१० जना उच्चपदस्थलाई ज्यान मार्ने धम्की  दिनेको पाठकको खोजी तीव्र 

 

काठमाडौं, १९ मंसिर । १० जना उच्चपदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिने ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’का अध्यक्ष दाबी गर्ने प्रकाश पाठकको खोजी तीव्र पारिएको छ ।
‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामक संस्थाका अध्यक्ष रहेको दाबी गर्ने पाठकले देशका १० जना उच्चपदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएपछि नेपाल प्रहरीले द्रुतगतिमा अनुसन्धान अघि बढाएको हो । पछिल्ला दिनमा विभिन्न शीर्ष पदाधिकारीहरूलाई पठाइएका धम्कीपूर्ण इमेल सार्वजनिक भएपछि सुरक्षातन्त्र झन् सतर्क बन्दै गएको हो ।
धम्कीको लक्ष्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, तत्कालीन परराष्ट्र मन्त्री डा. आरजु राणा, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वगृहमन्त्री बालकृष्ण खाण, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका हुन् ।

यी सबैलाई पाठकको नामबाट पठाइएको इमेलमा १० दिनभित्र राजीनामा नदिए “हत्या गर्ने“ चेतावनी दिइएको छ ।
आयुक्त राईलाई पठाइएको पत्रमा भनिएको छ, “हाम्रो केन्द्रीय कमिटीले तपाईंसहित १० जना भ्रष्ट प्रशासक र अस्थिर सरकारका कारण सत्तामा आएकाको हत्या गर्ने निर्णय गरेकोमा दुःखी छौं । तपाईंले १० दिनभित्र राजीनामा दिनुपर्छ, अन्यथा मारिनुपर्नेछ ।” पत्रमा भदौ २४ गते कारागारबाट भागेका कैदीहरूलाई प्रयोग गरी आक्रमण गरिने र यसको जिम्मेवारी आफूले लिने उल्लेख गरिएको छ ।
धम्कीपत्र पठाइएको समय केही दिनअघि भए पनि पत्र अहिले मात्र सार्वजनिक रूपमा चर्चामा आएको हो । पत्र आयुक्त राईसहित अन्य व्यक्तिहरूको निजी इमेलमा पठाइएको बताइएको छ ।
नेपाल प्रहरीका अनुसार इमेल पठाउने व्यक्ति नेपालमै नभएको प्रारम्भिक अनुमान गरिएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताएअनुसार पाठकको लोकेशन ट्रेस गर्ने प्रयास भइरहेकाले विस्तृत विवरण अहिले खुलाइएको छैन । “हामी अनुसन्धानमै छौं। पाठक को हुन्, कहाँ छन्, उनीसँग समूह कति ठूलो छ—यी सबै विषयमा प्रहरीका विभिन्न युनिटहरू सक्रिय छन्,” अधिकारीले भने ।
घटनालाई गम्भीर रूपमा लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (ऋक्ष्द्य), इन्टरपोल शाखा, तथा अन्य इन्टिलिजेन्स युनिटहरूले छुट्टाछुट्टै बाटोबाट खोजी अघि बढाएका छन् । साइबर क्राइम युनिटले धम्की इमेलको डिजिटल फुटप्रिन्ट विश्लेषण गरिरहेको छ ।
प्रकाश पाठक भन्ने व्यक्तिको फेसबुकमा अपलोड गरिएको एक भिडियो पनि प्रहरी अनुसन्धानको केन्द्रमा छ । भिडियोमा आफू ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामक समूहको अध्यक्ष भएको दाबी गर्दै उनले अख्तियार प्रमुख राईसहित १० जनाको हत्या गर्ने योजना बनाएको बताएका छन् । भिडियोमा उनले प्रहरी आफूमाथि निगरानी गरिरहेकोबारे पनि जानकारी रहेको दाबी गरेका छन् ।
तर, प्रहरी अधिकारीहरूका अनुसार उक्त भिडियो नेपालबाहिरबाट अपलोड भएको हुनसक्ने सम्भावना बढी छ । यसले अनुसन्धानलाई थप जटिल बनाएको अधिकारीहरूको भनाइ छ ।
‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामक समूह वास्तवमै कति संगठित छ, यो केवल व्यक्तिगत दाबी मात्र हो कि कुनै विस्तारित नेटवर्क यसबारे ठोस जानकारी खुलिसकेको छैन। प्रहरी अहिले समूहको संरचना, उद्देश्य र गतिविधिबारे थाहा पाउन विभिन्न सुरागहरू खोतलिरहेको छ ।
यस्तै,धम्कीका शिकार बनेका पदाधिकारीहरूको सुरक्षा व्यवस्थामा समेत कडाइ गरिएको छ । सरकारले यस घटनालाई राज्य सुरक्षा चुनौतीका रूपमा लिएर तथ्य–तथ्याङ्क संकलन, अनुसन्धान र पूर्वसावधानी उपायहरूलाई प्राथमिकता दिएको बुझिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० जना हाइप्रोफाइल व्यक्तिहरूका निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर गरिएको छ ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले बिहीबार ती १० जनाको निवासस्थान, भ्रमण मार्ग र कार्यक्रमस्थलमा निगरानी बढाउन सर्कुलर गरेको हो । आफूलाई उग्रवादी संगठनको अध्यक्ष बताउने युवकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर धम्की दिएका थिए । युवकले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा पूर्वआईजीपीहरू तथा अख्तियार प्रमुखलाई ‘सफाया’ गरिने उल्लेख छ ।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरका प्रहरी युनिटहरूलाई सर्कुलर गर्दै धम्की दिएका व्यक्तिहरू सहभागी हुने कार्यक्रमस्थलमा पनि निगरानी गर्न र सूचना संकलन गर्न भनेको छ ।
यस घटनाले मुलुकमा साइबर सुरक्षा, उच्चपदस्थ व्यक्तिहरूको सुरक्षा र चरमपन्थी गतिविधिसम्बन्धी संवेदनशीलता पुनः सतहमा ल्याएको छ । अनुसन्धान निष्कर्ष नआएसम्म प्रहरी र सुरक्षातन्त्र उच्च सतर्कतामा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्