काठमाडौं, ८ चैत । नेपाली नयाँ वर्षलाई लक्षित गर्दै प्रदर्शन तयारीमा रहेको सिनेमा ‘राम नाम सत्य’ ले आफ्नो प्रचारलाई तीव्र बनाएको छ । यसैक्रममा निर्माण पक्षले सिनेमामा समावेश नयाँ गीत ‘हुम्लाको लिमी’ सार्वजनिक गरेको छ । यसअघि सार्वजनिक भएको ‘धागोले बाटेको’ बोलको गीतले युट्युबमा ४० लाखभन्दा बढी भ्युज बटुल्दै चर्चाको शिखरमा पुगेको बेला नयाँ गीत सार्वजनिक गरिएको हो ।
ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको ‘हुम्लाको लिमी’ गीत रोमान्टिक शैलीमा तयार पारिएको छ । गीतमा गायक एसडी योगी र गीताञ्जली थापा मगरको स्वर रहेको छ भने शब्द रचना मौसम अर्यालको छ । संगीत स्वयं गायक योगीकै रहेको गीतले मधुर लय र भावनात्मक प्रस्तुतीमार्फत दर्शकको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक देखिएको छ । सियोन श्रेष्ठको कोरियोग्राफीमा तयार पारिएको भिडियोमा सिनेमाका मुख्य अभिनेता विराज भट्ट र डेब्यु अभिनेत्री खुशी कार्कीको जोडी प्रस्तुत गरिएको छ । दुवै कलाकारबीचको रोमान्टिक केमेस्ट्री र प्राकृतिक दृश्यले गीतलाई थप जीवन्त बनाएको छ । विशेषगरी कर्णाली प्रदेशको सुन्दर भूगोल झल्काउने गरी दैलेखमा गरिएको छायांकनले दर्शकलाई नयाँ स्वाद दिएको छ ।
सिनेमामा विराज भट्ट र खुशी कार्कीका साथै सुनिल थापा, सुशिल श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी र आयुष सिंह ठकुरीलगायतका कलाकारहरूको अभिनय रहेको छ । अनुभवी र नयाँ कलाकारको संयोजनले सिनेमा थप सशक्त बन्ने विश्वास गरिएको छ ।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको यस सिनेमाको कथा, पटकथा तथा निर्देशन माइकल चन्दले गरेका हुन् । उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको सिनेमामा कार्यकारी निर्माताका रूपमा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रह्नु भएको छ । क्रियटिभ प्रोड्यूसरका रूपमा मोती कार्की रहनुभएको छ भने लाइन प्रोड्यूसरको जिम्मेवारी राजेन्द्र आचार्यले सम्हाल्नु भएको छ ।
सिनेमाको प्राविधिक पक्ष पनि बलियो देखिएको छ । मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन र काला चरणको ब्याकग्राउन्ड म्युजिकले सिनेमालाई थप प्रभावशाली बनाउने अपेक्षा गरिएको छ । यस फिल्ममा नवराज शर्मा मुख्य सहायक निर्देशकका रूपमा रहनु भएको छ । संगीततर्फ बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र ओम स्पार्कको योगदान रहेको छ ।
यसअघि सार्वजनिक भएको टिजरले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाएको थियो । टिजरमा देखिएको कथावस्तु, एक्सन दृश्य र भावनात्मक पक्षले दर्शकमा सिनेमाप्रति उत्सुकता बढाएको छ । अब नयाँ गीत सार्वजनिक भएसँगै सिनेमाको प्रचार थप सशक्त भएको देखिन्छ ।
‘राम नाम सत्य’ लभस्टोरी, सस्पेन्स, पारिवारिक र एक्सन जनराको मिश्रणमा निर्माण गरिएको सिनेमा हो । बहुआयामिक कथावस्तु र मनोरञ्जनात्मक प्रस्तुतीका कारण यो सिनेमा फरक स्वादको हुने निर्माण पक्षको दाबी छ ।
आगामी चैत्र २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो सिनेमा नयाँ वर्षको अवसरमा दर्शकका लागि आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा नयाँ कथा र प्रस्तुतीको खोजी भइरहेका बेला ‘राम नाम सत्य’ ले दर्शकको मन जित्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्