काठमाडौं, १२ माघ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमाससम्म आइपुग्दा उल्लेख्य वित्तीय प्रगति गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा बैंकको खुद नाफा २५ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा अवधिमा बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको खुद नाफा ८० करोड ७३ लाख रुपैयाँ मात्र रहेको थियो । खुद ब्याज आम्दानीमा सुधार र गैर–सञ्चालन खर्च नियन्त्रण गर्न सफल भएकाले नाफामा सकारात्मक प्रभाव परेको बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा बैंकको खुद ब्याज आम्दानी ४.१६ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, फि तथा कमिशनबाट प्राप्त आम्दानीमा उल्लेखनीय सुधार देखिएको छ । यस शीर्षकअन्तर्गत बैंकको आम्दानी २२.१२ प्रतिशतले बढेको हो । यससँगै बैंकको कुल सञ्चालन आम्दानी पनि ८.८४ प्रतिशतले उक्लिएको छ ।
बैंकले खर्च व्यवस्थापनमा समेत सुधार गरेको छ । गैर–सञ्चालन खर्चमा आएको कमीले नाफा वृद्धिमा थप टेवा पु¥याएको देखिन्छ । बैंक व्यवस्थापनका अनुसार जोखिम व्यवस्थापन, कर्जा गुणस्तर सुधार तथा आम्दानीका नयाँ स्रोत विस्तार गर्ने रणनीतिका कारण वित्तीय सूचकहरू सुदृढ बन्दै गएका छन् ।
आगामी दिनमा पनि व्यवसाय विस्तार, डिजिटल बैंकिङ सेवा प्रवद्र्धन तथा ग्राहक केन्द्रित सेवामा जोड दिँदै दिगो वित्तीय वृद्धि कायम राख्ने बैंकको लक्ष्य रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्