काठमाडौँका यी स्थानमा हुँदैछ मतगणना

काठमाडौँ, २१ फागुनः प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको छ । काठमाडौँको क्षेत्र नं १ को मतगणना सहकारी विभागमा हुँदैछ ।

त्यसैगरी क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय, क्षेत्र नं ३ को चामुन्डा माध्यामिक विद्यालय नारायणटार, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको कार्यालय र क्षेत्र नं को २ को ज्येष्ठ नागरिक कार्यालयमा गणना हुँदैछ ।

क्षेत्र नं ५ को श्री समाज भवन टोखा नगरपालिका–५ को भवनमा र क्षेत्र नं ६ को तार्केश्वर नगरपालिका, धर्मस्थलीमा मतगणना हुने निर्वाचन आयोगले जनाएको छ ।

क्षेत्र नं ७ को जुडो हल नयाँबजार, क्षेत्र नं ८ को जनउद्धार मावि हरिसिद्धी, काठमाडौँ, क्षेत्र नं ९ को चन्द्रगिरि नगरपालिका, बलम्बु र क्षेत्र नं १० को त्रिभुवन विश्वविद्यालय स्मृति भवन कीर्तिपुरमा मतगणना हुँदैछ ।

यसैगरी,प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।
काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिनुभयो ।
खसेको मतको यकीन हुन केही समय लाग्ने उहाँको भनाइ छ । मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टामा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्