भारत साफ यु–१९ महिला फुटबलको च्याम्पियन, बंगलादेश ४–० ले पराजित

काठमाडौं,२५ माघ । भारतले साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपको उपाधि जित्दै दक्षिण एशियाली महिला फुटबलमा आफ्नो वर्चस्व पुनः प्रमाणित गरेको छ । पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा भारतले साविक च्याम्पियन बंगलादेशलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै तेस्रो पटक यु–१९ च्याम्पियन बन्न सफल भयो ।

यससँगै भारतले सन् २०२२ र २०२४ पछि पुनः उपाधि आफ्नो नाममा लेखाएको हो । लगातार बलियो प्रदर्शन गर्दै आएको बंगलादेश भने उपाधि रक्षा गर्न असफल रह्यो । पाँच पटकको च्याम्पियन बंगलादेशले समूह चरणमा देखाएको प्रभावशाली प्रदर्शनलाई फाइनलमा दोहोर्याउन सकेन ।

फाइनल खेलको सुरुआतदेखि नै भारतले आक्रामक शैली अपनाएको थियो । बल पोजेसनमा अग्रता लिँदै बंगलादेशको रक्षात्मक कमजोरीलाई लक्षित गर्दै भारतले खेलको लय आफ्नो पक्षमा बनायो । खेलको ४२औँ मिनेटमा जुलान नोङमाइथेमले उत्कृष्ट फिनिसिङ गर्दै भारतलाई अग्रता दिलाइन् । पहिलो हाफ १–० को अग्रतासहित भारतको पक्षमा समाप्त भयो ।

दोस्रो हाफमा भारत अझ सशक्त रूपमा प्रस्तुत भयो । ६३औँ मिनेटमा एलिजावेथ लार्काले गोल गर्दै अग्रता दोब्बर पारिन् । त्यसको पाँच मिनेटपछि नै पर्ल फर्नान्डेजले आकर्षक गोल गर्दै स्कोर ३–० पु¥याइन् । खेलको अन्तिमतिर, ८३औँ मिनेटमा अंविता रघुरमनले चौथो गोल थपेपछि भारतको जित सुनिश्चित भयो । त्यसपछि बंगलादेश खेलमा फर्किन असफल रह्यो र खेल पूर्ण रूपमा भारतको नियन्त्रणमा रह्यो ।

यस प्रतियोगितामा बंगलादेश फाइनलसम्म अपराजित रहँदै पुगेको थियो । समूह चरणमा बंगलादेशले भारतलाई २–०, नेपाललाई ४–० र भुटानलाई १२–० ले पराजित गर्दै शीर्ष स्थानमा रहँदै फाइनल खेलेको थियो । भारत भने समूह चरणमा दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । तर फाइनलमा भारतले अनुभव र रणनीतिक परिपक्वता प्रदर्शन गर्दै बंगलादेशलाई सहजै हरायो ।

बंगलादेश यसअघि सन् २०१८, २०२१, २०२३, २०२४ र २०२५ मा च्याम्पियन बनेको थियो । विशेषगरी २०२४ मा बंगलादेशमा सम्पन्न फाइनल खेल विवादमा परेपछि साफले दुबै टोलीलाई संयुक्त विजेता घोषणा गरेको थियो । त्यस घटनापछि यसपटकको फाइनललाई लिएर दुवै टोलीबीच प्रतिस्पर्धा झन् रोचक मानिएको थियो । तर मैदानमा भारतले कुनै विवादको मौका नदिँदै स्पष्ट जित निकालेको हो ।

चार टोलीको सहभागिता रहेको यस च्याम्पियनसिपमा घरेलु टोली नेपाल तेस्रो स्थानमा रह्यो भने भुटान चौथो भयो । नेपालले केही खेलमा संघर्षपूर्ण प्रदर्शन गरे पनि फाइनल पुग्न भने सकेन । प्रतियोगिता अवधिभर नेपाली टोलीले युवा खेलाडीलाई अवसर दिँदै भविष्यका लागि सकारात्मक संकेत देखाएको खेलप्रेमीहरूको मूल्याङ्कन छ ।

साफ यु–१९ महिला च्याम्पियनसिपले दक्षिण एशियाली महिला फुटबलको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । भारतको यो जितले युवा तहमा पनि उसको फुटबल संरचना बलियो बन्दै गएको संकेत गरेको छ । बंगलादेशका लागि भने यो हार आगामी दिनमा टोली पुनः निर्माण र रणनीति सुधारतर्फ केन्द्रित हुने अवसरका रूपमा लिइएको छ ।

पोखरा रंगशालामा दर्शकको उत्साहपूर्ण उपस्थिति र व्यवस्थित आयोजनासँगै प्रतियोगिता सफल रूपमा सम्पन्न भएको आयोजक साफले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्