बनियानी, १८ माघ । पूर्वी नेपालको प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ गतेदेखि सुरु हुने भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आयोजना हुने प्रतियोगिता आगामी फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । यस संस्करणमा पुरस्कार राशि उल्लेखनीय रूपमा वृद्धि गर्दै विजेतालाई १५ लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ, जसले प्रतियोगिताको आकर्षण र प्रतिस्पर्धात्मक स्तर दुवैलाई थप उचाइमा पु¥याएको छ ।
यस संस्करणको मुख्य प्रायोजन ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स’ले गर्ने भएको छ । झापा गोल्डकपका पूर्वअध्यक्ष स्व. विनोद बस्नेतको स्मृतिमा समर्पित प्रतियोगिताका लागि एग्रो थाई फुड्स प्रालिको उत्पादन एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स र झापा गोल्डकपबीच शुक्रबार औपचारिक सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा झापा गोल्डकपका अध्यक्ष केदार गिरी र एग्रो थाई फुड्सका कन्ट्री म्यानेजर पवन श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । आयोजकका अनुसार निजी क्षेत्रको निरन्तर सहभागिताले प्रतियोगितालाई दीर्घकालीन रूपमा संस्थागत गर्न मद्दत पुगेको छ ।
यसपालि प्रथम पुरस्कार १५ लाख र उपविजेताले सात लाख ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । आयोजकका अनुसार पुरस्कार संरचनामा गरिएको वृद्धि खेलाडी, क्लब र दर्शक सबैका लागि उत्साहजनक सन्देश हो ।
विधागत पुरस्कारतर्फ ‘मस्ट भ्यालुएबल प्लेयर’लाई एक थान मोटरसाइकल प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई २५ हजार रुपैयाँ नगद प्रदान गरिने व्यवस्था गरिएको छ, जसले खेलाडीको व्यक्तिगत प्रदर्शनलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा नेपाल, भारत, भुटान र मलेसियाका गरी १० प्रतिष्ठित टोलीको सहभागिता रहनेछ । नेपालबाट आयोजक झापा ११ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी एफसी, एपीएफ एफसी, नेपाल पुलिस एफसी, मछिन्द्र एफसी र लालीगुराँस एसोसिएसन नेपाल (पोखरा) मैदान उत्रनेछन् ।
अन्तर्राष्ट्रिय सहभागितातर्फ भुटानको रोयल थिम्पु कलेज, भारतको सिंग्लिङ स्पोर्टिङ क्लब र मलेसियाको एन पेनाङ एफसी सहभागी हुने आयोजकले जनाएको छ । यसले झापा गोल्डकपलाई केवल राष्ट्रिय मात्र नभई क्षेत्रीय स्तरको प्रतिस्पर्धात्मक मञ्चका रूपमा स्थापित गर्न मद्दत पु¥याएको देखिन्छ ।
आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । करिब ५० हजार दर्शकले प्रत्यक्ष रूपमा खेल अवलोकन गर्ने अपेक्षा गरिएको छ, जसले स्थानीय पर्यटन, व्यापार र सेवाक्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । विगतका संस्करणहरूले देखाएको दर्शक आकर्षण र सहभागिताका आधारमा यस वर्ष पनि रङ्गशाला भरिने आयोजकको अपेक्षा छ ।
सामाजिक उत्तरदायित्वलाई समेत ध्यानमा राख्दै प्रतियोगिताअन्तर्गत झापा जिल्लाका एक जना पुराना फुटबल खेलाडी र रङ्गशालाका जग्गादाता स्व. डोमालाल राजवंशीको परिवारलाई जनही २५ हजार रुपैयाँसहित सम्मान तथा सहयोग प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । विधागत पुरस्कारको सौजन्य अमेरिका निवासी रोशनलाल श्रेष्ठको टोलीले गर्ने जानकारी पनि आयोजकले दिएको छ ।
सातौँ संस्करणसम्म आइपुग्दा झापा गोल्डकप पूर्वी नेपालको फुटबल संस्कृतिको महत्वपूर्ण प्रतीकका रूपमा स्थापित हुँदै गएको छ । बढ्दो पुरस्कार राशि, अन्तर्राष्ट्रिय सहभागिता र व्यवस्थित आयोजनाले झापा गोल्डकपलाई राष्ट्रिय फुटबल क्यालेन्डरको एउटा महत्वपूर्ण प्रतियोगिताका रूपमा मजबुत बनाउँदै लगेको छ ।
प्रतिक्रिया दिनुहोस्