आचारसंहिताले निषेध गरेको कुनै पनि प्रकारका मत सर्वेक्षण गर्नेलाई कारबाही गर्ने आयोगको चेतावनी

 

काठमाडौँ, ८ फागुन । निर्वाचन आयोगले स्पष्ट रूपमा निर्वाचन आचारसंहिताले निषेध गरेका कुनै पनि प्रकारका मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमलाई अनुरोध गर्दै यस्तो गतिविधि पाइएमा कानुनी कारबाही गरिने चेतावनी दिएको छ । दशौँ निर्वाचन दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने मत सर्वेक्षणप्रति गम्भीर चासो व्यक्त गर्दै कानुनी कारबाही गरिने चेतावनी दिनुभएको हो ।

उहाँले निर्वाचनको निष्पक्षता र विश्वसनीयता कायम राख्न सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँका अनुसार निर्वाचनको संवेदनशील समयमा सार्वजनिक गरिने मत सर्वेक्षणले मतदाताको मनोविज्ञानमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यस्ता गतिविधिलाई आचारसंहितामार्फत रोक लगाइएको हो ।

निर्वाचनको अवधिमा सूचना प्रवाहको प्रकृति नै परिणामलाई प्रभावित गर्न सक्ने भन्दै उहाँले सञ्चारमाध्यमलाई तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार पत्रकारिता अभ्यास गर्न आग्रह गर्नुभयो । “सत्य समाचारलाई झुट र झुटलाई सत्य बनाइ प्रस्तुत गर्न सकिने जोखिम निर्वाचनका बेला बढी हुन्छ,” उहाँले भन्नुभयो, “त्यसैले सामाजिक सञ्जाल र अन्य माध्यम प्रयोग गर्दा विशेष सतर्कता आवश्यक छ ।”

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले राजनीतिक दलका समर्थकलाई पनि निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्दै सामाजिक सञ्जालमार्फत हुने चरित्रहत्या, मानमर्दन र भ्रामक प्रचारप्रसारबाट टाढा रहन अनुरोध गर्नुभयो । उहाँका अनुसार निर्वाचनमा सामाजिक सञ्जाल ‘पेचिलो विषय’ का रूपमा देखिएको छ, जसले सूचना प्रवाहलाई छिटो बनाउनुका साथै गलत सूचनाको जोखिम पनि बढाएको छ ।

मतदातालाई पनि कसैको दबाब वा प्रभावमा नपरी आफ्नो विवेक प्रयोग गरी सही प्रतिनिधि चयन गर्न उहाँले आह्वान गर्नुभयो । स्वतन्त्र र निष्पक्ष मतदान प्रक्रियाले मात्र लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाउने भन्दै निर्वाचन प्रक्रियामा संलग्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।

निर्वाचन सुरक्षासम्बन्धी विषयमा पनि आयोगले तयारी तीव्र पारेको जनाएको छ । सुरक्षा निकायसँगको समन्वयमा नीति तथा रणनीति तय गर्न बैठकहरू भइरहेका जानकारी दिँदै आयोगले निर्वाचनको विश्वसनीयता कायम राख्न आवश्यक सम्पूर्ण व्यवस्थापनमा ध्यान दिइएको जनाएको छ ।

आचारसंहिता विपरीत प्रचारप्रसार भए जिल्लास्तरमै कारबाही हुने चेतावनी पनि आयोगले दिएको छ । निर्वाचन अधिकृतको कार्यालयमार्फत यस्ता गतिविधिमाथि निगरानी बढाइएको र आवश्यक परे तत्काल कानुनी प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ । साथै, निर्वाचन पर्यवेक्षकहरूलाई तोकिएको जिम्मेवारीभन्दा बाहिर नजान आयोगले सचेत गराएको छ ।

निर्वाचन प्रक्रियामा खटिएका कर्मचारी, सुरक्षाकर्मी, मतदाता शिक्षामा संलग्न स्वयंसेवक तथा अन्य सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सानो त्रुटिले पनि ठूलो समस्या निम्त्याउन सक्ने भएकाले सबैले सचेत भएर काम गर्नुपर्नेमा आयोगले जोड दिएको छ । धेरैभन्दा धेरै मत खसाल्ने र खसेका मतलाई सदर गराउने वातावरण बनाउन आयोगले विशेष ध्यान दिएको जनाएको छ ।

कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउत ले फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लास्तरमा मतदान अधिकृत तोक्ने तथा आवश्यक तालिम दिने कार्य भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन शिक्षासम्बन्धी सामग्री आयोगको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत नियमित रूपमा सार्वजनिक भइरहेको छ ।

हाल देशभरका ६ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको आयोगले जनाएको छ । मतदाता सचेतना अभिवृद्धि गर्दै मतदान प्रक्रियालाई सहज र प्रभावकारी बनाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको हो ।

निर्वाचन खर्चलाई पारदर्शी बनाउन यसपटक आयोगले खर्च व्यवस्थापन कार्यविधि पारित गरेको छ । यस अन्तर्गत राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको सचिव राउतले जानकारी दिनुभयो । यसले निर्वाचन खर्चको अनुगमनलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

त्यसैगरी, आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई ले नेपालमा पहिलोपटक २०१५ साल फागुन ७ गते सम्पन्न निर्वाचनको स्मरणमा २०७३ सालदेखि प्रत्येक वर्ष निर्वाचन दिवस मनाउने परम्परा सुरु गरिएको जानकारी दिनुभयो । नागरिकले मताधिकार प्रयोग गर्दै सार्वभौमसत्ता अभ्यास गरेको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिएको उहाँले उल्लेख गर्नुभयो ।

निर्वाचनको निष्पक्षता, पारदर्शिता र विश्वसनीयता कायम राख्न सञ्चारमाध्यम, राजनीतिक दल, मतदाता तथा सरोकारवाला सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको आयोगको जोड छ । विशेषतः मत सर्वेक्षणजस्ता गतिविधिले मतदाताको धारणा प्रभावित गर्न सक्ने भएकाले आचारसंहिताको पालना गर्दै स्वच्छ र मर्यादित निर्वाचन वातावरण निर्माण गर्न आयोगले सबैसँग सहकार्यको अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्