काठमाडौँ, १ माघ । आगामी आइसिसी टि–२० विश्वकप २०२६ को आयोजनालाई लिएर बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बीच देखिएको मतभेद अझै समाधान हुन सकेको छैन ।
भारतमा आयोजना हुने तय भएको विश्वकपका खेल खेल्न बंगलादेश भारत नजाने निर्णयमा अडिग रहेको बिसिबीले स्पष्ट पारेको छ । आइसिसीले निर्णय पुनर्विचार गर्न आग्रह गरे पनि बंगलादेशले सुरक्षालाई प्रमुख कारण देखाउँदै आफ्नो अडान नफेर्ने संकेत दिएको हो ।
मंगलबार बिसिबी र आइसिसीबीच भिडियो कन्फरेन्समार्फत उच्चस्तरीय छलफल भएको थियो । उक्त छलफलमा बिसिबीले भारतमा खेल्दा आफ्ना खेलाडी र टिम अफिसियलको सुरक्षामा जोखिम रहेको दाबी गर्दै, बंगलादेशका खेलहरू सह–आयोजक राष्ट्र श्रीलंकामा सार्न औपचारिक अनुरोध गरेको बताइएको छ ।
तर आइसिसीले प्रतियोगिताको तालिका सार्वजनिक भइसकेको र तयारी अन्तिम चरणमा पुगेको उल्लेख गर्दै स्थान परिवर्तन कठिन हुने संकेत दिएको बुझिएको छ ।
छलफलमा बिसिबीका अध्यक्ष अमिनुल इस्लाम, उपाध्यक्षसहित वरिष्ठ पदाधिकारीहरू सहभागी थिए । आइसिसी पक्षले प्रतियोगिताको संरचना, प्रसारण सम्झौता र व्यावसायिक पक्षसमेत जोडिएको विषय भएकाले एकतर्फी निर्णयले जटिलता बढाउने तर्क प्रस्तुत गरेको थियो । तर त्यसका बाबजुद बिसिबीले सुरक्षासम्बन्धी चिन्ता प्राथमिक हुने भन्दै आफ्नो निर्णय यथावत् राखेको छ ।
यसअघि पनि बंगलादेशका खेल सल्लाहकार आसिफ नज्रुल ले सार्वजनिक रूपमा विश्वकपका लागि भारत जान आफूहरू तयार नभएको बताएका थिए।
त्यसैको निरन्तरतामा बिसिबीका उपाध्यक्ष शकावत होसैन ले अझ कडा अभिव्यक्ति दिँदै, “हामी आफ्नो निर्णयमा एक इन्च पनि पछाडि हट्दैनौँ, भारत जाने कुरा हुँदैन,” भन्दै बोर्डको आधिकारिक धारणा दोहो¥याएका छन्। उनका अनुसार खेलाडीको सुरक्षा, मानसिक शान्ति र समग्र तयारीमा असर पर्न सक्ने अवस्था रहँदा निर्णय परिवर्तन गर्न सम्भव छैन।
आइसिसीले भने समय कम रहेकाले वार्ता जारी रहने जनाएको छ। प्रतियोगिताको व्यवस्थापन, समूह चरणको तालिका र सम्भावित विकल्पबारे प्राविधिक तथा कूटनीतिक तहमा थप संवाद हुने संकेत गरिएको छ। तर हालसम्म बंगलादेशले आफ्नो अडान नरम पारेको कुनै संकेत देखिएको छैन।
यो विवादको प्रत्यक्ष असर प्रतियोगिताको समूह संरचना मा पनि पर्न सक्ने देखिन्छ। सार्वजनिक विवरणअनुसार नेपाल र बंगलादेश एकै समूहमा परेका छन्। यदि बंगलादेशका खेल भारतबाहिर सारिन्छन् भने समूह चरणका केही खेल फरक स्थानमा हुने, वा तालिकामा पुनर्संरचना गर्नुपर्ने सम्भावना रहन्छ। यसले नेपालसहित अन्य सहभागी टोलीहरूको तयारी र यात्रा योजनामा पनि प्रभाव पार्न सक्छ ।
क्रिकेट कूटनीतिमा यस्तो अवस्था नयाँ भने होइन। अघिल्ला वर्षहरूमा पनि सुरक्षा, राजनीतिक तनाव र कूटनीतिक सम्बन्धका कारण केही देशले तटस्थ स्थानमा खेल्न आग्रह गर्दै आएका उदाहरण छन्। बंगलादेशको पछिल्लो अडानले भने आइसिसीको आयोजनागत अधिकार र सदस्य राष्ट्रको सुरक्षा चिन्ता बीचको सन्तुलन कति जटिल छ भन्ने प्रश्न पुनः उठाएको छ ।
आइसिसीका लागि विश्वकपजस्तो ठूलो प्रतियोगितामा एक प्रमुख टोलीको यस्तो अडान व्यवस्थापन गर्नु चुनौतीपूर्ण विषय बनेको छ । अर्कोतर्फ बिसिबीले आफ्ना खेलाडीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै, व्यावसायिक र तालिकागत दबाबभन्दा माथि मानवीय पक्षलाई जोड दिएको देखिन्छ ।
समय नजिकिँदै जाँदा दुवै पक्षबीच सहमतिको बाटो खोजिने अपेक्षा गरिए पनि, हालको अवस्थाले विश्वकप २०२६ को तयारीमा अनिश्चितता थपेको छ । बंगलादेशको अन्तिम निर्णयले प्रतियोगिताको स्वरूप, समूह चरणको समीकरण र सहभागी राष्ट्रहरूको तयारीमा कस्तो प्रभाव पार्छ भन्ने विषय आगामी दिनमा अझ स्पष्ट हुँदै जानेछ ।
प्रतिक्रिया दिनुहोस्