काठमाडौँ, १८ चैत : गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनको तयारीमा जुट्न सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी मुख्यालय हलचोकको आज निरीक्षणका क्रममा उहाँले विपद् सुरु हुन अगावै सम्पूर्ण पूर्वतयारी गर्न निर्देशन दिनुभयो ।
गृहमन्त्री गुरुङले विपद्को समयमा आम नागरिकलाई सरकार छ भन्ने अनुभूति गराउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । विपद् उद्धारका लागि दुई वटा हेलिकप्टर तयारी अवस्थामा राख्ने गरी मन्त्रालयले काम गरिरहेको उहाँको भनाइ छ ।
गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा तस्करी रोक्नको लागि मन्त्रालय कठोर भएर अघि बढ्न उद्घोष गर्दै त्यस्ता कार्यमा कुनै पनि सशस्त्र प्रहरी कर्मचारीहरू संलग्न भेटिए कडा कारबाही हुने बताउनुभयो ।
गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीलाई कार्यक्षेत्रमा परिचालित हुँदा आइपरेका समस्या समाधानका लागि छिट्टै कानुनी व्यवस्था गरिने विश्वास दिलाउनुभयो ।
त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गृहमन्त्रीको निर्देशनबाट कार्यक्षेत्रमा खटिँदा अनुशासित र परिणाममुखी कार्य गर्न थप प्रेरणा र हौसला मिलेको बताउनुभयो । सो क्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले सशस्त्र प्रहरी बल नेपालसँग सम्बन्धित विविध गतिविधि बारेमा प्रस्तुतीकरण दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्