गीतकार राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

काठमाडौँ, १६ पुस ।गीतकार श्रीराम राईको तेस्रो सिर्जना ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ हालै सार्वजनिक भएको छ । ओसियन म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले सार्वजनिक भएलगत्तै श्रोतामाझ राम्रो चर्चा बटुल्न थालेको छ ।

भावनात्मक शब्द, सन्तुलित संगीत र सशक्त स्वरको संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको छ । गीतमा संगीतकार ओमप्रकाश राईले मन छुने संगीत भरेका छन् भने गायिका पेमा शेर्पा राईको सुमधुर स्वरले गीतको भावलाई गहिराइसम्म पु¥याएको छ ।

एकतर्फी प्रेमको पीडा, मौन वेदना र प्रेमप्रतिको आत्मीय शुभेच्छालाई गीतले संवेदनशील ढंगले प्रस्तुत गरेको छ । प्रेममा प्राप्त नहुने सम्बन्धको पीडालाई स्वीकार गर्दै पनि प्रिय व्यक्तिको सुखको कामना गर्ने भाव यस गीतको मूल मर्म हो, जसले श्रोताको मन छोएको देखिन्छ ।

गीतको संगीत संयोजन सन्तोष प्रगाढ राईले गरेका छन् । संयोजनले गीतको भावनात्मक उतारचढावलाई सन्तुलित बनाउँदै शब्द र स्वरबीच सुन्दर समन्वय स्थापित गरेको छ ।

यसैगरी, वीरेन्द्र भाट ‘विपिन’ ले गीतको सम्पादन गरेका छन् भने गोविन्द सोनीको मिक्सिङ तथा मास्टरिङले गीतलाई प्राविधिक रूपमा पनि स्तरीय बनाएको छ ।

समग्रमा, गीत सिर्जनामा संलग्न सम्पूर्ण टिमको सामूहिक मेहनत स्पष्ट रूपमा अनुभूत गर्न सकिन्छ ।
गीतकार श्रीराम राई यसअघि पनि आफ्ना सशक्त सिर्जनामार्फत परिचित नाम बनाइसकेका छन् ।

२०७५ सालमा गायिका शिला खनालको स्वरमा रहेको ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गीतमार्फत उनले गीत लेखनको क्षेत्रमा आफ्नो उपस्थिति जनाएका थिए ।

त्यसपछि २०७९ सालमा मनमा बि राई र २०८१ सालमा नवराज पराजुलीले उनको गीत ‘सञ्चो छौ कि विसञ्चो’ गाएका थिए, जसले पनि श्रोताबाट राम्रो प्रतिक्रिया पाएको थियो । नयाँ गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ले उनको गीतयात्रालाई थप परिपक्व र भावनात्मक उचाइमा पु¥याएको देखिन्छ ।

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा श्रीराम राई विगत दस वर्षसम्म शिक्षण पेशामा आबद्ध रहेपछि काठमाडौं आएर पूर्ण रूपमा साहित्य र पत्रकारितामा सक्रिय छन् ।

साहित्यका विविध विधामा कलम चलाउँदै आएका उनी बालसाहित्य, लघुकथा र गीत लेखनमा विशेष रुचि राख्छन् । उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) शीर्षकका दुई बालकथासंग्रह प्रकाशित भइसकेका छन् ।

लघुकथाको क्षेत्रमा पनि राईको योगदान उल्लेखनीय छ । उनी रावासावा प्राज्ञिक समाज नेपालका सचिव तथा लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन् ।

‘लघुकथा सौन्दर्य’ अभियानमार्फत उनी लघुकथाको उन्नयन र प्रवद्र्धनमा निरन्तर लागिरहेका छन् । उनका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) दुई सामूहिक लघुकथासंग्रह पनि प्रकाशित छन् ।

सम्पादनको क्षेत्रमा समेत सक्रिय रहेका राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ हालै बजारमा आएको छ । यसअघि उनले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ जस्ता कृतिमार्फत पनि सम्पादन अनुभव हासिल गरेका छन् ।

नेपाली भाषा र साहित्यमा पु¥याएको योगदानको कदरस्वरूप श्रीराम राई विभिन्न सम्मानबाट विभूषित भइसकेका छन् । उनले इडन ब्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघ स्वर्ण महोत्सव सम्मान (२०८०) तथा ‘गोधूलि साहित्य सम्मान’ (२०८२) प्राप्त गरेका छन् ।

नयाँ गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ले गीतकार श्रीराम राईको संवेदनशील सिर्जनाशीलता र साहित्यिक यात्रालाई थप सशक्त बनाएको छ । भावनात्मक गीत रुचाउने श्रोताका लागि यो गीत स्मरणीय बन्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्