काठमाडौँमा वायु प्रदूषण निरन्तर बढ्दा जनस्वास्थ्यप्रति चिन्ता

 

काठमाडौँ, २९ माघ । विश्वस्तरमा तुलना गर्दा काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये आठौँ स्थानमा सूचीकृत भएको छ । सूचीको शीर्ष स्थानमा भारतको नयाँदिल्ली रहेको छ, जहाँ वायु प्रदूषण २४७ एक्युआई मापन गरिएको छ । यसले दक्षिण एसियाली क्षेत्र नै वायु प्रदूषणको उच्च जोखिममा रहेको संकेत गर्छ ।

काठमाडौँ उपत्यकाको वायु प्रदूषण निरन्तर अस्वस्थ तहमा रहँदा जनस्वास्थ्यप्रति चिन्ता बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) का अनुसार आज मध्याह्नसम्म उपत्यकाको वायु गुणस्तर १९२ एक्युआई मापन गरिएको छ, जुन सबैका लागि अस्वस्थ मानिने दायरामा पर्छ ।

यसअघि आइतबार १७५ एक्युआई रहेको प्रदूषण मङ्गलबार बढेर १९२ पुगेको थियो । वातावरण विभागका अनुसार आज पनि प्रदूषणको स्तर उल्लेखनीय रूपमा घटेको छैन ।

विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार लामो समयदेखि वर्षा नहुनु र हावा नचल्नु मुख्य कारण हुन् । “काठमाडौँ उपत्यका कचौरा आकारको भएकाले यहाँ संचित प्रदूषक तत्व बाहिर जान सहज हुँदैन,” उहाँले भन्नुभयो, “हावा स्थिर रहँदा र वर्षा नहुँदा धुवाँधुलो वायुमण्डलमै थुप्रिँदै जान्छ ।”

उहाँका अनुसार औद्योगिक गतिविधि, विकास निर्माणका काम, सवारीसाधनबाट निस्कने धुवाँ तथा सीमापारबाट भित्रिने प्रदूषणले पनि हावाको गुणस्तर थप बिगारेको छ । वर्षा नभएसम्म प्रदूषणको मात्रा अझै बढ्न सक्ने सम्भावना उहाँले व्यक्त गर्नुभयो ।

स्वास्थ्य प्रभावका दृष्टिले १९२ एक्युआई गम्भीर संकेत हो । विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार शून्यदेखि ५० एक्युआईसम्मको स्तरलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्म सावधानी अपनाउनुपर्ने हुन्छ ।

१०१ देखि १५० अस्वस्थ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटुरोगीलाई असर गर्छ । १५१ देखि २०० एक्युआई सबैका लागि अस्वस्थ दायरा हो, जसले बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला र दीर्घरोगीलाई थप जोखिममा पार्छ । २०१ देखि ३०० धेरै अस्वस्थ तथा ३०० भन्दा माथि अत्यन्त खतरनाक मानिन्छ ।

नेपाल सरकारले ‘काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६’ मार्फत एक्युआई ३०० नाघेमा विपद् घोषणा गर्न सक्ने व्यवस्था गरेको छ । यस्तो अवस्थामा फोहर जलाउने कार्य रोक्ने, सडक सफाइमा ब्रुमर तथा भ्याकुम प्रविधिको प्रयोग बढाउने, विद्यालय सञ्चालनबारे समीक्षा गर्ने र संवेदनशील समूहलाई घरभित्र बस्न सार्वजनिक सूचना जारी गर्ने व्यवस्था उल्लेख गरिएको छ । यद्यपि हालको १९२ एक्युआईले पनि सार्वजनिक स्वास्थ्यका लागि गम्भीर सतर्कता आवश्यक रहेको विज्ञहरूको धारणा छ ।

राष्ट्रिय वातावरण नीति, २०७६ ले वायु, जल, माटो, ध्वनि तथा अन्य प्रदूषण न्यूनीकरणका लागि राष्ट्रिय मापदण्ड तयार गरी कडाइका साथ कार्यान्वयन गर्ने रणनीति अघि सारेको छ । प्रमुख सहर र औद्योगिक क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना गरी नियमित अनुगमन गर्ने व्यवस्था पनि गरिएको छ । तर नीति र कार्यान्वयनबीचको दूरीबारे विगतदेखि नै प्रश्न उठ्दै आएको छ ।

विशेषज्ञहरूका अनुसार दीर्घकालीन समाधानका लागि सवारी व्यवस्थापन सुधार, सार्वजनिक यातायात प्रवद्र्धन, निर्माणस्थलमा धुलो नियन्त्रण, हरित क्षेत्र विस्तार तथा औद्योगिक उत्सर्जन नियमन कडाइका साथ लागू गर्नुपर्ने हुन्छ । सीमापार प्रदूषण नियन्त्रणका लागि क्षेत्रीय सहकार्य पनि आवश्यक देखिन्छ ।

अहिलेको अवस्थाले सामान्य नागरिकलाई सावधानी अपनाउन आग्रह गर्छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कने, मास्क प्रयोग गर्ने, धुलो–धुवाँबाट जोगिने र घरभित्र हावाको गुणस्तर सुधार्ने उपाय अपनाउन विज्ञहरूको सुझाव छ ।

विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीले सतर्कता बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

काठमाडौँको वायु गुणस्तर बारम्बार अस्वस्थ तहमा पुग्नु केवल मौसमी समस्या मात्र होइन, संरचनागत चुनौती पनि हो । वर्षा र हावाजस्ता प्राकृतिक कारकले अस्थायी राहत दिन सक्छन्, तर दिगो समाधानका लागि नीतिगत दृढता र व्यवहारिक कार्यान्वयन अपरिहार्य छ । हालको १९२ एक्युआईले यही सन्देश पुनः स्मरण गराएको छ । स्वच्छ हावा सुनिश्चित गर्नु राज्य र समाज दुवैको साझा जिम्मेवारी हो ।

यसैगरी, विश्वका शीर्ष १० सर्वाधिक वायु प्रदूषित देशहरूमा
बंगलादेश, म्यानमार, बोस्निया–हर्जेगोभिना,पाकिस्तान, पोल्याण्ड,
मंगोलिया र अफगानिस्तान रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्