योगमाया आयुर्वेद विश्वविद्यालय केन्द्रीय कलेज स्थापनासँगै स्नातकोत्तर सञ्चालन

किमाथाङ्का (सङ्खुवासभा), १ चैत : सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयअन्तर्गत केन्द्रीय कलेज स्थापना तथा स्नातकोत्तर तहका कक्षा सञ्चालनको औपचारिक उद्घाटन गरिएको छ ।
आज यहाँ आयोजित एक विशेष कार्यक्रमकाबीच विश्वविद्यालयको केन्द्रीय कलेज उद्घाटन गर्दै उच्च शिक्षाका कार्यक्रम सुरु गरिएको घोषणा गरिएको हो । विश्वविद्यालयका उपकुलपति डा रमेश ढुङ्गेलले सम्बोधन गर्दै आयुर्वेदिक शिक्षा र अनुसन्धानलाई सुदृढ बनाउन विश्वविद्यालयले महत्वपूर्ण पहल थालेको बताउनुभयो ।
उपकुलपति ढुङ्गेलले खाँदबारीमा केन्द्रीय कलेज स्थापना हुनु सङ्खुवासभा जिल्लाका साथै समग्र कोशी प्रदेशकै लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले आयुर्वेद क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न स्नातकोत्तर तहको कक्षा सञ्चालनले नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले संस्थाको स्थापना र स्नातकोत्तर कक्षाको सञ्चालनलाई ऐतिहासिक उपलब्धि मान्दै यसले जिल्लामा उच्च शिक्षा र आयुर्वेद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने आशा व्यक्त गर्नुभयो ।
वक्ताहरूका अनुसार हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी तथा प्राकृतिक स्रोतको वैज्ञानिक अध्ययन र उपयोगमार्फत आयुर्वेद चिकित्सा प्रणालीलाई अझ प्रभावकारी बनाउने लक्ष्य विश्वविद्यालयले लिएको छ । योगमाया आयुर्वेद विश्वविद्यालय “योगमाया आयुर्वेद विश्वविद्यालय ऐन, २०७९” अनुसार स्थापना गरिएको हो । यसको केन्द्रीय कार्यालय खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको छ ।
सतिप्रथा अन्त्यका लागि लड्ने क्रान्तियोद्धा योगमाया न्यौपानेको जन्म १९१७ सालमा भोजपुरको षडानन्द नगरपालिका–१, नेपालेडाँडा मझुवाबेँसीमा भएको थियो । देशमा जकडिएको सतिप्रथा अन्त्यका लागि पटकपटक तत्कालीन राणा सरकारसँंग माग गर्दा कुनै निर्णय नभएपछि योगमायाले अभियान नै सञ्चालन गरेकी थिइन् ।
सतिप्रथा, छुवाछूत प्रथा अन्त्यको लागि नारा लगाउँदै विसं १९९८ असार २२ गते अरुण नदीमा योगमायासहित ६८ जनाले जलसमाधी लिएका थिए । उनीहरुले समाधी लिएको ठाउँ षडानन्द नगरपालिका–६  मझुवावेसीमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्