलातर्फ पहिलो वरियताकी कृतिसारा अधिकारी सहभागी छन् । प्रतियोगिता अप्रिल ७ देखि १२ तारिखसम्म सञ्चालन हुनेछ ।
यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा उच्च प्रतिस्पर्धात्मक मानिन्छ, जहाँ विभिन्न देशका अनुभवी तथा दक्ष खेलाडीहरू सहभागी हुने गर्दछन् । नेपाली टोलीले पनि उत्कृष्ट प्रदर्शन गर्दै देशको प्रतिष्ठा उकास्ने लक्ष्य लिएको छ ।

यसैबीच, काजाकिस्तानको अल्माटीमा हुने फिडे आईएससीएफ विश्व विद्यालय टिम बुद्धिचाल प्रतियोगिताको एसियाली कन्टिनेन्टल चरणमा सहभागी हुन अर्को नेपाली टोली पनि त्यसतर्फ प्रस्थान गरेको छ । उक्त टोली दोस्रो राष्ट्रिय विद्यालयस्तरीय प्रतियोगिताका विजेता मार्भलस उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूबाट चयन गरिएको हो । अप्रिल ६ देखि ११ तारिखसम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपालबाट पाँच युवा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । टोलीमा निहाना श्रेष्ठ, सुहानी सिंह, कृष्टि रिजाल, वृजनन्ददास टमटा र आकर्षण कुँवर रहेका छन् । यी खेलाडीहरूलाई भविष्यका सम्भावनाशील प्रतिभाका रूपमा हेरिएको छ, जसले अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने अवसर पाउनेछन् ।

काजाकिस्तानतर्फको टोलीका व्यवस्थापकका रूपमा महासंघका रेटिङ अफिसर आईए निराजन प्रजापति रह्नु भएको छ भने प्रशिक्षकको जिम्मेवारी रिजेन्द्र राजभण्डारीले सम्हाल्नु भएको छ । उनीहरूले टोलीलाई आवश्यक रणनीति तथा प्रशिक्षण प्रदान गर्दै प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शनका लागि मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।

दुवै टोलीलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्यक्रमका बीच बिदाइ गरिएको थियो । महासंघका अध्यक्ष हेराकाजी महर्जन र प्रवक्ता राजु ताम्राकारले खेलाडीहरूलाई सफलताको शुभकामना दिँदै अन्तर्राष्ट्रिय मञ्चमा देशको गौरव बढाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपालमा पछिल्लो समय बुद्धिचाल खेलप्रति आकर्षण बढ्दो छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा नेपाली खेलाडीहरूको सहभागिता र प्रदर्शन सुधार हुँदै गएको छ ।

यस्ता प्रतियोगितामा सहभागिताले खेलाडीहरूको अनुभव र क्षमता अभिवृद्धि गर्नुका साथै देशको खेलकुद क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्