फिल्म ‘द ब्लू लाइट’को प्रदर्शन मिति फेरि परिवर्तन

 

काठमाडौँ, १३ पुस । अभिनेत्री बेनिशा हमाल कार्यकारी निर्माता रहेको नेपाली फिल्म ‘द ब्लू लाइट’को प्रदर्शन मिति फेरि परिवर्तन गरिएको छ । यसअघि १२ मंसिरबाट प्रदर्शनको तयारी गरिएको फिल्म विभिन्न कारणले स्थगित हुँदै पुस १० गतेका लागि तय गरिएको थियो ।

तर निर्माण पक्षले पुनः प्रदर्शन तालिका हेरफेर गर्दै अब उक्त फिल्म आगामी माघ १६ गतेबाट देशभर प्रदर्शनमा ल्याउने निर्णय गरेको छ । बिहीबार फिल्मको टिजर सार्वजनिक गर्दै निर्माण टिमले नयाँ प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरेको हो ।

नयाँ तय गरिएको मितिमा अर्को नेपाली फिल्म ‘आ बाट आमा’ पनि एकसाथ प्रदर्शनमा आउने भएकाले माघ १६ गतेको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । एउटै दिन फरक–फरक कथावस्तु र शैलीका फिल्महरू प्रदर्शनमा आउँदा दर्शकका लागि छनोटको अवसर बढ्ने विश्वास गरिएको छ ।

निर्माण पक्षले प्रतिस्पर्धालाई सकारात्मक रूपमा लिँदै फिल्मको विषयवस्तु र प्रस्तुतीकरणले दर्शकको ध्यान खिच्ने अपेक्षा व्यक्त गरेको छ ।
सार्वजनिक गरिएको टिजरले फिल्मको कथावस्तुबारे संकेत गर्दै दर्शकलाई मनोवैज्ञानिक तनाव र रहस्यको संसारमा लैजाने प्रयास गरेको देखिन्छ ।

टिजरमा प्रेम, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दाजस्ता विविध पक्षलाई समेटिएको छ । मुख्य पात्रहरूबीच देखिने अविश्वास, त्यसबाट उत्पन्न हुने द्वन्द्व, तनाव र रहस्यलाई थ्रिलर शैलीमा प्रस्तुत गरिएको टिजरले दर्शकमा कौतुहलता जगाउने प्रयास गरेको छ । छोटो दृश्य र प्रभावशाली पृष्ठभूमि सङ्गीतमार्फत फिल्मको मनोवैज्ञानिक थ्रिलर स्वाद प्रस्ट पारिएको छ ।

‘द ब्लू लाइट’ बलिराम चौहानको लेखन तथा निर्देशनमा निर्माण गरिएको हो । निर्देशक चौहानले यसअघि फरक स्वादका फिल्ममार्फत दर्शक र समीक्षकको ध्यान खिचिसकेका छन् ।

यस फिल्ममा पनि उनले कथावस्तु र प्रस्तुतीकरणमा विशेष ध्यान दिएको निर्माण पक्षको भनाइ छ । फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सुरक्षा इटानीलगायत कलाकारको अभिनय रहेको छ । यी कलाकारहरूले फरक–फरक स्वभाव र मनोविज्ञान बोकेका पात्रहरूलाई जीवन्त रूपमा प्रस्तुत गरेको अपेक्षा गरिएको छ ।

बाल कलाकारतर्फ ग्रिस्मा कटुवाल र सहारा शर्माको अभिनय रहेको छ । कथाको संवेदनशील पक्षमा बाल कलाकारको उपस्थिति र भूमिकाले कथालाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ । फिल्मका निर्देशक बलिराम चौहान स्वयं निर्माता पनि हुन् भने सह–निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । निर्माण टिमका अनुसार फिल्मलाई प्राविधिक र कथावस्तु दुवै हिसाबले सशक्त बनाउने प्रयास गरिएको छ ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको यस फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहेको छ । दृश्य संयोजन र प्रकाश प्रयोगमार्फत कथाको रहस्यात्मक पक्षलाई उजागर गर्न छायांकनले महत्वपूर्ण भूमिका खेलेको निर्माण पक्षको दाबी छ ।

लोकेश बज्राचार्यको सम्पादन, मोहक श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र एसडी योगीको संगीतले फिल्मको वातावरणलाई थप सशक्त बनाएको बताइएको छ । साथै रोशन श्रेष्ठको एक्सन निर्देशन र सुनिल क्षेत्रीको नृत्य निर्देशनले फिल्मलाई सन्तुलित बनाएको निर्माण टिमको भनाइ छ ।

फिल्ममा अभिनेत्री बेनिशा हमालसँगै छायाँकार नरेन्द्र मैनाली कार्यकारी निर्माताको भूमिकामा रहेका छन् । निर्माण पक्षले ‘द ब्लू लाइट’ नेपाली सिनेमा क्षेत्रमा मनोवैज्ञानिक थ्रिलर विधामा नयाँ अनुभव दिने विश्वास व्यक्त गर्दै दर्शकले फरक स्वादको कथा र प्रस्तुति पाउने अपेक्षा गरेको छ । माघ १६ गतेबाट प्रदर्शनमा आउने यो फिल्मले दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो अहिले नै बढ्न थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्