काठमाडौं, २८ फागुन । अभिनेत्री आँचल शर्मा को मुख्य भूमिका रहेको नेपाली सिनेमा एक मुठी बादल ः माई सेयर अफ स्काई को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय नारी दिवस को अवसर पारेर फिल्मको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी वर्षको जेठ १ गते अर्थात् मे १५ लाई प्रदर्शन मिति तय गरिएको हो ।
गौंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सन को सहकार्यमा निर्माण भएको यस सिनेमामा अधिकांश प्राविधिक तथा सिर्जनात्मक विधामा महिलाको नेतृत्व रहेको छ । तीन पुस्ताका पात्रहरूको भावनात्मक उतारचढावलाई केन्द्रमा राखेर निर्माण गरिएको यो फिल्मले तीव्र रूपमा परिवर्तन भइरहेका नेपाली समाजको पृष्ठभूमिमा परिवारभित्रका अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षालाई चित्रण गर्ने बताइएको छ ।
फिल्मको लेखन तथा निर्देशन सहारा शर्मा ले गरेकी छन् । अमेरिकाको न्युयोर्क मा बस्दै आएकी उनले यसअघि चेजिङ रेन्बोज शीर्षकको फिल्म निर्देशन गरेकी थिइन् ।
उक्त फिल्म काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन सिनेमा महोत्सव २०१३ को उद्घाटन फिल्मका रूपमा प्रदर्शन गरिएको थियो । सो अवसरमा सहारा फिक्सन फिचर फिल्ममार्फत महोत्सव उद्घाटन गर्ने सबैभन्दा कान्छी महिला निर्देशक बनेकी थिइन् । उनले सोही महोत्सवको नेपाली पानोरोमा विधामा शीर्ष पुरस्कार पनि जितेकी थिइन् ।
‘एक मुठी बादल’ले निर्माणकै क्रममा विभिन्न अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ। फिल्मले प्रतिष्ठित ह्युबर्ट बल्स फन्ड अन्तर्गतको युरोपियन पोस्ट–प्रोडक्सन ग्रान्ट प्राप्त गरेको छ, जुन महिला निर्देशकद्वारा निर्देशित पहिलो नेपाली फिल्मका रूपमा उल्लेखनीय मानिएको छ। साथै यस परियोजनाले विश्वका विभिन्न प्रतिष्ठित फिल्म ल्याबहरूसँग सहकार्य गर्ने अवसर पनि पाएको थियो।
सन् २०२१ मा फिल्मका निर्माता अभिमन्यु दीक्षित ले भारतको एनएफडीसी सिनेमा बजारमा रोटरड्याम ल्याब अवार्ड प्राप्त गरेका थिए । यसका अतिरिक्त फिल्मले कान्स सिनेमा महोत्सव अन्तर्गतको ‘मार्शे डु सिनेमा’ कार्यक्रममा सहभागिता जनाएको थियो ।
फिल्मका कार्यकारी निर्माता निकुन श्रेष्ठ हुन् भने निर्माण टिममा जर्मन निर्माता सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल सहभागी छन् । जर्मनीमा बसोबास गर्ने फाजिलातले आफ्नो कम्पनी थर्ड कल्चर किड्स मार्फत अन्तर्राष्ट्रिय स्तरमा केन्द्रित फिल्म निर्माण तथा नयाँ फिल्मकर्मीलाई सहयोग गर्दै आएकी छन् ।
फिल्ममा आँचल शर्मासँगै निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारीको अभिनय रहेको छ । आँचलले ‘माइली’ पात्रको मुख्य भूमिका निर्वाह गरेकी छन् भने निशा शर्मा तीन दशकभन्दा बढी समयपछि पुनः फिल्म अभिनयमा फर्किएकी छन् ।
फिल्मको छायांकन भियतनामकी लिन्ह डान गुयेन फान ले गरेकी हुन् । प्रोडक्सन डिजाइन भारतीय कलाकार यशस्वी सभरवाल ले सम्हालेकी छन् । सम्पादन दीपा भाटिया ले गरेकी हुन्, जो तारे जमिन पर मा आफ्नो कामका लागि अन्तर्राष्ट्रिय रूपमा परिचित छिन्। फिल्मको कलर ग्रेडिङ थाइल्यान्डको ह्वाइट लाइट ले गरेको हो ।
प्रतिक्रिया दिनुहोस्