गायक तथा संगीतकार प्राज्ञ शान्तिराम राईको एकल सांगीतिक कार्यक्रम

काठमाडौँ, १३ माघ । प्रतिष्ठित संगीतकार, गायक प्राज्ञ शान्तिराम राईको एकल सांगीतिक कार्यक्रम राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिसक्लवको सगरमाथा हलमा हालै भव्यरुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा आयोजकको तर्फबाट गायक रुपकुमार राईले उपस्थित सबैलाई र सहयोगीहरुलाई स्वागत र धन्यवाद मन्तव्य राखेका थिए भने संगीतकार महेश खड्काले रुद्राक्षको माला जडित श्रीपेजको ताज र पुष्पगुच्छा सहित प्रतिष्ठित संगीतकार शान्तिराम राईलाई संगीत सिर्जनाका संगीतमहाराजाको उपाधी दिएर सम्मान अर्पण गरेका थिए ।

आफ्नो पहिलो संगीत ‘तिमी तारे भिर म त लहरा’ सुनाएर कार्यक्रमको सुरुआत गरेका शान्तिराम राईले विभिन्न आठ वटा गीत गाएका थिए जसमा उनलाई अहिलेकी चर्चित गायिका स्मिता प्रधानले साथ दिएका थिए । कार्यक्रम अवधिभर विभिन्न कालखण्डका प्रतिनिधि २१ वटा कालजयी अमर संगीतहरु सुनाइएको थियो ।

प्रशिद्ध गायक गायिकाहरु शम्भु राई, उदय सोताङ, मनिला सोताङ, सत्यकला राई, रोशन राई, कन्काइष्ट राई, रुपकुमार राई, बेनुका राई, अशोक मुकारुङ, हुँदै पछिल्लो पुस्ताकी लोकप्रिय गायिका जुनु प्रसाइँ र मनमा बी राईले शान्तिराम राईका सदाबहार संगीतहरु गाएर कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन मद्धत गरे ।

बिनुशा राई, एलिना राई र एलिना उदाशले सबै गीतहरुमा कोरस गाएका थिए । नेपाल एयर लाइन्सको मुख्य प्रायोजन र प्याब्सन काठमाडौंको सहकार्यमा दर्जनौं देश तथा बिदेशी संघ संस्था, व्यक्ति र स्थानिय सरकारहरु दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेशी तुवाचुङ नगरपालिका सहित डेढ दर्जन गाउँपालिकाहरुको साथ रहेको कार्यक्रमलाई खोटाङ कलाकार समाज काठमाडौंले आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्