फिल्म ‘बब डाइ’ को छायांकन ४२ दिनमा सम्पन्न

काठमाडौं, २० पुस । प्रवीण श्रेष्ठको निर्देशनमा निर्माण भइरहेको नेपाली फिल्म ‘बब डाइ’ को छायांकन ४२ औँ दिनमा सम्पन्न भएको छ । काठमाडौं उपत्यकाभित्रका चन्द्रागिरी र किर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा छायांकन गरिएको यो सिनेमामार्फत निर्देशक श्रेष्ठले करिब १२ वर्षपछि निर्देशनमा पुनरागमन गरेका हुन् ।

निर्माण टिमका अनुसार सिनेमा अहिले पोस्ट–प्रोडक्सन चरणमा प्रवेश गरेको छ भने दुई गीत बाहेक कथानकका सम्पूर्ण दृश्यहरूको छायांकन सकिएको छ । बाँकी रहेका ती दुई गीतको छायांकन केही साताभित्र सम्पन्न गर्ने तयारी गरिएको छ ।

रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति तथा श्रीराम बालाजी फिल्म्सको सहकार्यमा निर्माण भएको ‘बब डाइ’ले किर्तिपुरका एक युवाको कथालाई केन्द्रमा राखेको छ । सिनेमामा अभिनेता सौगात मल्ल शीर्ष भूमिकामा देखिएका छन् ।

नेवारी भाषामा दाइलाई ‘डाइ’ भनिने भएकाले शीर्षक ‘बब डाइ’ राखिएको निर्देशक प्रवीण श्रेष्ठले जानकारी दिएका छन् । कमेडी विधामा निर्माण गरिएको यस सिनेमामा हास्यका साथै सामाजिक सन्देश पनि समेटिएको निर्देशकको भनाइ छ । सिनेमामा सौगात मल्लसँगै अभिनेत्री सिम्रन पन्त मुख्य भूमिकामा देखिएकी छन् ।

साथै, सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तण्डुकार, मनोज महर्जन, कमल देवकोटा, उत्तमराज पाण्डे, रजिन महर्जनलगायत कलाकारहरूको सशक्त अभिनय रहेको छ ।

बालकलाकार अग्रिम पण्डितले पनि सिनेमामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। कलाकारहरूको विविध र अनुभवी टोलीले कथालाई जीवन्त बनाउने अपेक्षा गरिएको छ ।

सिनेमाको कथा लेखन मैनिषा गौचन र प्रबिन श्रेष्ठले गरेका हुन् । एसोसिएट निर्देशकका रूपमा दिनेश बहादुर राउत तथा मुख्य सहायक निर्देशकका रूपमा तर्कराज न्यौपाने रहेका छन् । छायांकन श्याम तामाङको टिमले गरेको हो भने सम्पादन स्वयं निर्देशक प्रवीण श्रेष्ठले गर्नेछन् । सिनेमाका प्रोडक्सन हेड तथा कास्टिङ डिरेक्टर नृपेश रुपाखेती हुन् भने पोस्टर डिजाइन रोयल भिमसेनले तयार पारेका छन् ।

प्राविधिक पक्षमा पनि ‘बब डाइ’लाई सशक्त बनाउने प्रयास गरिएको छ । स्वस्तिका श्रेष्ठले श्रृंगार सम्हालेकी छन् भने किरण थापा र सृष्टि महर्जनको कोरियोग्राफी रहेको छ । द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् भने कला निर्देशन घनश्याम श्रेष्ठको रहेको छ ।

सिनेमाका निर्माता राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर हुन् भने रबिन्द्र प्रजापती कार्यकारी निर्माताको भूमिकामा छन् । ‘बब डाइ’को प्रदर्शन मिति भने हालसम्म सार्वजनिक गरिएको छैन । निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेकोले छिट्टै प्रदर्शन मिति घोषणा हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्