नेपाली कांग्रेस प्रतिनिधिहरूको काठमाडौंमा भेला,विशेष महाधिवेशनकालागि तयारी गर्ने निष्कर्ष

काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन माग्दै आएका महाधिवेशन प्रतिनिधिहरू राजधानीमा भेला भएका छन् । मंसिर १५ गते बसेको केन्द्रीय समिति बैठकले आगामी पुस २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय गरेपछि असन्तुष्ट समूहले आपत्ति जनाउँदै वैकल्पिक कदमबारे छलफल गर्न बिहीबार भेला आयोजना गरेको हो ।

विशेष महाधिवेशन पक्षका नेताहरूका अनुसार नियमित महाधिवेशनको कार्यतालिका ‘उद्देश्यप्रेरित र रणनीतिक’ रूपमा ल्याइएको छ र यसले उनीहरूको विशेष महाधिवेशनको माग दबाउने प्रयास गरेको दाबी छ । भेलामा सहभागी नेताहरूले नियमित महाधिवेशन निर्धारित मितिमा हुन नसक्ने दाबी गर्दै त्यस अवस्थामा विशेष महाधिवेशनका लागि संगठनात्मक तयारी जारी राख्नुपर्ने निष्कर्ष निकालेका छन् ।

नेता जगदीश्वर नरसिंह केसीले नियमित महाधिवेशनको कार्यतालिका विश्वासयोग्य नभएको उल्लेख गर्दै १५ औँ महाधिवेशनको व्यवस्थापनमा शंका उत्पन्न भएको बताउनुभयो । “यो कार्यतालिका षड्यन्त्रमूलक ढंगले आएको छ,” केसीले भन्नुभयो, “पुस १६ गतेसम्म त केही असर नपर्ला । तर १८, २० वा २२ गतेतिर कार्यतालिका प्रभावित पार्ने वातावरण बनाएमा हामीले पुस २८ गते विशेष महाधिवेशनका लागि पूर्ण तयारी अवस्थामा रहनुपर्छ।”

उहाँले पार्टीका महामन्त्रीहरूलाई भेटेर यो आशंका स्पष्ट रूपमा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । केसीका अनुसार नियमित महाधिवेशनको कार्यतालिका असफल भए विशेष महाधिवेशन स्वतः वैधानिक र आवश्यक कदम हुने स्पष्ट छ ।

ललितपुरका कांग्रेस सभापति जितेन्द्र श्रेष्ठले पनि नियमित महाधिवेशन कार्यतालिकालाई विशेष महाधिवेशन रोक्ने प्रयासका रूपमा व्याख्या गर्नुभयो । उहाँले भन्नुभयो “हामीले सुरुमा नै नियमित महाधिवेशन भन्ने भनिरहनु हुँदैन थियो । अहिले वडा अधिवेशनबाट प्रतिनिधि चयन भएकाले हमी आधिकारिक भइसकेको ठहर्छ, जसले विशेष महाधिवेशनको माग कमजोर पार्न सक्छ । यही कारण नियमित कार्यतालिका अघि सारिएको हो।”

उहाँका अनुसार विशेष महाधिवेशनको प्रक्रिया जीवन्त राख्न संगठनभित्रका प्रतिनिधिहरूले आन्तरिक एकता र स्पष्ट धारणा कायम गर्नुपर्नेछ ।
नेता गुरूराज घिमिरेले महाधिवेशन कार्यतालिकाको प्रभावकारिताबारे अहिले नै ठोकुवा गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “नियमित कार्यतालिका आएको छ । तर अब त्यो कार्यतालिका अनुसार प्रक्रिया अघि बढ्छ कि कहाँ अड्किन्छ भन्ने हेर्नुपर्नेछ ।”

असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउँदै पुस २८ भित्रै विशेष महाधिवेशन गर्न माग गरेका थिए । आन्तरिक विवाद र पार्टी नेतृत्वप्रति असन्तुष्टि बढ्दै जाँदा कांग्रेसभित्र विशेष महाधिवेशन प्रमुख विषय बनेको हो ।

यसैबीच सभापति शेरबहादुर देउवाले भने कार्यतालिकाअनुसार नियमित महाधिवेशन हुनेमा दृढता व्यक्त गर्नुभएको छ । बिहीबार केही युवा नेताहरूसँग भेट गर्दै देउवाले नियमित महाधिवेशन नै संस्थागत समाधान भएको बताउँदै विशेष महाधिवेशनको प्रसंग अब उपयुक्त नभएको बताउनु भएको छ ।

देउवाका अनुसार पार्टीले सहमति र विधिअनुसार अघि बढ्नुपर्ने र लगातार उठाइँदै आएका विवादहरू संस्थागत प्रक्रियाबाटै समाधान गर्न सकिनेछ ।
कांग्रेसभित्रको यो आन्तरिक विवादले आगामी पुस २६–२८ मा तोकिएको नियमित महाधिवेशन समयमै हुन्छ कि हुँदैन भन्ने प्रश्न उठिरहेको छ ।

नियमित महाधिवेशन सफलतापूर्वक सम्पन्न भए विशेष महाधिवेशनको माग स्वाभाविक रूपमा न्यून हुनेछ । तर कार्यतालिका असफल भयो वा प्रभावित पार्ने परिस्थिती जन्मियो भने पुस २८ मा विशेष महाधिवेशन खोज्ने समूह सक्रिय हुने संकेत दिइरहेको छ ।

नेपाली कांग्रेसको आगामी राजनीतिक दिशा नियमित महाधिवेशनमार्फत तय हुन्छ कि विशेष महाधिवेशनमार्फत अब पार्टी नेतृत्वको व्यवस्थापन क्षमता, समयमै तयारी, आन्तरिक सहमति र आगामी दुई हप्ताको राजनीतिक घटनाक्रमले निर्णायक भूमिका खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्