सुनसरी, ९ पुस । नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी प्रदेश अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिता २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ ।
आयोजकले मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत यही पुस ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सातौँ संस्करण सफलतापूर्वक आयोजना गर्न सबै तयारी पूरा भएको जानकारी दिएको हो ।
नेपाल प्रहरी विद्यालय धरानका अनुसार प्रतियोगिता विद्यालय तहमा फुटबल खेलको प्रवद्र्धन गर्ने, विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउने तथा भविष्यका सम्भावित राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो । “मित्रताको लागि निष्पक्ष खेल” भन्ने मूल नाराका साथ प्रतियोगितालाई पुनः सञ्चालन गर्न लागिएको प्रतियोगिता संयोजक प्रहरी निरीक्षक सुरेशकुमार हायूले जानकारी दिनुभयो ।
डिआइजिपी रनिङ फुटबल प्रतियोगिता २०५८ सालदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको भए पनि छैटौँ संस्करणपछि केही समयका लागि स्थगित भएको थियो ।
लामो अन्तरालपछि यस वर्ष पुनः प्रतियोगिता आयोजना हुन लागेको हो । संयोजक हायूका अनुसार विद्यालयस्तरमै खेलाडीको पहिचान, विकास र प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगितालाई पुनर्जीवित गरिएको हो । उहाँले यसले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व र खेल भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
यस वर्षको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट १६ वटा विद्यालय टोली सहभागी हुनेछन् । सबै खेलहरू नेपाल प्रहरी विद्यालय धरानको फुटबल मैदानमा सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगिता व्यवस्थित, अनुशासित र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको जनाइएको छ ।
प्रतियोगितामा सहभागी हुन पाउने खेलाडीका लागि निश्चित मापदण्ड तय गरिएको छ । आयोजकका अनुसार यु–१७ र यु–१८ उमेर समूहभित्रका, कक्षा १० सम्म अध्ययनरत तथा अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतका कुनै पनि लिगमा सहभागी नभएका विद्यार्थी खेलाडी मात्र प्रतियोगितामा भाग लिन पाउनेछन् । यस व्यवस्थाले विद्यालयस्तरमै रहेका नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको पुरस्कार राशिसमेत आकर्षक राखिएको छ । विजेता टोलीले रु ८१ हजार पाँच नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु ४१ हजार पाँच नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। यसका साथै व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता (हाई स्कोरर), राइजिङ प्लेयर तथा उत्कृष्ट कोचलाई जनही रु दुई हजार पाँच सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ घोषित गरिनेछ, जसले रु एक हजार पाँच नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै प्रतियोगितामा विजेता बन्ने टोलीका खेलाडीलाई कक्षा ११ मा अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्तिसमेत उपलब्ध गराइने व्यवस्था गरिएको संयोजक हायूले जानकारी दिनुभयो । यसले खेलकुदसँगै शैक्षिक प्रोत्साहनलाई पनि जोड दिएको छ ।
आयोजकले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न स्थानीय निकाय, अभिभावक, विद्यालय प्रशासन र खेलप्रेमी सबै पक्षको सहयोग अपेक्षा गरेको छ । विद्यालयस्तरबाटै खेलकुद संस्कृतिको विकास गर्दै अनुशासित र सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजना हुन लागेको यो प्रतियोगिताले कोशी प्रदेशमा विद्यालय फुटबललाई थप सशक्त बनाउने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्