माघ २४ देखि झापा गोल्डकप फुटबल प्रतियोगिता हुने

 

झापा, १ पुस । झापामा आयोजना हुँदै आएको प्रतिष्ठित झापा गोल्डकप फुटबल प्रतियोगिताको सातौँ संस्करण माघ महिनाको अन्तिम साता सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै सार्वजनिक गरेको वार्षिक प्रतियोगिता तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि औपचारिक रूपमा सुरु हुनेछ । प्रतियोगिता झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजना गरिनेछ भने यसको फाइनल खेल फागुन ४ गते सम्पन्न हुनेछ ।

यस वर्षको झापा गोल्डकप हालै दिवंगत भएका प्रतियोगिताका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको हो । प्रतियोगिता आयोजक समितिले उहाँको खेलकुदप्रतिको योगदान, समर्पण र नेतृत्वलाई सम्मान गर्दै स्मृति प्रतियोगिताको रूपमा गोल्डकप सञ्चालन गर्न लागेको जनाएको छ । यसले झापामा मात्र होइन, समग्र नेपाली फुटबल क्षेत्रमा उहाँले पु¥याएको योगदानलाई स्मरण गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

झापा गोल्डकपका अध्यक्ष केदार गिरीका अनुसार प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीहरूमा तीनवटा विभागीय टोली, दुईवटा विदेशी टोली, स्थानीय टोली झापा ११ एफसी तथा नेपालकै प्रतिष्ठित ए डिभिजन क्लबहरू समावेश हुनेछन् । विभिन्न स्तर र पृष्ठभूमिका टोलीहरूको सहभागिताले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र आकर्षक बनाउने विश्वास आयोजकको छ ।

अध्यक्ष गिरीले झापा गोल्डकपलाई राष्ट्रियस्तरको प्रतिष्ठित प्रतियोगिताका रूपमा स्थापित गर्ने उद्देश्यले व्यवस्थापन, खेल तालिका र खेलाडी सुविधामा विशेष ध्यान दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार दर्शकहरूलाई गुणस्तरीय फुटबलको अनुभव दिन सबै तयारी व्यवस्थित ढङ्गले अघि बढाइएको छ । साथै विदेशी टोलीहरूको सहभागिताले स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको खेलशैलीसँग प्रतिस्पर्धा गर्ने अवसर मिल्ने उहाँको भनाइ छ ।

प्रतियोगिताको पुरस्कार राशिबारे जानकारी दिँदै आयोजक समितिले विजेता टोलीलाई १५ लाख रुपैयाँ र उपविजेता टोलीलाई ८ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाएको छ । यसका अतिरिक्त, प्रतियोगिता आयोजना गर्न करिब १ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको गोल्डकपका कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय निकाय, विभिन्न संघसंस्था, प्रायोजक र खेलप्रेमीहरूको सहयोगमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिने लक्ष्य लिइएको छ ।

खेलाडी र प्रशिक्षकहरूको उत्साहवर्धनका लागि प्रतियोगितामा विभिन्न व्यक्तिगत पुरस्कारको पनि व्यवस्था गरिएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) लाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरी ११ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ ।

आयोजक समितिका अनुसार झापा गोल्डकप केवल प्रतिस्पर्धात्मक फुटबल प्रतियोगिता मात्र नभई स्थानीय खेलकुद विकास, युवा प्रतिभाको पहिचान र झापाको खेल पर्यटन प्रवद्र्धनको माध्यमसमेत बनेको छ । प्रत्येक वर्ष हजारौँ दर्शकको उपस्थितिमा आयोजना हुँदै आएको यस प्रतियोगिताले स्थानीय व्यवसाय र समुदायलाई पनि सकारात्मक प्रभाव पार्दै आएको छ ।

यस वर्ष पनि अनुशासित खेल, दर्शकको उत्साहजनक सहभागिता र व्यवस्थित व्यवस्थापनमार्फत झापा गोल्डकपको गरिमा अझ उचाइमा पु¥याउने लक्ष्य आयोजकले लिएको छ । सातौँ संस्करणको सफल आयोजनामार्फत झापा गोल्डकप नेपाली फुटबलको महत्वपूर्ण मञ्चका रूपमा थप स्थापित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्