आहा! रारा गोल्डकपको फाइनलमा जावलाखेल

काठमाडौं, ८ फागुन । ए डिभिजन क्लब जावलाखेल युथ क्लब ले २५औँ संस्करणको आहा! रारा पोखरा गोल्ड कप को फाइनलमा स्थान सुरक्षित गरेको छ । पोखरा रंगशालामा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा उज्वेकिस्तानको आभा एफसीलाई १–० ले स्तब्ध पार्दै जावलाखेलले उपाधि नजिकको यात्रा तय गरेको हो । यो उपलब्धिसँगै जावलाखेल १४ वर्षपछि पुनः आहा! राराको फाइनलमा पुग्न सफल भएको छ ।

खेल निकै प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले मिडफिल्डमा बल नियन्त्रणका लागि कडा संघर्ष गरे पनि स्पष्ट अवसर सिर्जना गर्न सकेका थिएनन् ।

दोस्रो हाफ सुरु भएपछि खेलको गति बढ्यो र निर्णायक क्षण ५२औँ मिनेटमा आयो । जावलाखेलका धरबेन्दर कुँवरले बायाँ विङबाट डि–एरिया नजिकैबाट गरेको क्रस रोक्ने प्रयासमा आभा एफसीका डिफेन्डर कुशान गानिजानोभबाट आत्मघाती गोल हुन पुग्यो । बल उनको खुट्टामा लाग्दै सिधै जाली चुमेपछि जावलाखेलले महत्वपूर्ण अग्रता लियो ।

त्यसपछि आभा एफसीले बराबरी गोलका लागि आक्रामक खेल प्रस्तुत ग¥यो । तर जावलाखेलको रक्षापंक्ति संयमित देखियो । ६५औँ मिनेटमा जावलाखेलका युवराज ढकालले मामुरोतोभलाई कडा फाउल गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाए ।

त्यसपछि जावलाखेल १० खेलाडीमा सीमित भयो । संख्यात्मक रूपमा कमजोर बने पनि जावलाखेलले रणनीतिक रूपमा रक्षात्मक खेल खेल्दै अग्रता जोगाउन सफल रह्यो । गोलकिपर र डिफेन्स लाइनले अन्तिम समयसम्म दबाब सहँदै टोलीलाई फाइनलमा पु¥याए ।

खेलपछि आभा एफसीका जोकोचन राखिमोभ ‘प्लेयर अफ द म्याच’ घोषित भए । यद्यपि व्यक्तिगत प्रदर्शन प्रभावशाली रहे पनि टोलीलाई फाइनलमा पु¥याउन भने पर्याप्त हुन सकेन ।

अब उपाधिका लागि जावलाखेलको सामना आयोजक सहारा क्लब सँग हुनेछ । सहारा क्लब पनि नौ वर्षपछि आहा! राराको फाइनलमा पुगेको हो । यसले शनिबार हुने फाइनललाई झनै रोचक बनाएको छ । घरेलु समर्थकको साथ पाउने सहाराले उपाधि जित्ने लक्ष्य देखिन्छ ।

जावलाखेलका प्रशिक्षकले खेलपछि प्रतिक्रिया दिँदै टोलीको आत्मविश्वास र समर्पणकै कारण जित सम्भव भएको बताउनु भयो । १० खेलाडीमा सीमित भएपछि पनि खेलाडीहरूले अनुशासित र संगठित प्रदर्शन गरेको उहाँको भनाइ थियो ।

यस संस्करणको प्रतियोगिताले नेपाली फुटबलमा प्रतिस्पर्धाको स्तर उकासिएको संकेत दिएको छ । सेमिफाइनल चरणसम्म आइपुग्दा विदेशी टोलीको सहभागिताले पनि खेललाई अन्तर्राष्ट्रिय स्वाद दिएको देखिन्छ । के जावलाखेल १४ वर्षपछि उपाधि उचाल्नेछ, कि सहारा क्लब घरेलु मैदानमा इतिहास रच्नेछ त्यो फाइनखेलमा मात्र थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्