मुलुक निर्वाचनको दिशामा अघि बढेको प्रधानमन्त्रीको दाबी

 

काठमाडौँ, १७ पुस । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमै निर्वाचन सम्पन्न हुने स्पष्ट र दृढ दाबी गर्नुभएको छ । राजनीतिक दलहरू, सरकार, युवा पुस्ता र सरोकारवाला निकायबीच निरन्तर भइरहेको संवाद, सहकार्य र सकारात्मक वातावरणका कारण मुलुक निर्वाचनको दिशामा सुनिश्चित रूपमा अघि बढेको उहाँको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा बुधबार काठमाडौँमा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण आधार निर्वाचन भएको उल्लेख गर्नुभयो । तोकिएको समयमै निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता सरकारको पहिलो प्राथमिकता भएको स्पष्ट पार्दै उहाँले निर्वाचनको वातावरण निर्माणमा योगदान पु¥याउने राजनीतिक दलहरू, निर्वाचन आयोग, युवा समुदाय र अन्य सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो ।

“मूलतः सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने उद्देश्यसहित यो सरकार गठन भएको सबैलाई विदितै छ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “सरकार, राजनीतिक दल तथा युवापुस्ताबीच निरन्तर संवाद र सहयोगका कारण आज हामी तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा पुगेका छौँ । यसका लागि सम्पूर्ण राजनीतिक दल, निर्वाचन आयोग तथा सरोकारवाला निकायप्रति म आभारी छु ।”

प्रधानमन्त्री कार्कीले लोकतन्त्र केवल सत्ता परिवर्तनको प्रक्रिया नभई नागरिकको दैनन्दिन जीवनमा सकारात्मक परिवर्तन ल्याउने माध्यम हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँका अनुसार जनअपेक्षा समयमै सम्बोधन गर्न नसक्दा मुलुक बारम्बार राजनीतिक, सामाजिक र आर्थिक संकटमा फस्दै आएको छ ।

“नेपालको राजनीतिक इतिहास हेर्दा पछिल्ला ७५ वर्षमा आधा दर्जनभन्दा बढी परिवर्तनकारी आन्दोलन भएका छन्,” उहाँले भन्नुभयो, “यस अवधिमा अन्तरिम संविधानसहित पाँच पटक नयाँ संविधान बने । तत्कालीन समयमा ती परिवर्तन उत्कृष्ट मानिए पनि आम नागरिकको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन नसक्दा ती परिवर्तनहरू दीर्घकालीन रूपमा टिक्न सकेनन् ।”

प्रधानमन्त्री कार्कीका अनुसार रोजगारी सिर्जना, पेशा–व्यवसायको विस्तार, न्यायपूर्ण शासन प्रणाली र उत्तरदायी आचरण स्थापित गर्न नसक्नु नागरिक निराशाको मुख्य कारण बनेको छ । “राजनीतिक परिवर्तनले जनताको जीवनमा प्रत्यक्ष अनुभूति हुने सुधार ल्याउन सकेन भने त्यसले निराशा जन्माउँछ,” उहाँले भन्नुभयो, “यही निराशा विभिन्न असन्तोष र संकटको रूपमा देखा परेको छ ।”

सोही कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पनि फागुन २१ गते हुने निर्वाचन सुनिश्चित भइसकेको र अब कुनै अन्योल नरहेको दाबी गर्नुभयो । उहाँका अनुसार शीर्ष नेताहरू निर्वाचनको तयारी र प्रचार–प्रसारमा व्यस्त हुन थालेका छन् ।

मन्त्री खरेलले पछिल्ला २९ वर्षमा देशले भोगेका ठूला राजनीतिक र सामाजिक मुद्दाहरू अदालतसम्म पुगेको उल्लेख गर्दै यसले विधिको शासन र सुशासनको जग बसाल्न योगदान दिएको बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले निजी क्षेत्रले पछिल्ला घटनाक्रमका कारण ठूलो क्षति व्यहोर्नुपरेकोप्रति गहिरो दुःख व्यक्त गर्नुभयो ।

“३८ अर्ब रुपैयाँभन्दा बढीको निजी क्षेत्रको सम्पत्ति नष्ट भएको छ,” मन्त्री खरेलले भन्नुभयो, “कुल ८४ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति क्षति हुँदा मन रोएको अवस्था छ ।” उहाँले प्रधानमन्त्री तथा सरकारले निजी क्षेत्रलाई साथ दिएको उल्लेख गर्दै उद्योग, व्यापार र व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण र सुरक्षाको प्रत्याभूति सबैको साझा प्रतिबद्धता हुनुपर्नेमा जोड दिनुभयो । “निजी क्षेत्रलाई इन्कार गरेर समाजवाद सम्भव हुँदैन,” उहाँले भन्नुभयो, “उद्योग–व्यवसाय फस्टाउने वातावरण बनाउनु आजको आवश्यकता हो ।”

कार्यक्रमका प्रमुख वक्तामध्ये नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि वर्तमान राजनीतिक अन्योलको निकास तोकिएको समयमै निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गर्नु नै भएको स्पष्ट पार्नुभयो । निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त गरी संसद् पुनःस्थापना गर्नु अपरिहार्य बाटो भएको उहाँको भनाइ थियो ।

“शान्ति, स्थायित्व र समृद्धिका लागि निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी नयाँ संसद् स्थापना गर्नुपर्छ,” दाहालले भन्नुभयो, “नयाँ संसद्ले संविधान कार्यान्वयनका क्रममा देखिएका अन्योलता र अस्पष्टताहरू हटाउनेछ ।”

उहाँले पछिल्ला राजनीतिक घटनाक्रम र युवापुस्ताबाट उठेको जेनजी आन्दोलनले पुरानो राजनीतिक सोच र स्थापित शक्तिलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको उल्लेख गर्दै यसलाई राजनीतिक सुधारको अवसरका रूपमा लिनुपर्ने धारणा राख्नुभयो । “हामीले आफ्नै कमजोरी कहाँ रह्यो भनेर गम्भीर आत्मसमीक्षा गर्न आवश्यक छ,” उहाँले भन्नुभयो ।

संयोजक दाहालले निर्वाचनलाई केवल सत्ता प्राप्तिको प्रतिस्पर्धा मात्र नभई राष्ट्रिय सहमति र राजनीतिक एकता निर्माण गर्ने साझा प्रक्रियाका रूपमा बुझ्नुपर्नेमा जोड दिनुभयो । जेनजी आन्दोलनपछि सर्वपक्षीय संवाद र सहमतितर्फ वातावरण क्रमशः बन्दै गएको उहाँको दाबी थियो ।

सोही कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि यही सरकारले निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो । “चुनाव हुँदैन, तयारी पुगेको छैन भन्ने कुरा अब स्वीकार्य छैन,” उहाँले भन्नुभयो, “प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा तोकिएको समयमै चुनाव हुनुपर्छ । यही नेतृत्व सक्षम छ ।”

यसैगरी सोही कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जेनजी आन्दोलनका क्रममा राज्यसत्ताबाट भएको दमन गलत भएको टिप्पणी गर्नुभयो । उहाँले लोकतान्त्रिक व्यवस्थामा विधिको शासन, जनअनुमोदित सरकार र स्वतन्त्र अदालतको सम्मान अनिवार्य हुने उल्लेख गर्दै असन्तुष्टि शान्तिपूर्ण रूपमा व्यक्त गर्ने र सरकारले पनि शान्तिपूर्ण रूपमा सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, उद्योगी, व्यवसायी, युवा प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा मुलुकको राजनीतिक स्थायित्व, आर्थिक पुनरुत्थान र आगामी निर्वाचनका विषयमा गम्भीर र व्यापक छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्