काठमाडौँ, २२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व र थरुहट÷थारुवान अभियन्ताबीच समायोजन भएको छ । सोमबार आयोजित रास्वपाको राजनीतिक समायोजन घोषणासभामा उहाँहरूबीच नौ बुँदे सहमतिसहित राजनीतिक समायोजन भएको हो ।
सहमतिपत्रमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, नागरिक उन्मुक्ति पार्टीका पूर्ववरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, थरुहट÷थारुवान अभियानका तर्फबाट लक्ष्मण थारु तथा प्रतिनिधिका रूपमा सुरेन्द्र चौधरीले हस्ताक्षर गर्नुभयो ।
सहमतिपत्रमा थारु समुदायको धार्मिक तथा सांस्कृतिक प्रणालीको संरक्षण र प्रवद्र्धनका लागि थारु बहुल क्षेत्रलाई थारु संरक्षित ‘विशेष क्षेत्र’ घोषणा गर्न कानुनी एवं संवैधानिक प्रक्रिया प्रारम्भ गर्ने उल्लेख छ ।
‘टीकापुर घटना’लाई राजनीतिक घटनाका रूपमा स्वीकार गर्दै रास्वपाको नेतृत्वमा सङ्घीय सरकार गठन भएपछि शान्ति सुरक्षासँग सम्बन्धित सबै उच्चस्तरीय आयोगका सिफारिसहरूको उचित कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ ।
निजामती सेवा, न्यायिक क्षेत्र, प्रहरीलगायत सबै सरकारी सेवामा आरक्षित वर्गका लागि तोकिएको अनुपातअनुसार थारु समुदायको आरक्षण पूर्ण रूपमा लागू गर्ने पनि सहमति भएको छ । भूगोल, जनसङ्ख्या, क्षमता र सांस्कृतिक पहिचानका आधारमा प्रादेशिक सुशासनका विविध आयाममा सर्वदलीय राजनीतिक सहमति जुटाउन पहल गर्ने सहमतिमा भनिएको छ ।
रास्वपाको राजनीतिक समायोजन घोषणासभामा सम्बोधन गर्दै सभापति रवि लामिछानेले देशले वर्तमान राजनीतिक, सामाजिक तथा संस्थागत जटिलताबाट बाहिर निस्कन निर्वाचन नै सबैभन्दा वैधानिक, लोकतान्त्रिक र प्रभावकारी माध्यम भएको स्पष्ट पार्नुभएको छ । उहाँले समयमै निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न हुन सके मात्र मुलुक स्थायित्व, समृद्धि र उज्यालो भविष्यतर्फ अघि बढ्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
घोषणासभामा सम्बोधन गर्दै सभापति लामिछानेले लोकतन्त्रको मूल आत्मा निर्वाचन भएको उल्लेख गर्नुभयो । उहाँले मुलुकका विद्यमान समस्याहरू—राजनीतिक अस्थिरता, जनतामा बढ्दो निराशा, शासनप्रणालीप्रतिको अविश्वास यी सबैको समाधान निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त गरेर मात्र सम्भव हुने बताउनुभयो । त्यसका लागि सबै राजनीतिक दल, सरोकारवाला निकाय र नागरिक समाजले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सभापति लामिछानेले निर्वाचन सर्ने वा नहुने भन्ने विषयमा अनावश्यक आशंका र भ्रम सिर्जना नगर्न आग्रह गर्दै त्यस्ता गतिविधिले लोकतान्त्रिक प्रक्रियामाथि प्रत्यक्ष असर पार्ने चेतावनी दिनुभयो । उहाँका अनुसार निर्वाचनप्रति जनताको विश्वास कमजोर पार्ने कुनै पनि प्रयास देश र लोकतन्त्र दुवैका लागि घातक हुने गर्दछ ।
“चुनाव सर्छ कि, हुँदैन कि भन्ने अन्योल सिर्जना गर्ने काम कसैले पनि गर्नु हुँदैन,” उहाँले भन्नुभयो, “निर्वाचन नै मुलुकलाई निकास दिने प्रमुख माध्यम हो । देशले नयाँ आशा र सुनौलो भविष्यको बाटो कोर्न लागेको बेला अवरोध होइन, सहकार्य र जिम्मेवारी आवश्यक छ ।”
सभापति लामिछानेले पछिल्लो समय नयाँ पुस्ताको राजनीतिमा प्रवेशले मुलुकको राजनीतिक परिवेशमा सकारात्मक ऊर्जा थपिएको उल्लेख गर्नुभयो । उहाँले युवा पुस्ता राजनीतिप्रति सचेत, आलोचनात्मक र उत्तरदायी बन्दै गएको बताउँदै यसले लोकतन्त्रलाई अझ सबल बनाउने विश्वास व्यक्त गर्नुभयो ।
विशेष गरी काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको राजनीतिक उदय र जनसमर्थनले युवाहरूमा राजनीतिप्रतिको चासो र सहभागिता उल्लेखनीय रूपमा बढेको उहाँको भनाइ थियो ।
रास्वपाले स्थापित राजनीतिक संस्कृतिमा सुधार, पारदर्शिता र उत्तरदायित्वको नयाँ अभ्यास सुरु गरेको दाबी गर्दै सभापति लामिछानेले पार्टीले पुरानो सोच र व्यवहारलाई तोड्दै नागरिक केन्द्रित राजनीति अघि बढाइरहेको बताउनुभयो । उहाँले राजनीतिलाई सीमित वर्गको स्वार्थको साधन नभई आम जनताको सेवा र परिवर्तनको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो ।
देश इतिहासको संवेदनशील मोडमा उभिएको उल्लेख गर्दै सभापति लामिछानेले यो समयले सही निर्णय र जिम्मेवार नेतृत्व माग गरिरहेको बताउनुभयो । उहाँका अनुसार अहिले गरिने राजनीतिक निर्णयहरूले भावी पुस्ताको भविष्य निर्धारण गर्ने भएकाले सबै पक्षले अल्पकालीन लाभभन्दा दीर्घकालीन राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ ।
सभापति लामिछानेले सामाजिक न्याय, समावेशिता र पहिचानका सवालमा पार्टी स्पष्ट रहेको पनि प्रष्ट पार्नुभयो। उहाँले थरुहट÷थारुवान आन्दोलनप्रति पार्टीको गम्भीर ध्यान रहेको उल्लेख गर्दै उक्त आन्दोलनका ऐतिहासिक पृष्ठभूमि, भावना र मागहरूलाई आत्मसात् गर्दै जिम्मेवार ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार शान्तिपूर्ण संवाद, सम्मान र सहकार्यको माध्यमबाट मात्र यस्ता आन्दोलनहरूको दीर्घकालीन समाधान सम्भव हुन्छ ।
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सबै समुदाय, वर्ग र क्षेत्रको समान अधिकार सुनिश्चित गर्नु नै पार्टीको दीर्घकालीन लक्ष्य रहेको बताउनुभयो । त्यसका लागि निर्वाचनमार्फत जनताबाट प्राप्त स्पष्ट जनादेश अपरिहार्य रहेको उहाँको धारणा थियो ।
कार्यक्रममा सभापति लामिछानेले रास्वपाले आगामी दिनमा सुशासन, आर्थिक सुधार, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा ठोस नीति र कार्यक्रमसहित अघि बढ्ने प्रतिबद्धता दोहोर्याउनुभयो ।
उहाँले जनताको भरोसालाई पार्टीको सबैभन्दा ठूलो पूँजीका रूपमा लिँदै त्यसको संरक्षण र सम्मान गर्नु नै आफ्नो प्रमुख जिम्मेवारी भएको उल्लेख गर्नुभयो । सभापति लामिछानेले सबै राजनीतिक शक्ति, राज्यका अंग र नागरिकहरूलाई लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्दै निर्वाचन प्रक्रियालाई सफल बनाउन आह्वान गर्नुभयो । उहाँले साझा प्रयास, संयम र दूरदर्शिताबाट मात्र मुलुकले स्थायित्व र समृद्धिको यात्रामा उल्लेखनीय प्रगति गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्