त्रिकोणात्मक प्रेमको संकेतसहित ‘मितज्यू’को फस्र्टलुक पोस्टर सार्वजनिक

काठमाडौं, १ चैत । नेपाली सिनेमा ‘मितज्यू’को फस्र्टलुक पोस्टर सार्वजनिक भएको छ । सिनेमाको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै सिनेमा ‘मितज्यू’को प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । आगामी वर्षको जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर देशभर प्रदर्शनमा ल्याउने जानकारी दिएको छ ।

यस सिनेमाको निर्माण घोषणा गर्दा गत वर्ष माघमा सार्वजनिक गरिएको पेन्टिङ पोस्टरकै अवधारणालाई आधार बनाएर फस्र्टलुक पोस्टर तयार पारिएको निर्माण पक्षले जनाएको छ । पोस्टरमा सिनेमाका तीन मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई विशेष रूपमा प्रस्तुत गरिएको छ । पोस्टरको केन्द्रमा दयाहाङ र सौगातबीच पञ्जा लडाइँ गरिरहेको दृश्य देखिन्छ, जसले पात्रहरूबीचको प्रतिस्पर्धा, अहंकार र संघर्षलाई संकेत गर्छ ।

पोस्टरमा तेरिया फौजा मगर भने मालवाहक गाडीको बोनटमाथि बसेको अवस्थामा देखिएकी छन् । मगर समुदायको मौलिक पहिरनमा प्रस्तुत भएकी उनी रिसाएको भावमा देखिन्छिन् । यसले कथामा उनको पात्र भावनात्मक रूपमा बलियो र निर्णायक भूमिका निभाउने संकेत दिन्छ । पोस्टरको पृष्ठभूमिमा देखिएको पहाडी भूगोलले सिनेमाको कथा ग्रामीण परिवेश र स्थानीय सामाजिक सन्दर्भसँग जोडिएको हुन सक्ने संकेत पनि दिएको छ ।

पोस्टरको दृश्य संयोजनले सिनेमाको कथावस्तु त्रिकोणात्मक प्रेम, पात्रहरूबीचको आत्मसम्मानको संघर्ष तथा सामाजिक द्वन्द्वमा आधारित रहेको अनुमान गर्न सकिन्छ । नेपाली सिनेमामा सामाजिक विषयवस्तु र गहिरो भावनात्मक कथा प्रस्तुत गर्नका लागि परिचित दयाहाङ राई र सौगात मल्लको उपस्थिति तथा अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता जितेर चर्चामा आएकी तेरिया फौजा मगरको अभिनयले दर्शकमा उत्सुकता थपेको छ ।

सिनेमा निर्देशक अनिल बुढा मगरले निर्देशन गरेका हुन् भने जनक घर्ती मगर यसको निर्माता हुन् । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको ‘मितज्यू’मा मुख्य कलाकारहरूका साथै पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का र खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

प्राविधिक पक्षमा पनि अनुभवी टिमको सहभागिता रहेको निर्माण पक्षले जनाएको छ । सिनेमाको छायांकन शिशिर बिशंखेले गरेका छन् भने सम्पादनको जिम्मेवारी लोकेश बज्राचार्यले सम्हालेका छन् । द्वन्द्व निर्देशन प्रभात विष्टले गरेका छन् भने साउन्ड डिजाइन नवीन श्रेष्ठको रहेको छ । सिनेमाको संगीत श्रीकृष्ण बम मल्लले तयार पारेका हुन् ।

सिनेमा आरआर फिल्मस्ले देशभर वितरण गर्ने तयारी गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर रिलिज गर्ने तयारी गरिएकाले सो समय दर्शकको ठूलो उपस्थिति हुने अपेक्षा निर्माण पक्षले गरेको छ ।
फस्र्टलुक पोस्टर सार्वजनिक भएसँगै ‘मितज्यू’ले दर्शकमाझ चर्चा पाउन थालेको छ । विशेष गरी दयाहाङ राई र सौगात मल्लजस्ता लोकप्रिय कलाकारको उपस्थितिले सिनेमाप्रति चासो अझ बढेको छ । साथै तेरिया फौजा मगरको अभिनय यात्रामा यो सिनेमा महत्वपूर्ण बन्न सक्ने अनुमान गरिएको छ ।

अब पोस्टर सार्वजनिक भएसँगै सिनेमाको टिजर, ट्रेलर र गीतहरू सार्वजनिक गर्ने तयारी निर्माण पक्षले गरिरहेको छ । आगामी जेठ १५ मा प्रदर्शनको तयारीमा रहेको ‘मितज्यू’ले नेपाली चलचित्र बजारमा कस्तो प्रभाव पार्छ भन्नेबारे दर्शक र चलचित्रकर्मी दुवै उत्सुक देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्