काठमाडौँ, ६ पुस । जेनजी आन्दोलनका माग तथा मुद्दा सरकारले सम्बोधन नगरेको आरोप लगाउँदै जेनजी अगुवा मिराज ढुङ्गानाको नेतृत्वमा रहेको समूहले १० बुँदे एजेण्डासहित शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ। उक्त समूहले आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सोमबारदेखि शान्तिपूर्ण ढङ्गले आन्दोलनमा उत्रिने जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै जेनजी अगुवा ढुङ्गानाले युवाको भावना, चाहना र अपेक्षाअनुसार सरकार सञ्चालन हुन नसकेको आरोप लगाउनुभयो। उहाँले विगतमा विकृति, विसङ्गति, भ्रष्टाचार र कुशासनको अन्त्य गर्दै सुशासनको स्थापना गर्न भन्दै गरिएको आन्दोलनको मर्म र भावनाअनुसार ठोस परिणाम नआएकाले पुनः सडक संघर्षमा जानु आफूहरूको बाध्यता भएको स्पष्ट पार्नुभयो।
ढुङ्गानाका अनुसार जेनजी आन्दोलन कुनै व्यक्ति, दल वा समूहविरुद्ध लक्षित नभई मुलुकमा विद्यमान संरचनागत समस्या, राजनीतिक अस्थिरता, न्यायिक निष्पक्षताको अभाव र युवामैत्री शासन प्रणालीको स्थापनाका लागि केन्द्रित छ। उहाँले आन्दोलन शान्तिपूर्ण, मर्यादित र लोकतान्त्रिक विधिभित्र रहेर अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले सरकारसमक्ष राखिएका प्रमुख मागहरूमा राज्यको पुनःसंरचना, राजनीतिक स्थिरता सुनिश्चित गर्ने व्यवस्था, निष्पक्ष र स्वतन्त्र न्याय प्रणालीको प्रत्याभूति तथा संविधान पुनर्लेखनसहित आवश्यक संवैधानिक सुधारहरू रहेको जानकारी दिनुभयो। साथै, आन्दोलनका क्रममा पक्राउ परेका जेनजी अभियन्ताहरूलाई तत्काल बिना सर्त रिहाइ गर्नुपर्ने मागसमेत उहाँले अघि सार्नुभयो।
ढुङ्गानाले विगतका आन्दोलनका क्रममा युवाको ज्यान जाने गरी भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै त्यसमा संलग्न दोषीमाथि निष्पक्ष छानबिन गरी कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गर्नुभयो। उहाँले राज्य संयन्त्रबाट भएका दमन, बल प्रयोग र मानवअधिकार उल्लङ्घनका घटनाले युवामा गहिरो आक्रोश र निराशा पैदा गरेको उल्लेख गर्नुभयो।
उक्त समूहले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई उचित क्षतिपूर्तिसहित उपचार र राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। साथै, आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति उच्च सम्मान व्यक्त गर्दै सहिद परिवारलाई रोजगारी, शिक्षा, स्वास्थ्य र सुरक्षासहितको स्थायी व्यवस्था गर्नुपर्ने मागसमेत राखिएको छ।
पत्रकार सम्मेलनमा प्रस्तुत १० बुँदे एजेण्डामा मुलुकका सबै तह र निकायमा मौलाएको भ्रष्टाचारको निष्पक्ष छानबिन गर्न शक्तिशाली र स्वतन्त्र ‘भ्रष्टाचार निर्मूल आयोग’ गठनको माग पनि समावेश गरिएको छ। ढुङ्गानाले हाल विद्यमान निकायहरू भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी हुन नसकेको आरोप लगाउँदै नयाँ र अधिकारसम्पन्न आयोग आवश्यक भएको बताउनुभयो।
त्यसैगरी, विदेशमा रहेका लाखौँ नेपाली नागरिकलाई मताधिकारको सुनिश्चितता गर्नुपर्ने माग पनि आन्दोलनको प्रमुख एजेण्डामध्ये एक रहेको छ। उहाँले वैदेशिक रोजगारी, अध्ययन र अन्य कारणले विदेशमा रहेका नेपालीहरू राज्यका अभिन्न नागरिक भएको उल्लेख गर्दै उनीहरूलाई लोकतान्त्रिक प्रक्रियाबाट वञ्चित गर्न नहुने धारणा राख्नुभयो।
उखु किसान, सहकारी पीडित तथा विभिन्न आर्थिक शोषणमा परेका नागरिकलाई तत्काल न्याय दिनुपर्ने माग पनि समूहले अघि सारेको छ। ढुङ्गानाले लामो समयदेखि किसान र सहकारी पीडितहरू आन्दोलनरत रहँदा पनि राज्य संवेदनशील हुन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो।
उहाँले जेनजी आन्दोलन युवाको भविष्य, देशको सुशासन र न्यायपूर्ण समाज निर्माणसँग प्रत्यक्ष सरोकार राख्ने आन्दोलन भएको उल्लेख गर्दै सरकार संवाद, समझदारी र समाधानतर्फ गम्भीर हुनुपर्ने आग्रह गर्नुभयो। मागहरू सम्बोधन नभएसम्म शान्तिपूर्ण आन्दोलन निरन्तर जारी रहने चेतावनीसमेत उहाँले दिनुभयो।
पत्रकार सम्मेलनमा सहभागी अन्य वक्ताहरूले पनि जेनजी आन्दोलन कुनै क्षणिक असन्तुष्टि नभई देशको समग्र परिवर्तनका लागि उठेको आवाज भएको बताउँदै सबै नागरिक, नागरिक समाज र सरोकारवाला निकायलाई ऐक्यबद्ध हुन आह्वान गरेका थिए।
प्रतिक्रिया दिनुहोस्