‘यो चुनाव केवल जित–हारको होइन, भविष्यको हो’

जनकपुरधाम, ६ माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेसको ऐतिहासिक शहर जनकपुरधामबाट आफ्नो चुनावी सभा गरेको छ । रास्वपाद्वारा आयोजित ‘परिवर्तन उद्घोषसभा’ मा पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले देश विकासका लागि पुराना राजनीतिक अभ्यासभन्दा फरक सोच र काम गर्ने नेतृत्वलाई जिताउन नागरिकसँग आग्रह गर्नुभएको छ ।

सभामा बोल्दै वरिष्ठ नेता साहले मुलुकको राजनीतिक बहस अब केवल सत्ता समीकरणमा सीमित नरहेर विकास, सुशासन र नागरिक अधिकारको प्रभावकारी कार्यान्वयनतर्फ मोडिनुपर्ने धारणा राख्नुभयो । उहाँले प्रतिनिधिसभामा रास्वपाले बलियो उपस्थिति जनाएमा मधेस मात्र होइन, समग्र देशले नयाँ दिशा पाउने दाबी गर्नुभयो ।

“म काम गर्ने मानिस हुँ । मलाई भाषणभन्दा काममा विश्वास छ,” साहले भन्नुभयो, “काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा जे गरेँ, त्यसले मेरो काम गर्ने शैली देखाइसकेको छ । अब प्रतिनिधिसभामा पुगेर मधेस र देशका लागि काम गर्ने मौका दिनुस् ।”

वरिष्ठ नेता साहले मधेस प्रदेशको राजधानी जनकपुरधाम ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण हुँदाहुँदै पनि अपेक्षित विकास हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँका अनुसार विकासको अभावले न केवल स्थानीय नागरिकलाई असर पारेको छ, पर्यटकीय सम्भावनासमेत कमजोर बनेको छ ।

“जनकपुर धार्मिक आस्थाको केन्द्र हो, तर सरसफाइ, पूर्वाधार र व्यवस्थापन कमजोर हुँदा यसको वास्तविक पहिचान ओझेलमा परेको छ,” उहाँले भन्नुभयो, “यदि हाम्रो पार्टीले सरकार बनायो भने प्रदेशका नागरिकले आफ्ना अधिकारका लागि काठमाडौँ धाउनुपर्ने अवस्था अन्त्य गर्नेछौँ।”
साहले संघीयता कागजमा मात्र सीमित नभई व्यवहारमा अनुभूति हुने गरी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । प्रदेशस्तरमै सेवा, अवसर र अधिकार सुनिश्चित हुन सके मात्र संघीय संरचना प्रभावकारी बन्ने उहाँको भनाइ थियो ।

सभामा पार्टी सभापति रवि लामिछानेले पनि सम्बोधन गर्दै रास्वपा स्थापना हुनुको मूल उद्देश्य नै परम्परागत राजनीतिक संस्कारलाई चुनौती दिनु भएको स्पष्ट गर्नुभयो । उहाँले पुराना दलहरूमा देखिएको सत्ता केन्द्रित सोच, अपारदर्शिता र जिम्मेवारीहीनताबाट नागरिक आजित भइसकेको उल्लेख गर्नुभयो ।

“राजनीति सेवा हो, व्यवसाय होइन,” लामिछानेले भन्नुभयो, “नागरिकले तिरेको कर र दिएको मतको जवाफदेही सरकार बनाउने हाम्रो उद्देश्य हो । रास्वपा कुनै व्यक्ति वा समूहको स्वार्थका लागि होइन, प्रणाली सुधारका लागि जन्मिएको पार्टी हो।”

उहाँले प्रतिनिधिसभा निर्वाचनलाई केवल सिट संख्याको प्रतिस्पर्धा नभई राजनीतिक संस्कार बदल्ने अवसरका रूपमा लिन आग्रह गर्नुभयो । लामिछानेका अनुसार संसद्मा इमानदार, काम गर्ने र डर नमान्ने प्रतिनिधि पुगे मात्र भ्रष्टाचार, कुशासन र अनियमितताको अन्त्य सम्भव छ ।

रास्वपाको यो कार्यक्रम मधेस केन्द्रित भए पनि यसको सन्देश राष्ट्रिय स्तरको रहेको देखिन्छ । पार्टी नेतृत्वले मधेसलाई केवल चुनावी गणितको रूपमा होइन, नीति निर्माण र राज्य सञ्चालनको केन्द्रमा राख्नुपर्ने धारणा बारम्बार दोहो¥यायो ।

वरिष्ठ नेता साहले आफू मधेसकै बासिन्दा भएकाले यहाँका समस्या, सम्भावना र संवेदनशीलता नजिकबाट बुझेको बताउँदै विकासका लागि कुनै भौगोलिक वा राजनीतिक विभाजन नगर्ने प्रतिबद्धता जनाउनुभयो ।

“मधेसको विकास भनेको देशकै विकास हो,” उहाँले भन्नुभयो, “यहाँ अवसर सिर्जना भयो भने वैदेशिक रोजगारीको दबाब कम हुन्छ, सामाजिक सन्तुलन बलियो हुन्छ ।”

आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा यो सभा रास्वपाको स्पष्ट चुनावी अभियानको हिस्सा हो। पार्टीले वैकल्पिक राजनीति, सुशासन, संघीयताको प्रभावकारी कार्यान्वयन र नागरिक–केन्द्रित सेवा प्रवाहलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै आएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार बालेन साह र रवि लामिछानेजस्ता लोकप्रिय अनुहारहरूको संयुक्त उपस्थितिले रास्वपाले मधेसमा पनि आफ्नो प्रभाव विस्तार गर्न खोजेको संकेत गर्छ । काठमाडौँ महानगरमा देखिएको ‘काम गर्ने नेतृत्व’ को छविलाई राष्ट्रिय राजनीतिमा रूपान्तरण गर्ने प्रयासका रूपमा यसलाई हेरिएको छ ।

तर, रास्वपाका लागि चुनौती पनि कम छैन। वैकल्पिक राजनीतिको दाबीलाई व्यवहारमा उतार्ने स्पष्ट रोडम्याप, संगठनात्मक सुदृढीकरण र दीर्घकालीन नीति आवश्यक रहेको टिप्पणी भइरहेका छन् । यद्यपि, सभामा देखिएको जनसहभागिता र उत्साहले पार्टीप्रति बढ्दो आकर्षण झल्काएको थियो ।

सभाको अन्त्यतिर नेता साहले नागरिकलाई भावनात्मक नभई विवेकपूर्ण निर्णय गर्न आग्रह गर्दै भन्नुभयो, “यो चुनाव केवल जित–हारको होइन, भविष्यको हो। देशलाई साँच्चै बदल्न चाहनुहुन्छ भने नयाँ सोचलाई मौका दिनुस्।”

जनकपुरधामबाट सुरु भएको रास्वपाको यो चुनावी सन्देश अब अन्य क्षेत्रतर्फ कसरी विस्तार हुन्छ र मतदाताले यसलाई कसरी ग्रहण गर्छन् भन्ने कुरा प्रतिनिधिसभा निर्वाचनको परिणामले नै स्पष्ट गर्नेछ । तर, वैकल्पिक राजनीतिको बहस भने यो सभासँगै अझ सशक्त बनेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्