‘एमालेमा नेतृत्व परिवर्तन अपरिहार्य’

 

काठमाडौँ, २४ मंसिर । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीलाई सुदृढ आधारसहित अघि बढाउन नेतृत्व परिवर्तन अब अपरिहार्य बनेको बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै शाक्यले वर्तमान नेतृत्व शैलीका कारण कम्युनिस्ट आन्दोलनदेखि पार्टीको मौलिक विचारसम्म कमजोर बन्दै गएको दाबी गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वप्रति कडा असन्तुष्टि व्यक्त गर्दै उहाँले अब पार्टीले नयाँ दिशानिर्देशन र कार्यसम्पादन शैली अपनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँका अनुसार, नेतृत्वमा बसेकाहरूले समयानुकूल रूपान्तरण र सुधार गर्नुपर्ने हुँदाहुँदै पनि अहिलेसम्म भएको छैन ।

 

शाक्यले भन्नुभयो, “नेतृत्वमा बसेका व्यक्तिले आफ्नो व्यवहार, शैली र सोचमा परिवर्तन ल्याउनु पथ्र्यो, तर त्यस्तो अभ्यास गर्नुभएको अनुभूति हामीले पाएनौँ । अहिलेको नेतृत्वसँग परिवर्तनको संकल्प नै कमजोर भएकाले अब पार्टीलाई सक्षम रूपमा अघि बढाउन नेतृत्व फेरबदलको विकल्प छैन।”

उहाँले पार्टीको आगामी महाधिवेशनले यस दिशामा निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । शाक्यका अनुसार पार्टीलाई विधिसम्मत, अनुशासित र जनमुखी कार्यपद्धतितर्फ अघि लैजानका लागि वरिष्ठ नेता ईश्वर पोखरेल योग्य विकल्पका रूपमा प्रस्तुत हुनसक्ने धारणा पार्टीभित्र बलियो बन्दै गएको छ । विचारगत स्पष्टता, व्यवहारिक राजनीति र संगठन व्यवस्थापनमा पोखरेल सक्षम नेतृत्व बन्ने उहाँको तर्क छ ।

कार्यक्रममा शाक्यले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीप्रति अध्यक्ष केपी ओलीले गरेको टिप्पणीलाई आपत्तिजनक भन्नुभएको छ । उहाँले ओलीले सार्वजनिक रूपमा भण्डारीलाई ‘धामी–झाँक्री’ जस्ता अभद्र शब्द प्रयोग गरेर अपमान गरेको उल्लेख गर्दै यस्तो व्यवहार महिला–पुरुष समानता र सामाजिक मर्यादाको दृष्टिकोणले अयोग्य भएको बताउनुभयो ।

“महिलालाई सम्मान गर्न नसक्ने नेतृत्व पार्टीलाई आवश्यक छैन,” शाक्यले स्पष्ट रूपमा भन्नुभयो । उहाँका अनुसार राजनीतिमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्न जान्नु नेतृत्वको परिपक्वता हो, तर वर्तमान नेतृत्वले त्यसको उल्टो प्रवृत्ति देखाइरहेको छ ।

कार्यक्रममा उपस्थित अन्य नेतृहरू बिन्दा पाण्डे, उषाकिरण तिम्सेना, शर्मिला कार्कीलगायतले पनि पार्टीमा अब सम्मानजनक रूपमा नेतृत्व हस्तान्तरण हुनुपर्ने धारणा राख्नुभयो । उनीहरूका अनुसार वर्तमान नेतृत्वको निर्णय–प्रक्रियामा समावेशीता कमजोर हुँदै गएको छ, जसले पार्टीमा आन्तरिक असन्तुष्टि बढाएको छ ।

नेतृहरूले एमाले जस्तो ठूला संरचना भएको पार्टीले लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउँदै सहमतिको आधारमा नेतृत्व चयन गर्ने परम्परालाई निरन्तरता दिनुपर्ने बताएका छन । यदि सहमति सम्भव नभए, विधानले व्यवस्था गरेअनुसार लोकतान्त्रिक पद्धतिमा नेतृत्व चयन हुनुपर्ने उनीहरूको जोड थियो ।

यसका साथै, उनीहरूले महाधिवेशनका लागि प्रतिनिधि चयन भइसकेका अवस्थामा विधान संशोधन गर्न सकिँदैन भन्ने स्पष्ट संकेत पनि दिएका छन । विधान संशोधनको प्रयास भइरहेको चर्चा सार्वजनिक भएको सन्दर्भमा नेतृहरूले त्यसलाई प्रक्रियाविरुद्धको कदमका रूपमा चित्रित गर्दै रोक्न माग गरेका छन ।

एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्व र संगठनात्मक रूपान्तरणका विषयमा बहस तीव्र बन्दै गएको छ । शीर्ष नेताहरूबीचको मतभेद, भावी नेतृत्वको विषय र विधान संशोधनका सम्भावित विवादले पार्टीभित्र आन्तरिक राजनीति तातिएको छ ।

उपाध्यक्ष शाक्यको वक्तव्यले पनि पार्टीभित्र नयाँ नेतृत्वबारे उत्पन्न बहसलाई थप सार्वजनिक बनाएको छ । विशेषतः युवा पुस्ता, महिला तथा संगठन निर्माणमा सक्रिय समूहले परिवर्तनको एजेण्डालाई प्राथमिकता दिँदै आएको देखिन्छ ।

एमालेभित्रको यो विवेचनात्मक बहस आगामी महाधिवेशनमा के परिणाम ल्याउँछ भन्नेप्रति राजनीतिक वृत्त र आम कार्यकर्ता दुवैको ध्यान केन्द्रित भएको छ ।

प्रतिक्रिया दिनुहोस्