काठमाडौँ, २८ पुस । यस वर्ष नेपाली चलचित्र उद्योगले अपेक्षाभन्दा फरक र उत्साहजनक संकेत पाएको छ । वर्षको सुरुवातमै प्रदर्शनमा आएको फिल्म ‘ऊनको स्वीटर’ ले घरेलु बजार मात्र होइन, छिमेकी मुलुक भारतमा समेत उल्लेखनीय उपस्थिति जनाउँदै ५१ दिनको प्रदर्शन यात्रा पूरा गरेको छ ।
नेपालमा ११ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दै सुपरहिटको सूचीमा प्रवेश गरिसकेको यो फिल्मले भारतमा पनि निरन्तर प्रदर्शनको उपलब्धि हासिल गर्नु नेपाली फिल्मका लागि महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।
नेपालमा सफल प्रदर्शनपछि ‘ऊनको स्वीटर’ भारतमा गत मंसिर ५ गतेदेखि प्रदर्शन सुरु भएको थियो । सुरुमा सीमित दर्शक र हलमा रिलिज भएको अनुमान गरिए पनि फिल्मले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया पाएपछि भारतका विभिन्न सहरमा प्रदर्शन विस्तार गरिएको थियो ।
भारतभर झण्डै ४० वटा हलमा रिलिज गरिएको फिल्मले तीमध्ये ६ वटा प्रमुख हलमा लगातार ५१ दिन प्रदर्शन पूरा गरेको निर्देशक नवीन चौहानले जानकारी दिएका छन् ।
५१ दिनसम्म लगातार प्रदर्शन हुनु भारतीय बजारमा नेपाली फिल्मका लागि सामान्य घटना होइन । प्रायः नेपाली फिल्महरू भारतमा केही दिन वा सीमित शोमै सीमित रहने अवस्थामा ‘ऊनको स्वीटर’को यो यात्रालाई निर्देशक चौहानले नेपाली फिल्म क्षेत्रकै लागि गर्व गर्न लायक उपलब्धि का रूपमा व्याख्या गरेका छन् ।
निर्देशक चौहानका अनुसार चण्डिगढको पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर र भेगा सर्कल मल, सिक्किमको आईएनओएक्स वेस्ट पोइन्ट मल तथा लखनउको पिभिआर सहरगन्ज मल मा फिल्मले ५१ दिनको प्रदर्शन पूरा गरेको हो । यी हलहरू भारतका व्यावसायिक रूपमा सक्रिय सिनेमा चेनमध्ये पर्छन्, जहाँ निरन्तर शो पाउनु आफैंमा चुनौतीपूर्ण मानिन्छ ।
फिल्मको भारत यात्रा सिक्किमको गान्तोक बाट सुरु भएको थियो । त्यसपछि नाम्ची, दार्जिलिङ, कालिम्पोङ, कस्र्याङ र सिलिगुडी हुँदै पूर्वोत्तर भारतका नेपाली भाषी तथा मिश्रित समुदाय भएका क्षेत्रमा फिल्मले उल्लेखनीय दर्शक तानेको देखिन्छ । ती क्षेत्रका धेरै हलमा फिल्मका प्रारम्भिक शोहरू हाउसफुल भएका थिए, जसले वितरकलाई थप सहरमा प्रदर्शन विस्तार गर्ने हौसला दिएको निर्देशक चौहानको भनाइ छ ।
पूर्वोत्तर भारतमा नेपाली भाषी समुदायको उल्लेखनीय उपस्थिति भए पनि पछिल्ला वर्षहरूमा नेपाली फिल्मप्रति दर्शक आकर्षण घट्दै गएको भनाइ सुनिँदै आएको थियो । यस्तो अवस्थामा ‘ऊनको स्वीटर’ले त्यही क्षेत्रमा पुनः दर्शक तान्न सफल हुनु नेपाली कथावस्तु र प्रस्तुति अझै पनि प्रभावकारी हुन सक्छ भन्ने संकेत भएको विश्लेषकहरू बताउँछन् ।
फिल्मको प्रभाव केवल सीमावर्ती वा नेपाली भाषी क्षेत्रमा मात्र सीमित रहेन । निर्देशक चौहानका अनुसार मुम्बई, बैंगलोर र हैदराबाद जस्ता भारतका ठूला सहरमा पनि फिल्मले दर्शकको राम्रो साथ पायो । यी सहरमा प्रतिस्पर्धा अत्यन्तै कडा हुने भएकाले नेपाली फिल्मलाई हल र शो पाउनु नै चुनौती मानिन्छ । त्यसमा पनि निरन्तर दर्शक उपस्थित हुनु नेपाली फिल्मको बदलिँदो पहुँचको संकेतका रूपमा हेरिएको छ ।
‘ऊनको स्वीटर’ अन्तरजातीय प्रेमकथामा आधारित फिल्म हो । सामाजिक संवेदनशील विषयलाई सरल र भावनात्मक शैलीमा प्रस्तुत गरिएको यस कथाले दर्शकलाई छोएको फिल्मकर्मीहरूको भनाइ छ । कथावस्तुसँगै फिल्मको संगीत पक्ष पनि यसको सफलतामा महत्वपूर्ण कारक बनेको देखिन्छ ।
फिल्ममा समावेश ‘फूल’, ‘चाइनेजो जिन्दगानीमा’, ‘काफ्ले’ र ‘मखमली’ जस्ता गीतहरू नेपालमा रिलिज भएको केही समयमै लोकप्रिय बनेका थिए । यी गीतहरू सामाजिक सञ्जालदेखि सार्वजनिक कार्यक्रमसम्म व्यापक रूपमा बज्न थालेपछि फिल्मप्रति चासो अझ बढेको थियो । यही संगीतको लोकप्रियताले नेपालमा मात्र होइन, भारतमा पनि दर्शक तान्न सहयोग पुगेको निर्देशक चौहानको भनाइ छ ।
फिल्ममा विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बू र सुनिल पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ । अनुभवी र नयाँ पुस्ताका कलाकारको संयोजनले कथालाई सन्तुलित बनाएको प्रतिक्रिया दर्शक तथा समीक्षकबाट आएको छ । विशेषगरी विपिन कार्की र मिरूना मगरको अभिनयलाई दर्शकले सकारात्मक रूपमा लिएका छन् ।
नेपालमा ११ करोडभन्दा बढी व्यापार गर्नु र भारतमा ५१ दिनसम्म प्रदर्शन हुनु ‘ऊनको स्वीटर’को व्यक्तिगत सफलता मात्र होइन । यसले नेपाली फिल्मले सीमापारि पनि बजार विस्तार गर्न सक्छ भन्ने सम्भावनालाई पुनः उजागर गरेको छ । पछिल्ला वर्षहरूमा केही नेपाली फिल्मले विदेशमा प्रदर्शन पाएका भए पनि निरन्तर शो र दीर्घ प्रदर्शन भने दुर्लभ नै थियो ।
फिल्मकर्मीहरूका अनुसार ‘ऊनको स्वीटर’को सफलताले आगामी दिनमा नेपाली फिल्मको वितरण रणनीति, विषय चयन र प्रस्तुति शैली माथि थप बहस र प्रयोगको ढोका खोलिदिएको छ । भारत मात्र होइन, अन्य देशमा रहेका नेपाली समुदाय र गैरनेपाली दर्शकसम्म पुग्ने सम्भावना पनि यसले देखाएको छ ।
‘ऊनको स्वीटर’ले नेपालमा सुपरहिट हुँदै भारतमा समेत ५१ दिनको प्रदर्शन पूरा गर्नु नेपाली चलचित्र उद्योगका लागि आशावादी संकेत हो । सीमित बजेट, सानो बजार र कडा प्रतिस्पर्धाबीच पनि नेपाली फिल्मले गुणस्तरीय सामग्री र प्रभावकारी प्रस्तुति दिएमा दर्शक तान्न सक्छ भन्ने उदाहरणका रूपमा यो फिल्म स्थापित हुँदै गएको छ । अब प्रश्न यति मात्र हो—यो उपलब्धिलाई अपवादमै सीमित राख्ने कि यसलाई आधार बनाएर नेपाली फिल्म उद्योगले दीर्घकालीन रणनीति अघि बढाउने ?
प्रतिक्रिया दिनुहोस्