काठमाडौँ, २० माघ । चलचित्र विकास बोर्डले हाल सिनेमा हलमा प्रदर्शनरत नेपाली चलचित्रहरूको व्यावसायिक विवरण सार्वजनिक गरेसँगै नेपाली चलचित्र बजारको वर्तमान अवस्था स्पष्ट रूपमा देखिएको छ ।
बोर्डअन्तर्गतको ‘सिनेपा–२ बक्सअफिस’ प्रणालीमार्फत सार्वजनिक गरिएको तथ्याङ्कअनुसार पछिल्ला हप्तामा रिलिज भएका अधिकांश चलचित्रले अपेक्षित व्यापार गर्न सकेका छैनन् ।
बोर्डले शनिबारसम्मको कारोबार विवरण सार्वजनिक गरेको हो, जसमा पुस र माघ महिनामा प्रदर्शनमा आएका चलचित्रहरूको आम्दानी र टिकट बिक्रीको अवस्था समेटिएको छ । तथ्याङ्कले दर्शक उपस्थिति कमजोर रहँदा नेपाली चलचित्र उद्योग अझै चुनौतीपूर्ण अवस्थामा रहेको संकेत गर्छ ।
गत पुस ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा उल्लेख्य उछाल ल्याउन सकेन । हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा बनेको यस चलचित्रले शनिबारसम्म कुल एक करोड २८ लाख ५२ हजार ३१९ रुपैयाँ आम्दानी गरेको बोर्डको विवरणमा उल्लेख छ । चलचित्रका लागि ४० हजार ६२४ टिकट बिक्री भएका छन् ।
भ्रष्टाचार र बेथितिविरुद्धको सन्देश प्रस्तुत गर्ने प्रयास गरिएको यस चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरीलगायत कलाकारको अभिनय रहेको छ । विषयवस्तु गम्भीर भए पनि त्यसले दर्शकलाई हलसम्म तान्न पर्याप्त भूमिका खेल्न नसकेको देखिन्छ ।
माघ १ गतेदेखि माघेसङ्क्रान्तिलाई लक्षित गर्दै प्रदर्शनमा आएका तीन चलचित्रले पनि उत्साहजनक व्यापार गर्न सकेका छैनन् । टेलिशृङ्खलामा ‘बल्छी धुर्वे’ का रूपमा चर्चित मरिचमान श्रेष्ठद्वारा निर्देशित चलचित्र ‘गोबर गणेश’ ले एक करोड ३६ लाख २० हजार ८६६ रुपैयाँ आम्दानी गरेको छ । यस चलचित्रका ४८ हजार ५३ टिकट बिक्री भएका छन् ।
वर्षा शिवाकोटी, बुद्धि तामाङ, स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय रहेको यस चलचित्रले हास्यप्रधान शैली प्रस्तुत गरे पनि बक्सअफिसमा ठूलो प्रभाव पार्न सकेन ।
यस्तै, माघ १ देखि प्रदर्शन सुरु भएको चलचित्र ‘मिरमिरे’ ले ३३ लाख ९३ हजार ७२५ रुपैयाँ मात्र कमाएको छ । बुबा–छोरीको भावनात्मक सम्बन्ध र त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु लगायत कलाकारको अभिनय छ । यम शेर्पाको निर्देशनमा बनेको यस चलचित्रका १० हजार ८८४ टिकट बिक्री भएका छन् ।
सामाजिक सञ्जालको प्रभाव र ‘भाइरल’ संस्कृतिलाई केन्द्रमा राखेर तयार गरिएको चलचित्र ‘भाइरल गोर्खे’ ले पनि सीमित व्यापार गरेको छ । माघ १ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले ३६ लाख १० हजार ९२५ रुपैयाँ कारोबार गरेको बोर्डले जनाएको छ । अभिनेता सौगात मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको यस चलचित्रका ११ हजार २९८ टिकट बिक्री भएका छन् ।
माघ ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘परिवर्तन’ ले ३१ लाख नौ हजार ९२५ रुपैयाँ आम्दानी गरेको छ । सामाजिक परिवर्तनको विषयलाई मनोरञ्जनसँग जोडेर प्रस्तुत गरिएको यस चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धरलगायत कलाकारको अभिनय छ । यस चलचित्रका ११ हजार छ टिकट बिक्री भएका छन् ।
चलचित्र विकास बोर्डले पछिल्ला केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रको व्यापारिक विवरण हरेक सोमबार सार्वजनिक गर्दै आएको छ । बोर्डको यो अभ्यासले नेपाली चलचित्र उद्योगको वास्तविक अवस्था पारदर्शी रूपमा देखाउन सहयोग पुगेको सरोकारवालाहरूको भनाइ छ ।
हाल सार्वजनिक तथ्याङ्कले दर्शक आकर्षण, प्रचार रणनीति र सामग्री चयनजस्ता पक्षमा नेपाली चलचित्र उद्योगले थप आत्ममूल्याङ्कन गर्नुपर्ने अवस्था देखाएको छ । बक्सअफिसका यी अंकहरूले आगामी दिनमा निर्माताहरूलाई बजारको यथार्थ बुझेर योजनाबद्ध रूपमा अघि बढ्न दबाब सिर्जना गरेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्