 
                        
काठमाडौं, १४ कात्तिक । नेपाल आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा पुछारमा रहेको युएईसँग ५ विकेटले पराजित भएको छ ।
नेपालको कप्तान रोहित पौडेलको शतक बाहेक अन्य खेलाडीको ब्याटिङ फितलो रह्यो । बलियो मानिएको नेपाली बलिङ कमजोर रहनु पनि हारको कारण बन्यो । जारी सिरिजमा नेपालको यो लगातार दोस्रो हार हो ।
जितको लागि २ सय ३४ रनको लक्ष्य पछाएको घरेलु टोली युएई ४३.३ओभरमा ५ विकेटको नोक्सानीमा पूरा गर्यो ।
सुरुवात राम्रो गरेको युएईले पहिलो विकेटको लागि ओपनरद्वय अलिसान सराफु र आर्यान्स शर्माले ६३ रनको साझेदारी गरे ।
आलिसान नवौं ओभरमा ४५ रन जोडेर करण केसीको बलमा रोहित पौडेलद्वारा सम्हातिए । लगत्तै रनको खाता नखोलेका सोहेब खान सन्दीप लामिछानेको बलमा आउट भए ।
नेपाली बलरहरुले विकेट झार्न सकेनन् भने कप्तान राहुल चोप्रा १५ रनमा रिटायर्ड हर्ट भए । यतिखेर टिमले १ सय १८ रन बनाइसकेको थियो ।
राहुलको स्थानमा मोहम्मद वासिम क्रिजमा छिरे । उनले आर्यान्ससँग ७६ रनको साझेदारी गरे । २६ रन जोडेर तेस्रो विकेटको रुपमा पबिलियन फर्किए । यतिखेर युएई १ सय ९४ रन बनाउँदै जितको निकै नजिक पुगिसकेको थियो ।
टोलीलाई सहज जिततर्फ डोर्याएका आर्यान्स शतकबाट मात्र दुई रनले चुके । ३४. ओभरमा सन्दीपको बलमा ९८ रन बनाएका आर्यान्स कट एन्ड बोल्ड हुन पुगे । उनी करियरकै पहिलो शतक नजिक पुगे । शतक संभव नभएपनि ओडिआईमा सर्वाधिक रन जोड्न सफल रहे । उनले यसअघि ५७ रन बनाएका थिए ।
पाँचौं विकेटको रूपमा हर्षित कौसिक १३ रनना दीपेन्द्र सिंह ऐरीको बलमा आउट भए । यतिखेर ५८ बलमा युएईलाई जितको लागि १६ रन मात्र जोड्नु थियो । धुर्व परासर अविजित १६ रनना रहे । बलिङमा सन्दीपले १० ओभरमा ३४ रन दिएर २ विकेट लिए । करण र दीपेन्द्रले १÷१ विकेट लिए ।
त्यसअघि आइसिसि एकेडेमी दुबईमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो । ५० ओभरमा नेपालले सम्पुर्ण विकेट गुमाउँदै २ सय ३३ रन बनायो । नेपालले सुरुवात राम्रो गर्न सकेन। मात्र २६ रन जोड्दा २ विकेट गुमाइसकेको थियो ।
कुशल भुर्तेल ७ रनमा र भीम सार्की ३ रनमा आउट भए । लगतै आशिफ शेख ३५ रनमा आउट हुन पुगे । ६१ रन जोड्दा नेपालले पहिलो क्रमका ३ ब्याटर गुमायो ।
तर यसपछि भने कप्तान रोहित र आरिफ शेखले चौथो विकेटको लागि ७० रनको साझेदारी गर्दै इनिङ्स उकासे । आरिफ २७ रनमा आउट भए । ४ विकेट गुमाउँदा नेपालले १ सय ३१ रन बनायो ।
यसपछि कप्तानलाई साथ दिन आएका उप कप्तान दिपेन्द्र सिंह ऐरीले पाँचौ विकेटको लागि लागि ५४ रनको साझेदारी गरे। दीपेन्द्र २३ रन जोडेर रन आउट भए ।
गुल्सन सामना गरेको पहिलो बलमा जुनेद सिद्दिकीको बलमा आउट भए । ४१.५ ओभरमा ६ विकेट गुमाउँदा नेपालले १ सय ८६ रन बनाएको थियो ।
क्रिजमा कप्तान रोहित र सोमपाल थिए । ४६ औं ओभरको पहिलो बलमा रोहितले २ रन प्रहार गर्दा नेपालले २०० रनको आँकडा पुरा गर्यो ।
यही क्रममा रोहितले शतकको सफलता प्राप्त गरे । १ सय २६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै शतक पुरा गरे । ओडिआईमा उनको यो करियरको दोस्रो शतक हो । यसअघि उनले सन् २०२२ मा पपुवान्युगिनी विरूद्ध पहिलो शतक बनाएका थिए ।
रोहितले शतक बनाउँदै इनिङ्स सम्हाले । तर नेपालले अन्तिम ५ ओभरमा नेपालले रन रेटलाई बढाउन सकेन् । ४८ औं ओभरमा नेपालले २ विकेट गुमायो। सोमपाल ६ रनमा आउट भए ।
लगत्तै रोहित जाहिद अलिले रोहितको ठूलो विकेट लिए । उनी १ सय ९ रन जोडेर आउट भए । ४८ ओभरको समाप्तीमा नेपालले ८ विकेट गुमाउँदा २ सय १७ रन जोडेको थियो । करण केसीले १३ रन बनाए । नेपालले अन्तिम ५ ओभरमा मात्र ३९ रन बनाउन सक्यो ।
ओडिआईमा डेब्यु गरेका जाहिद अलिको लागि यो खेल स्मरणीय रहयो । उनले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । यस्तै जुनेदले १० ओभर बलिङ गर्दै ५४ रन दिएर ३ विकेट लिए ।
नेपाल यसअघि पहिलो खेलमा अमेरिकासँग १ सय ७ रनले हारेको थियो । १८ औं खरलमा नेपालको यो ११ औं हार हो । नेपाल १२ अंक सहित सातौं स्थानमा छ । पुछारमा रहेको युएईको चौथो जित हो । उसले ८ अंक बनाएको छ । अब नेपालले शनिबार शीर्षस्थानको अमेरिकासँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्