कास्की, २८ मंसिर । ङसर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजनीतिक दल र नेतृत्वले नेपाली जनताको चाहना, आवश्यकता र अपेक्षाअनुसार काम गर्न सके मुलुकले छिट्टै समृद्धिको मार्ग समात्ने बताउनुभएको छ । उहाँले जनमुखी सोच, जवाफदेही शासन प्रणाली र इमानदार कार्यशैलीमार्फत मात्र दिगो विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।
उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई शनिबार पोखरामा सम्बोधन गर्दै मन्त्री घिसिङले नेपालमा विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन भए पनि ती परिवर्तनले जनताले अपेक्षा गरेको स्तरको सुशासन र सेवा प्रवाह दिन नसक्दा जनअसन्तुष्टि बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार राजनीतिक परिवर्तनलाई जनजीवनसँग प्रत्यक्ष जोड्न नसक्दा बारम्बार असन्तोष र विद्रोहका अवस्था सिर्जना भएका छन् ।
मन्त्री घिसिङले सार्वजनिक सेवा प्रवाहमा देखिएको ढिलासुस्ती, जवाफदेहीताको कमी, प्रशासनिक जटिलता र प्रक्रियागत झन्झटले शासन व्यवस्था सुस्त बनेको उल्लेख गर्नुभयो । यही अवस्थाको प्रतिफलस्वरूप पछिल्लो समय जेनजी आन्दोलनजस्ता घटनाक्रमहरू देखा परेको उहाँको विश्लेषण थियो । “जनताले समयमै सेवा पाउँदैनन्, सुन्ने कोही हुँदैन भन्ने अनुभूति बढ्दा असन्तोष स्वाभाविक रूपमा बाहिर आउँछ,” उहाँले भन्नुभयो ।
उहाँले देशको आर्थिक समृद्धि, सुशासन, सामाजिक न्याय र रोजगारी सिर्जनालाई एकअर्कासँग जोडेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मन्त्री घिसिङका अनुसार राजनीतिक दल, सरकार, निजी क्षेत्र र नागरिक समाजबीच आपसी सहकार्य र समन्वयको वातावरण सिर्जना गर्न सकिएमा जनचाहनाअनुसार विकास सम्भव हुन्छ । “समृद्धि कुनै एक पक्षको प्रयासले मात्र सम्भव हुँदैन, सबै मिलेर जिम्मेवारीका साथ अघि बढ्नुपर्छ,” उहाँले जोड दिनुभयो ।
छिमेकी मुलुक चीन र भारतले तीव्र गतिमा आर्थिक तथा भौतिक विकास गरिरहँदा नेपाल प्राकृतिक स्रोतसाधनले सम्पन्न हुँदाहुँदै पनि पछाडि पर्नुको कारण गम्भीर रूपमा खोजिनुपर्ने मन्त्री घिसिङको भनाइ थियो । उहाँले जलस्रोत, ऊर्जा, पर्यटन र कृषि क्षेत्रमा अपार सम्भावना हुँदाहुँदै पनि नीति, नेतृत्व र कार्यान्वयनको कमजोरीका कारण अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्नुभयो ।
मन्त्री घिसिङले राजनीतिक नेतृत्वमा सही सोच, दक्षता र इमानदारी भएका व्यक्तिहरूको आवश्यकता रहेको उल्लेख गर्दै युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्नेमा विशेष जोड दिनुभयो । “अब पुरानै शैलीले देश अघि बढ्दैन,” उहाँले भन्नुभयो, “सही दृष्टिकोण भएका, देश र जनताप्रति प्रतिबद्ध तथा ऊर्जाशील युवाहरू नेतृत्वमा आउन जरुरी छ ।”
कार्यक्रममा पोखरा र आसपासका क्षेत्रको विकासबारे पनि चर्चा गर्दै मन्त्री घिसिङले पोखरालाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ठोस योजना र समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार प्राकृतिक सौन्दर्य, संस्कृति र सम्भावनाले भरिपूर्ण पोखरालाई व्यवस्थित पूर्वाधार, स्वच्छता र सेवासँग जोड्न सके पर्यटनमार्फत स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुग्न सक्छ ।
उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रिमा विश्वकर्माले कार्यक्रममा बोल्दै सरकार र राजनीतिक दलहरूले भ्रष्टाचाररहित सुशासन, पारदर्शी सेवा प्रवाह र उत्तरदायी नेतृत्व प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनताको विश्वास जित्न राजनीतिक नेतृत्वले आचरण, नीति र व्यवहारमा स्पष्टता देखाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी वक्ताहरूले वर्तमान राजनीतिक अवस्थाप्रति नागरिकको चासो बढ्दै गएको उल्लेख गर्दै जनउत्तरदायी शासन प्रणाली स्थापना गर्न सबै राजनीतिक शक्तिले आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए । भेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका पार्टी प्रतिनिधि, नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उज्यालो नेपाल पार्टीले जनमुखी राजनीति, सुशासन र समृद्धिको अभियानलाई प्रदेशदेखि केन्द्रसम्म सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्