नेपाली फिल्मको व्यापारमा अचानक गिरावट

 

काठमाडौँ, ४ पुस । यस वर्षको कात्तिक महिनासम्म नेपाली फिल्म उद्योगका लागि समय उत्साहजनक रह्यो । वर्षको सुरुआती सात महिनामै नेपाली फिल्महरूले झन्डै ६० करोड रुपैयाँ बराबरको व्यापार गर्न सफल भए, जसले उद्योगमा सकारात्मक सन्देश प्रवाह ग¥यो ।

कोरोना महामारीपछि विस्तारै लय समात्दै गएको नेपाली सिनेमा बजारका लागि यो उपलब्धि महत्वपूर्ण मानिएको छ । यस अवधिमा केही सफल फिल्महरूको प्रदर्शनले दर्शकको भरोसा फर्किन थालेको संकेतसमेत दिएको थियो ।

गएको सात महिनाको कुल व्यापारमा सबैभन्दा ठूलो योगदान फिल्म ‘परान’को रहेको छ । दर्शकको उल्लेखनीय साथ पाएको यस फिल्मले हालसम्म बक्स अफिसमा साढे १७ करोड रुपैयाँ हाराहारीको व्यापार गरिसकेको छ ।

‘परान’को सफलताले विषयवस्तु, प्रस्तुति र प्रचार रणनीति मिल्दा नेपाली फिल्मले पनि ठूलो व्यापार गर्न सक्ने सम्भावना रहेको प्रमाणित ग¥यो । यसै वर्ष प्रदर्शनमा आएका अन्य दुई फिल्म ‘ऊनको स्वीटर’ र ‘जेरी अन टप’ले पनि उल्लेखनीय व्यापार गरेका छन् ।

यी दुई फिल्मले संयुक्त रूपमा झन्डै २४ करोड रुपैयाँ कमाउन सफल भएका छन्, जसले कात्तिकसम्म नेपाली फिल्म बजारलाई आशावादी बनाएको थियो ।

तर, कात्तिक महिनापछि नेपाली फिल्मको व्यापारमा अचानक गिरावट आएको देखिन्छ । मंसिर महिनामा आधा दर्जन नेपाली फिल्म प्रदर्शनमा आए पनि तीमध्ये कुनैले पनि दर्शकलाई हलसम्म तान्न सकेनन्।

मंसिर ५ गते ‘लडाइँ पहिचानको’, मंसिर १२ गते ‘हर्ष’, मंसिर १८ गते ‘अभिमन्यु’ र मंसिर २६ गते ‘पीआर’, ‘लोकन्ती’ तथा ‘चिराग’ प्रदर्शनमा आएका थिए। तर यी सबै फिल्मको व्यापार निराशाजनक रह्यो । अधिकांश फिल्मले लगानी उठाउनु त परको कुरा, प्रचार–प्रसारमा गरिएको खर्चसमेत फिर्ता गर्न सकेनन् ।

व्यापारका हिसाबले ‘लडाइँ पहिचानको’ सबैभन्दा कमजोर देखिएको छ । हलमा लागेको र उत्रिएको समेत धेरै दर्शकलाई जानकारी नहुँदा यसको व्यापार ३ लाख रुपैयाँ पनि पुगेको छैन ।

राम्रो प्रचार गरिएको भनिएको ‘हर्ष’ले बक्स अफिसमा करिब २९ लाख रुपैयाँको व्यापार गरेको छ । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार ‘अभिमन्यु’ले गत शनिबारसम्म २१ लाख रुपैयाँ कमाएको देखिन्छ ।

त्यसैगरी ‘पीआर’को व्यापार पनि हालसम्म ३० लाख रुपैयाँ नकटेको अवस्था छ । ‘लोकन्ती’ र ‘चिराग’को व्यापार त प्रायः शून्यजस्तै रहेको उद्योग स्रोतले जनाएको छ ।

मंसिर महिनामा देखिएको यस किसिमको दयनीय व्यापारले फिल्म निर्माता, वितरक र प्रदर्शकलाई चिन्तित बनाएको छ । निरन्तर फिल्म प्रदर्शन भइरहे पनि दर्शकको आकर्षण नबढ्नुले फिल्मको विषयवस्तु, निर्माण गुणस्तर, प्रचार रणनीति र रिलिज समयबारे पुनर्विचार गर्नुपर्ने संकेत गरेको छ ।

साथै, एउटै महिनामा धेरै फिल्म एकैपटक रिलिज हुँदा बजार विभाजित हुनु पनि व्यापार घट्नुको एक कारणका रूपमा हेरिएको छ ।

यद्यपि, मंसिरमा कमजोर देखिएको नेपाली फिल्मको व्यापार पुस महिनामा भने सुधारिने अपेक्षा गरिएको छ । पुसमा दुई ठूला बजेटका र चर्चित कलाकार अभिनीत फिल्म ‘झरीपछिको इन्द्रेणी’ र ‘एक्लो’ प्रदर्शन हुँदैछन् । दुवै फिल्ममा स्थापित कलाकारहरूको उपस्थिति र प्रचारप्रसारले दर्शकको चासो बढाउने विश्वास गरिएको छ ।

यसले नेपाली फिल्म बजारमा पुनः सकारात्मक ऊर्जा भर्ने अपेक्षा गरिएको छ ।

तर, मंसिर महिनाको कमजोर व्यापारले निर्माताहरूको मनमा भने ढ्याङ्ग्रो बजाइसकेको छ । आगामी दिनमा नेपाली फिल्म उद्योगले दर्शकको रुचि, बजार व्यवस्थापन र सामग्रीको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने आवश्यकता अझ स्पष्ट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्