काठमाडौँ, १९ मंसिर । पाँच पटकको प्रयासपछि नेपाली फिल्म ‘अभिमन्यु’ अन्ततः शुक्रबारदेखि देशभरका हलहरूमा सन्तोषजनक शोसहित प्रदर्शनमा आएको छ । लामो समयदेखि विभिन्न कारणले रिलिज मिति परिवर्तन हुँदै आएको यो फिल्म अन्ततः दर्शकमाझ आउन सफल भएको हो । प्रारम्भिक दिनमै फिल्मले पाएको शो संख्या र प्रिमियरमा देखिएको सकारात्मक प्रतिक्रियाले निर्माण टोलीमा उत्साह थपिएको छ ।
‘अभिमन्यु’लाई सुरुमा गत भदौ २७ गते रिलिज गर्ने तयारी गरिएको थियो । तर सोही समय जेनजी पुस्ताको देशव्यापी आन्दोलन चर्किँदा सार्वजनिक कार्यक्रम र मनोरञ्जन क्षेत्र प्रभावित बने, जसका कारण फिल्मलाई पछाडि सार्न बाध्य हुनुपर्यो । यसअघि पनि साउन २३, असोज २४ र कात्तिक २१ गतेलाई घोषणा गरिएको मितिमा फिल्म रिलिज हुन सकेको थिएन । लगातार मिति सर्नु फिल्म निर्माण पक्षका लागि चुनौतीपूर्ण भए पनि अन्ततः पाँचौँ प्रयासमा फिल्मले हल पाउन सफल भएको छ ।
फिल्मले मुलुकभर एक सयभन्दा बढी शो पाउँदै शुरुवात गरेको छ, जुन नेपाली फिल्मका लागि उत्कृष्ट मानिन्छ । काठमाडौंलगायत प्रमुख शहरका मल्टिप्लेक्समा फिल्मलाई उल्लेखनीय संख्या प्रदान गरिएको छ ।
देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन ‘क्यूएफएक्स सिनेमाज’ले राजधानीका आउटलेटहरूमा मात्र ११ भन्दा बढी शो दिएको छ । दोस्रो ठूलो मल्टिप्लेक्स चेन ‘आईएनआई सिनेमाज’को पाँचवटा चेनमा फिल्मले ११ शो पाएको छ । त्यस्तै वान् सिनेमाजले दुई आउटलेटमा ६ शो, बिग मुभिजले २ शो र एफक्युब सिनेमाजले पनि २ शो दिएको छ ।
निर्माण पक्षका अनुसार यो शो संख्या देशभरका अन्य सिंगल थिएटर र शहर बाहिरका सिनेमाघर समेट्दा अझ बढ्ने अनुमान छ । फिल्मले शुरुआती दिनमै पर्याप्त शो पाउनु दर्शक र वितरकहरूको विश्वासका रूपमा लिइएको छ ।
गत सोमबार काठमाडौंमा आयोजना गरिएको विशेष प्रिमियर शोमा फिल्मले उच्च प्रशंसा प्राप्त गरेको थियो । निर्देशक सुशान्त गौतमको डेब्यू निर्देशन हो—‘अभिमन्यु’। पहिलो निर्देशनमै गौतमले विषयवस्तुको छनोट, प्रस्तुति शैली, दृश्य निर्माण र कलाकारहरूको उपयोगमा परिपक्वता देखाएको भन्दै चलचित्र क्षेत्रका विज्ञहरूले प्रशंसा गरेका छन् ।
फिल्मको कथा–पटकथा मुकेश खनालले लेखेका हुन् भने मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, शिशिर वाङ्देल, प्रकाश दाहाल र किरण श्रेष्ठलगायत अनुभवी र प्रतिभावान् कलाकारहरू देखिएका छन् । उनीहरूको अभिनय स्वाभाविक, प्रभावशाली र कथा अनुरूप रहेको भन्दै प्रिमियरमा उपस्थित दर्शक र समिक्षकहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए ।
फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । सह–निर्माताको भूमिकामा रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् । कार्यकारी निर्माता रूपमा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । प्राविधिक पक्षमा पनि अनुभवी टोलीको संयोजन देखिन्छ । शरद महतो फिल्मका सिनेमेटोग्राफर हुन् । जुनिम गहतराजले रंग संयोजन (कलर ग्रेडिङ) र मदन घिमिरेले सम्पादनको जिम्मा सम्हालेका छन् ।
फिल्मको निर्माण टोलीले सामाजिक, मनोवैज्ञानिक र वास्तविक जीवनका घटनालाई कथामा समेटिएको बताउँदै दर्शकहरूले यसलाई नयाँ अनुभवका रूपमा ग्रहण गर्ने विश्वस बाँडेका छन् । जेनजी आन्दोलनका कारण पटक–पटक ढिलाइ भए पनि फिल्मले पाएका शो र प्रारम्भिक प्रतिक्रियाले ‘अभिमन्यु’लाई सफल सुरुवात मिलेको देखिन्छ ।
फिल्म अहिले देशभर प्रदर्शनमा रहेको छ । आगामी दिनमा दर्शकको समर्थन र सकारात्मक वर्ड–अफ–माउथ मिल्दै गएमा शो संख्या थपिने अपेक्षा गरिएको छ । निर्माता, निर्देशक र कलाकारहरूले नेपाली फिल्म उद्योगमा नयाँ प्रकारको विषयवस्तु रोजेको फिल्म ‘अभिमन्यु’ले दर्शकको माया पाउने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्