काठमाडौँ, १३ माघ । नेपाली चलचित्रमा प्रेम सम्बन्धको सुरुआत र विछोड त धेरै पटक देखाइयो, तर प्रेम टुटेपछि पात्रले भोग्ने मानसिक, सामाजिक र भावनात्मक यात्रालाई केन्द्रमा राखेर कथा भन्न कमै प्रयास भएका छन् ।
यही खाली ठाउँलाई सम्बोधन गर्ने उद्देश्यसहित निर्माण गरिएको चलचित्र हो । ‘रमिताको पिरती’। यसको ट्रेलर सार्वजनिक भएपछि मंगलबार नेपाल चलचित्र क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमार्फत चलचित्रको कथावस्तु र निर्माण दृष्टिकोण सार्वजनिक गरिएको छ ।
निर्देशक सुदिप्ताका अनुसार ‘रमिताको पिरती’ प्रेममा आएको ‘ब्रेकअप’पछि एउटी युवतीले आफूलाई कसरी पुनः परिभाषित गर्छिन् भन्ने कथामा आधारित छ । चलचित्रको कथा रमिता नामक पात्र वरिपरि घुम्छ, जसले प्रेम विछोडपछि केवल पीडामा सीमित नहुने, बरु जीवन र प्रेमलाई नयाँ ढङ्गले बुझ्ने प्रयास गर्छे । निर्देशक सुदिप्ताले नेपालमा यस खालको विषयमा केन्द्रित चलचित्र कम बनेको उल्लेख गर्दै यो कथा अहिलेको युवा पुस्तासँग भावनात्मक रूपमा जोडिन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
“यो चलचित्र प्रेम टुटेपछि युवतीले के गर्छिन् भन्ने प्रश्नको वरिपरि घुम्छ,” निर्देशक सुदिप्ताले भन्नुभयो, “साँचो प्रेम खोज्दा आउने परिस्थितिहरू, द्वन्द्व र आत्मसंघर्ष नै यसको मूल कथा हो । आजको पुस्ताले आफूलाई यसमा कतै न कतै भेट्नेछ भन्ने लाग्छ ।” उहाँका अनुसार चलचित्र केवल प्रेम कहानी मात्र होइन, आत्मखोज र भावनात्मक परिपक्वताको यात्रासमेत हो ।
चलचित्रमा मुख्य पात्र ‘रमिता’को भूमिका अभिनेत्री आना शर्माले निर्वाह गर्नुभएको छ । यस चलचित्रमा उहाँ अभिनेत्री मात्र होइन, कार्यकारी निर्मात्रीको भूमिकामा पनि हुनुहुन्छ । आना शर्माले यो आफ्नो महिला–केन्द्रित पहिलो चलचित्र भएको उल्लेख गर्दै कथासँग गहिरो अपनत्व महसुस भएकै कारण निर्माण पक्षमा जोडिएको बताउनुभयो । उहाँका अनुसार नयाँ विषय र नयाँ सोच भएका चलचित्रलाई अघि बढाउन उर्जावान र प्रतिबद्ध समूहबीचको सहकार्य आवश्यक हुन्छ ।
“नयाँ कथालाई स्थान नदिइकन नेपाली चलचित्रको दायरा फराकिलो हुन सक्दैन,” शर्माले भन्नुभयो, “यो चलचित्र नियमित ढाँचाभन्दा फरक छ भन्ने कुरा यसको प्रचार सामग्रीले नै संकेत गर्छ ।” उहाँले ‘रमिताको पिरती’ले महिला पात्रलाई सहानुभूतिको विषय मात्र होइन, निर्णय लिने र आफूलाई अगाडि बढाउने पात्रका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको पनि उल्लेख गर्नुभयो ।
चलचित्रमार्फत गायक समीर श्रेष्ठ अभिनेताको रूपमा प्रस्तुत हुनुभएको छ । आफ्ना गीतका म्युजिक भिडिओमा देखिँदै आएका श्रेष्ठका लागि यो पहिलो चलचित्र अभिनय हो । उहाँले सही समय, राम्रो टोली र सशक्त पटकथा पाएपछि अभिनय यात्राको सुरुआत गरेको बताउनुभयो ।
“अभिनय गर्ने सोच त थियो, तर उपयुक्त अवसर पर्खिरहेको थिएँ,” उहाँले भन्नुभयो, “यो परियोजनामा सबै कुरा मिलेकाले अभिनयतर्फ पाइला चालेको हुँ।” उहाँले भविष्यमा गायन र अभिनय दुवैलाई सँगसँगै अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।
चलचित्रमा धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, थिन्ले लामालगायत कलाकारको पनि अभिनय रहेको छ । पटकथा निर्देशक सुदिप्ताले नै तयार पार्नुभएको हो भने छायाङ्कन शिशिर विशङ्खेको, सम्पादन सुनिल सिवाकोटीको र नृत्य निर्देशन कृतिका बरालको रहेको छ ।
निर्माण पक्षका अनुसार ‘रमिताको पिरती’ आगामी माघ २३ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ । प्रेम, विछोड र आत्मअन्वेषणको कथालाई फरक दृष्टिकोणबाट प्रस्तुत गर्ने दाबी गरिएको यस चलचित्रले नेपाली सिनेमा दर्शकलाई भावनात्मक रूपमा नयाँ अनुभव दिने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्