काठमाडौँ, ११ पुस । आगामी १७ पुसबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्लो–१’ को ट्रेलर सार्बजनिक भएको छ । नेपाली फिल्म उद्योगमा साइन्स फिक्सन विधा नयाँ मानिन्छ ।
हलिउड र बलिउडमा विज्ञान र प्रविधिमा आधारित थुप्रै चलचित्र निर्माण भइसके पनि नेपाली सन्दर्भमा यो विधा हालसम्म प्रायः प्रयोगमा आएको थिएन । यही सन्दर्भमा नेपाली चलचित्र ‘एक्लो–१’ ले विज्ञान र प्रविधिमा आधारित कथावस्तु प्रस्तुत गर्दै नेपाली फिल्म क्षेत्रमा नयाँ प्रयोगको सुरुआत गरेको छ ।
केही समयअघि सार्वजनिक गरिएको फिल्मको ट्रेलरले दर्शकको ध्यान आकर्षित गर्न सफल भएको छ । ट्रेलर हेर्दा फिल्ममा वैज्ञानिक आविष्कार, अन्तरिक्ष यात्रा, भविष्यका सम्भावनाहरू तथा प्रविधिको प्रभावजस्ता विषयवस्तुलाई केन्द्रमा राखिएको देखिन्छ । यस्ता विषय नेपाली दर्शकका लागि नयाँ र चासोपूर्ण भएकाले ‘एक्लो–१’ लाई विशेष प्रतीक्षामा राखिएको फिल्मका रूपमा हेरिएको छ ।
फिल्मको कथावस्तु मुख्यतः युवापुस्तालाई लक्षित रहेको निर्माण पक्षले जनाएको छ । आधुनिक विज्ञान, प्रविधि र भविष्यप्रति चासो राख्ने ‘जेनजी पुस्ता’लाई केन्द्रमा राखेर फिल्म तयार गरिएको हुँदा प्रचार–प्रसारको रणनीति पनि सोही अनुसार अघि बढाइएको छ । पछिल्ला दिनहरूमा फिल्मको निर्माण टिम काठमाडौँ उपत्यकाका विभिन्न कलेजहरूमा पुगेर विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरिरहेको छ ।
यसै क्रममा केही दिनअघि फिल्मको टिम काठमाडौँको मन्डीकाटारस्थित ‘गेट कलेज’ पुगेको थियो । त्यहाँ टुरिजम र हस्पिटालिटी विषयमा अध्ययनरत विद्यार्थीहरूसँग फिल्मका मुख्य कलाकार प्रदीप खड्का, अभिनेत्री कविता नेपाली तथा निर्देशक प्रदीप शाहीले अन्तक्र्रिया गर्नुभएको थियो ।
उक्त अवसरमा कलाकारहरूले फिल्म निर्माणको अनुभव, साइन्स फिक्सन विधाका चुनौती र नेपाली फिल्म उद्योगमा यस विधाको सम्भावनाबारे आफ्ना धारणा राख्नुभएको थियो ।
यसैगरी मंगलबार ललितपुरस्थित चौधरी ग्रुपअन्तर्गत सञ्चालनमा रहेको ‘च्यापियन कलेज’मा पनि फिल्मको टिमले प्रचारात्मक कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरूसँगको संवादमा कलाकार र निर्देशकले नेपाली फिल्ममा नयाँ विधा भित्र्याउने प्रयासका बारेमा जानकारी दिँदै युवापुस्ताको साथ र समर्थन आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो ।
आगामी १७ पुसबाट देशभर प्रदर्शनमा आउन लागेको ‘एक्लो–१’ मा प्रदीप खड्का र कविता नेपालीसहित अनुभवी तथा चर्चित कलाकारहरूको अभिनय रहेको छ ।
फिल्ममा विजय लामा, सुनील थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डीसी, सुरजसिंह ठकुरी र बेलायती अभिनेता जेमी बेकन लगायतका कलाकारहरूको महत्वपूर्ण भूमिका रहेको छ । कलाकारहरूको विविध र सशक्त उपस्थितिले फिल्मको स्तरलाई थप उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।
फिल्मको निर्माणमा एनआरएन समूहको लगानी रहेको छ भने अभिनेता प्रदीप खड्का स्वयं पनि निर्माता टोलीमा आबद्ध हुनुहुन्छ । निर्माण पक्षका अनुसार ‘एक्लो–१’ ले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सम्भावना बोकेको छ, किनकि यसको विषयवस्तु विश्वव्यापी चासोका विषयहरूसँग जोडिएको छ ।
निर्देशक प्रदीप शाहीले नेपाली दर्शकलाई नयाँ स्वाद दिन साइन्स फिक्सन विधामा फिल्म निर्माण गरिएको बताउँदै यसले भविष्यमा नेपाली फिल्म उद्योगलाई फरक दिशातर्फ लैजान सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँका अनुसार ‘एक्लो–१’ केवल मनोरञ्जनात्मक फिल्म मात्र नभई विज्ञान, प्रविधि र मानव भविष्यबारे सोच्न प्रेरित गर्ने प्रयास पनि हो । नेपाली फिल्ममा नयाँ प्रयोगको प्रतीक बनेको ‘एक्लो–१’ ले दर्शकको कस्तो प्रतिक्रिया पाउनेछ भन्ने चासो अहिले बढ्दो छ । युवापुस्तालाई लक्षित गर्दै अघि बढाइएको यो फिल्मले नेपाली फिल्म उद्योगमा साइन्स फिक्सन विधालाई स्थापित गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्