काठमाडौं, १२ माघ । पोखरामा जारी एनसेल छैटौँ टाइगर कप भलिबल च्याम्पियनसिपको दोस्रो दिन पुरुषतर्फ अप्रत्याशित नतिजाले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ । बलियो दावेदार मानिएको नेपाल पुलिस क्लबलाई पर्वत भलिबल संघले पाँच सेटको संघर्षपूर्ण खेलमा पराजित गर्दै प्रतियोगिताको सुरुआती चरणमै सनसनी मच्चाएको हो ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार सम्पन्न दिनको अन्तिम खेलमा पर्वतले पुलिसमाथि ३–२ सेटको कठिन जित निकाल्यो । तीन जना पाकिस्तानी खेलाडीको समावेशले सन्तुलित बनेको पर्वत टोलीले सुरुआती दुई सेटमै आक्रामक र आत्मविश्वासी प्रदर्शन गर्दै खेलमा अग्रता बनायो । पहिलो सेट २५–२२ र दोस्रो सेट ३१–२९ ले आफ्नो पक्षमा पारेपछि पर्वत जितको नजिक देखिएको थियो ।
तर अनुभवी पुलिस क्लबले तेस्रो र चौथो सेटमा खेलमा पुनरागमन गर्दै क्रमशः २५–२१ र २५–१८ ले सेट जित्दै खेललाई निर्णायक पाँचौँ सेटमा तान्यो । दबाबपूर्ण अवस्थामा पुगेको खेलमा पर्वतले संयम र रणनीतिक परिपक्वता देखाउँदै १५–१३ को रोमाञ्चक जित हात पा¥यो । यो नतिजाले पुरुषतर्फ प्रतिस्पर्धा अझ खुला र रोचक बन्ने संकेत दिएको छ ।
पुरुषतर्फकै अर्को खेलमा गण्डकी प्रदेशले टिम माल्दिभ्समाथि सिधा सेटमा जित निकाल्दै प्रतियोगितामा पहिलो सफलता हासिल ग¥यो । गण्डकीले २५–१३, २५–१४ र २५–२१ को सेट स्कोरमा सहज जित निकाल्यो । पहिलो खेलमा एपिएफसँग पराजित भएको गण्डकीका लागि यो जित आत्मविश्वास फर्काउने खालको रह्यो । टिम माल्दिभ्स भने लगातार दोस्रो हारसँगै दबाबमा परेको छ ।
महिलातर्फ नेपाल पुलिस क्लबले पनि विजयी सुरुआत गरेको छ । दोस्रो दिनको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटमा पराजित ग¥यो । पहिलो सेट १६–२६ ले गुमाएपछि पुलिसले खेलको लय परिवर्तन गर्दै बाँकी तीन सेट २५–१७, २५–२२ र २५–१३ ले जित निकाल्यो । आर्मी यसअघि नै न्यु डायमण्ड युथ स्पोट्र्स क्लबसँग पराजित भइसकेको थियो, जसले टोलीको सुरुआती यात्रा कठिन बनाएको छ ।
महिलातर्फकै अर्को प्रतिस्पर्धामा एपिएफ क्लबले थाइल्याण्ड क्विन्सलाई ३–२ सेटमा हराउँदै प्रतियोगितामा बलियो उपस्थिति जनाएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा एपिएफले २५–२३, २५–२१, २२–२५, २३–२५ र १५–१३ को सेट स्कोरमा जित निकालेको हो, जसले महिला प्रतिस्पर्धा पनि अत्यन्त सन्तुलित र रोमाञ्चक रहने देखाएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगितामा पुरुषतर्फ छ र महिलातर्फ पाँच टोलीको सहभागिता रहेको छ । दुवै विधामा राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् भने तेस्रो र चौथो टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ ।
प्रतियोगिताअन्तर्गत आइतबार चार खेल तय भएका छन्। बिहान साढे ८ बजे महिलातर्फ एपिएफ र न्यु डायमण्डबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि पुलिस र थाइल्याण्ड क्विन्स आमनेसामने हुनेछन्। पुरुषतर्फ एपिएफ र पर्वत तथा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्