नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु

काठमाडौँ, २३ पुस । टिप–टप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने उद्घाटन खेलसँगै शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ गतेदेखि औपचारिक रूपमा सुरु हुने भएको छ । प्रतियोगिताका खेलहरू पुस २३ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सञ्चालन हुनेछन् ।

आयोजक संस्थाले आज राजधानीमा एक कार्यक्रम आयोजना गरी प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा साविक च्याम्पियन टोली न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुनेछन् । उद्घाटन खेललाई महिला भलिबलको प्रतिस्पर्धात्मकता र दर्शक आकर्षणका दृष्टिले विशेष महत्त्वका साथ हेरिएको छ ।

प्रतियोगितामा नेपालको शीर्ष चार महिला भलिबल टोलीको सहभागिता रहनेछ । सहभागी टोलीहरूमा साविक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) क्लब, न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र त्रिभुवन आर्मी क्लब रहेका छन् । पहिलो दिन उद्घाटन खेलपछि दोस्रो खेलमा नेपाल पुलिस क्लब र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुने तालिका सार्वजनिक गरिएको छ ।

प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुनेछ, जहाँ प्रत्येक टोलीले एक–आपसमा प्रतिस्पर्धा गर्नेछन् । लिग चरणका खेल समाप्त भएपछि शीर्ष दुई टोलीबीच उपाधिका लागि फाइनल खेल हुनेछ भने तेस्रो र चौथो स्थानमा रहने टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । यस ढाँचाले सबै टोलीलाई पर्याप्त खेलको अवसर प्रदान गर्नुका साथै प्रतियोगितालाई थप रोमाञ्चक बनाउने आयोजकको विश्वास छ ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले २०७२ सालदेखि निरन्तर रूपमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । नेपाली महिला भलिबलको विकास, खेलाडी उत्पादन र प्रतिस्पर्धात्मक स्तर अभिवृद्धिमा यस प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउँदै आएको खेल क्षेत्रका जानकारहरूको भनाइ छ ।

यस वर्ष पनि अघिल्ला संस्करणहरूमा झैं कन्साइन निरोलेक पेन्ट (केएनपी) ले प्रतियोगिताको मुख्य प्रायोजन गरेको छ । साथै प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद परिषद्, मार्वल टेक्नोप्लास्टलगायत विभिन्न कर्पोरेट हाउस तथा स्थानीय तहका नगरपालिकाहरूले सहयोग गरेका छन् ।

पुरस्कार राशिको हिसाबले पनि प्रतियोगिता आकर्षक रहेको छ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो स्थान हासिल गर्ने टोलीले १ लाख २५ हजार रुपैयाँ र चौथो स्थानमा रहने टोलीले ६२ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ पनि उल्लेखनीय पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै विभिन्न विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ द म्याच घोषित खेलाडीलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

नवौं संस्करणको उद्घाटन समारोहका अवसरमा नेपाली खेलकुदमा उल्लेखनीय योगदान पु¥याएका एक जना राष्ट्रिय खेलाडीलाई ५० हजार रुपैयाँसहित ‘शेरबहादुर खड्का स्पेसल अवार्ड’ प्रदान गरी सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका सम्पूर्ण खेलहरू ‘हाम्रो खेलकुद’ युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ, जसले देश–विदेशमा रहेका भलिबल प्रेमी दर्शकलाई खेल हेर्ने अवसर प्रदान गर्नेछ ।

आयोजक प्रतिष्ठानले यस प्रतियोगिताले नेपाली महिला भलिबलको स्तर उकास्नुका साथै नयाँ खेलाडीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्