काठमाडौं, १४ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता–कार्यकर्ताहरू सडक आन्दोलनमा उत्रिएपछि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ। विशेषगरी सिंहदरबार आसपास क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रदर्शनका कारण माइतीघर मण्डला देखि नयाँ बानेश्वर क्षेत्रसम्म तनावपूर्ण अवस्था देखिएको छ। सम्भावित अप्रिय घटना रोक्न प्रहरी र सशस्त्र बल दुवै परिचालन गरी भीड नियन्त्रणमा ध्यान केन्द्रित गरिएको छ।
सुरक्षा निकायका अनुसार संवेदनशील सरकारी कार्यालयहरू रहेको क्षेत्र भएकाले सिंहदरबार वरपर ‘हाइ अलर्ट’ लागू गरिएको हो। आवतजावतमा निगरानी बढाइएको छ भने आवश्यक परे थप सुरक्षा बल परिचालन गर्ने तयारी गरिएको जनाइएको छ।
पछिल्लो घटनाक्रममा केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेपछि एमालेले देशव्यापी विरोध कार्यक्रम सुरु गरेको हो। यही क्रममा राजधानीका विभिन्न स्थानमा प्रदर्शन चर्किँदै गएको देखिएको छ।
यसअघि गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनको स्मरण गर्दै सुरक्षा निकायले त्यस्तै अवस्था दोहोरिन नदिन विशेष सतर्कता अपनाएको जनाएको छ।
हाल स्थिति नियन्त्रणमै राख्न प्रयास भइरहेको छ भने सर्वसाधारणलाई अनावश्यक रूपमा भीडभाड हुने क्षेत्रतर्फ नजान आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस्