कञ्चनपुर, ५ फागुनः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी कञ्चनपुरका नौवटै स्थानीय तहमा सोमबारदेखि मतदाता शिक्षाका लागि स्वयंसेवकलाई घरदैलोमा परिचालन गरिएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका ९२ वटै वडामा स्वयंसेवक खटिएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका सूचना अधिकारी भानबहादुर महराका अनुसार मतदाता शिक्षाका लागि बालविकास केन्द्रका सहजकर्तालाई जिम्मेवारी दिइएको छ । विगतका निर्वाचनमा मतदाता शिक्षामा संलग्न र अनुभवी सहजकर्तालाई नै प्राथमिकता दिएर छनोट गरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
निर्वाचन कार्यालयले नौवटै स्थानीय तहमा एक÷एक जना समन्वयकर्ताको व्यवस्था गरेको छ । उहाँहरूमार्फत वडामा स्वयंसेवक परिचालन गर्ने व्यवस्था गरिएको छ । निर्वाचनमा बदर मतको सङ्ख्या घटाएर सदर मतको अनुपात बढाउने उद्देश्यले ‘शून्य बदर मत’ को लक्ष्य राखी यो अभियान सञ्चालन गरिएको सूचना अधिकारी महराले बताउनुभयो ।
घरदैलोमा पुग्ने स्वयंसेवकले नमुना मतपत्रको प्रयोग गरी मत सङ्केत गर्ने सही तरिका, मतपत्र पट्याउने विधि र गोप्य मतदानको महत्वबारे मतदातालाई प्रयोगात्मक जानकारी दिनेछन् । विशेषगरी पहिलो पटक मतदान गर्न लागेका नयाँ युवा मतदातालाई यो अभियानले मतदान प्रक्रिया बुझ्न थप सहयोग पुग्ने विश्वास गरिएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा तीन लाख १४ हजार ३८५ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस्