काठमाडौँ र भक्तपुरमा शान्तिपूर्ण रुपमा मतदान जारी

काठमाडौँ, २१ फागुनः काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
     प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा काठमाडौँका ८१७ वटै मतदान केन्द्रमा उत्साहका साथ मतदान जारी रहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले राससलाई जानकारी दिनुभयो ।
     निर्वाचनका लागि उच्चस्तरको शान्ति सुरक्षाको प्रत्याभूति गरिएकाले मतदाताहरु उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भएको उहाँले बताउनुभयो । प्रजिअ पौडेल नेतृत्वको टोली अहिले काठमाडौँका विभिन्न मतदानस्थलको अनुगमनमा निस्केको छ ।
यसैगरी,
भक्तपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालका अनुसार क्षेत्र नं १ मा ३७ मतदानस्थल र ११९ मतदान केन्द्र कायम  छन् । पुरुषभन्दा महिला मतदाता बढी रहेको क्षेत्र नं १ मा ५२ हजार ६६ पुरुष र ५४ हजार ९८८ महिला मतदाता कायम छन् ।
यसैगरी, क्षेत्र नं २ मा ३९ मतदानस्थलमा ११४ वटा मतदान केन्द्र कायम गरिएको छ । पुरुषभन्दा महिला मतदाता बढी रहेको यस क्षेत्रमा ४८ हजार ७४ जना पुरुष मतदाता र ५० हजार २७७ महिला मतदाता छन् ।
क्षेत्र नं १ मा जिभिन्न राजनीतिक दलबाट १६  र स्वतन्त्रबाट नौ गरी २५ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिस्पर्धामा तीन जना महिला उम्मेदवार छन् भने क्षेत्र नं २ मा विभिन्न राजनीतिक दलबाट १७, स्वतन्त्र १५ गरी कूल ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्