फिल्म ‘परालको आगो’ को टिजर सार्वजनिक

काठमाडौं, २८ फागुन । फिल्म ‘परालको आगो’ को टिजर सार्वजनिक भएको छ । निर्देशक लक्ष्मण सुनार को जन्मदिनको अवसर पारेर निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको टिजरमा श्रीमान–श्रीमतीबीच हुने सामान्य पारिवारिक झगडा र त्यसले सिर्जना गर्ने परिस्थितिलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।

 

टिजरमा अभिनेता प्रकाश सपूत रिसाहा स्वभावका श्रीमान् ‘चामे’को भूमिकामा देखिएका छन् भने उनकी श्रीमती ‘गौँथली’को भूमिकामा अभिनेत्री सुहाना थापा देखिएकी छन् । उनीहरूबीचको संवाद र भावनात्मक उतारचढावले टिजरलाई आकर्षक बनाएको छ ।

टिजरमा अभिनेता सौगात मल्ल को पनि झलक देखाइएको छ, जसले फिल्मप्रति दर्शकको उत्सुकता थप बढाएको छ । पारिवारिक सम्बन्ध, ग्रामीण परिवेश र सामाजिक यथार्थलाई कथामा समेटिएको संकेत टिजरले दिएको छ । हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको यस सिनेमामा सौगात, प्रकाश र सुहानासहित सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र मन्जिला बानियाँ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्ममा विभिन्न कलाकारहरूको अभिनयले कथालाई जीवन्त बनाउने अपेक्षा गरिएको छ ।

फिल्मका निर्देशक लक्ष्मण सुनार हुन् भने लगानीकर्ता सुशील पोखरेल रहेका छन्। चलचित्रको कथा तथा संवाद लेखन सुशील देवकोटा ले गरेका हुन् । फिल्मको कथा ग्रामीण जीवन र पारिवारिक सम्बन्धको वरिपरि केन्द्रित रहेको बताइएको छ ।

यो सिनेमा नेपाली साहित्यकार गुरुप्रसाद मैनाली को चर्चित कथा ‘परालको आगो’बाट प्रेरित भएर निर्माण गरिएको हो ।

नेपाली ग्रामीण समाजका यथार्थ र सम्बन्धका सूक्ष्म पक्षलाई समेट्ने मैनालीको कथा साहित्यमा निकै लोकप्रिय मानिन्छ ।
त्यही कथालाई आधुनिक सिनेमाटिक शैलीमा प्रस्तुत गर्ने प्रयास निर्माण टिमले गरेको जनाएको छ ।

फिल्मको प्राविधिक पक्ष पनि मजबुत रहेको बताइएको छ । चलचित्रमा संकल्प भुजेलको छायांकन रहेको छ भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । त्यसैगरी रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन् भने कनाल कँवरले रंग संयोजनको जिम्मेवारी सम्हालेका छन् ।

संगीततर्फ शान्ती ठटाल, सत्य–स्वरुप र प्रकाश सपूतको संगीत रहेको छ, जसले फिल्मलाई थप प्रभावशाली बनाउने अपेक्षा गरिएको छ । ग्रामीण परिवेश, पारिवारिक कथा र सशक्त कलाकारको उपस्थितिले ‘परालको आगो’ दर्शकमाझ चर्चित बन्ने अनुमान गरिएको छ ।

निर्माण टिमका अनुसार टिजर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको उत्सुकता बढेको छ । अब आगामी बैशाख ११ गतेदेखि देशभरका सिनेमा हलमा फिल्म प्रदर्शनमा आउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्