फिल्म ’दुई रूपैयाँ’ को गीत ‘कुटुमा कुटु’ युट्युबमा पहिलो स्थान

काठमाडौँ, १ चैत । डिजिटल प्लेटफर्मको बढ्दो प्रभावसँगै नेपाली संगीतको लोकप्रियता मापन गर्ने प्रमुख माध्यममध्ये एक बनेको युट्युबमा सबभन्दा धेरै हेरिएका नेपाली गीतहरूको सूचीमा ’कुटुमा कुटु’ ले वर्षौदेखि पहिलो नम्बरमा स्थान बनाइरहेको छ । युट्युबमा २३ करोड ५८ लाखभन्दा बढीपटक हेरिएको यो फिल्म ’दुई रूपैयाँ’ को गीत हो ।

राजनराज शिवाकोटी, मेलिना राई र राजन इशानको स्वर रहेको गीत ८ वर्षअघि सार्वजनिक भएको थियो । भिडिओमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, आसिफ शाह र बुद्धि तामाङले अभिनय गरेका छन् । युट्युबमा धेरै हेरिने दोस्रो नम्बरमा ’रूकुम मैकोट’ छ । एसडी योगी र शान्तिश्री परियारको स्वर रहेको यो गीतले ’माया लुकी लुकी’ लाई पछि पार्दै दोस्रो स्थान बनाएको हो ।

फिल्म ’खुश्मा’ मा समावेश ’रूकुम मैकोट’ सार्वजनिक भएको निकै छोटो समयमै लोभलाग्दो भ्युजका साथ अगाडि आएको हो । २०८१ सालको भदौंमा रिलिज भएको यो गीतलाई हालसम्म १७ करोड १३ लाखभन्दा बढीपटक हेरिएको छ । यसको भिडिआमा फिल्मका कलाकार धीरज मगर र उपासना सिंह ठकुरीको नृत्य हेर्न सकिन्छ ।

यसअघि धेरै हेरिने दोस्रो नम्बरमा रहेको ’माया लुकी लुकी’ तेस्रो स्थानमा झरेको छ । टीका प्रसाइँको स्वर रहेको यो गीतलाई अहिलेसम्म १६ करोड ५१ लाखभन्दा बढीपटक हेरिएको छ । भिडिओमा कार्टुन क्रुका सरोज अधिकारी तथा आश्मा विश्वकर्मा फिचर्ड छन् । यो ७ वर्षअघि सार्वजनिक भएको थियो । सूचीको चौथो नम्बरमा दुर्गेश थापाको गीत ’दुश्मन हेरेको हेर्यै’ ले स्थान बनाएको छ ।

२०८१ सालको माघमा सार्वजनिक यो गीतले पनि निकै छोटो समयमा ठूलो सफलता हात पारेको हो । दुर्गेशसहित आनन्द कार्की, समीक्षा अधिकारी र एलिना चौहानको स्वर रहेको गीतको भ्युज १६ करोड १० लाख पार भएको छ । यसको भिडिओमा दुर्गेश स्वयंका साथमा प्रियंका कार्की, कविता नेपालीलगायत फिचर्ड छन् ।

पाँचौं स्थानमा ’साली मनपर्यो’ गीत छ । कालीप्रसाद बाँस्कोटा र अस्मिता अधिकारीले स्वर दिएको यो फिल्म ’घामड शेरे’ को गीत हो । यसको भिडिओमा स्वस्तिमा खड्का र निश्चल बस्नेतको नृत्य छ । भिडिओको भ्युज १५ करोड ९६ लाखभन्दा माथि छ । यो ६ वर्षअघि सार्वजनिक गीत हो ।

प्रतिक्रिया दिनुहोस्