काठमाडौं, १३ कात्तिक । यो वर्षको दशैं र तिहारमा फिल्म रिलिजको चाप उच्च रह्यो । यी दुई पर्वलाई लक्षित गर्दै १५ दिनको अन्तरालमा सातवटा फिल्म प्रदर्शनमा आए ।
दशैंमा ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’बीच प्रतिस्पर्धा हुँदा तिहारमा ‘जेरी अन टप’, ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’, र ‘मैझारो’ प्रदर्शन भए । तर, यी सात फिल्ममध्ये ‘जेरी अन टप’ले मात्र बक्स अफिसमा बलियो उपस्थिति जनाएको छ ।
दशैंका तीन फिल्मले गत शनिबारसम्म लगभग १४ करोड कमाएका छन् । त्यसमा ‘बलिदान’को ५ करोड ७ लाख, ‘हरिबहादुरको जुत्ता’को ४ करोड ७० लाख र ‘माइतीघर’को ४ करोड ११ लाख छ ।
चर्चाको हिसाबले यी फिल्मको व्यापार अपेक्षाभन्दा धेरै कम हो । यसपालि दशैंमा २५–३० करोड व्यापार हुनसक्ने अनुमान गरिएको थियो । तर, दशैंका फिल्मले लागत पनि उठाउन सकेनन् ।
बरू ‘जेरी अन टप’ तेस्रो साताको संघारमा आइपुग्दा सुपरहिटको बाटोमा देखिएको छ । गत शनिबारसम्म ६ करोड ५१ लाख कमाइ गरेको यो फिल्मले सोमबार ८ करोडको आँकडा नघाएको छ ।
फिल्मको व्यापारिक रफ्तार अझै आक्रामक रहेकाले ‘जारी २’ रिलिज अघिसम्म १२ करोडको आँकडा नाघ्न सक्ने देखिन्छ । फिल्मको विश्वव्यापी कमाइ भने १४ करोड पुगिसकेको बताइन्छ ।
‘जेरी अन टप’ले बक्स अफिसमा आँधी ल्याउँदा तिहारको अवसरमा रिलिज भएका ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’ र ‘मैझारो’ ओझेलमा परेका छन् । यी तीन फिल्मले अपेक्षित व्यापार गर्न सकेका छैनन् । जसले गर्दा दशैं र तिहारमा रिलिज भएका फिल्महरूमध्ये ‘जेरी अन टप’ नै व्यापारमा ‘टप’ बनेको छ । यसले लामो समयदेखि कमजोर बनेको लभस्टोरी विधालाई पनि पुनर्जीवित गरेको छ ।
सिनेमामा कलाकारहरूको अभिनय, हिमाली दृश्य, निर्देशन कला, छायांकन, व्याकग्राउन्ड स्कोर, सम्पादनलगायत पक्षले उत्कृष्ट तारिफ पाएको छ ।
सिनेमाको मुख्य कलाकार अनमोल केसी, आँचल शर्मा र जसीता गुरुङबीचको त्रिकोणात्मक प्रेमको केमेस्ट्रिलाई उत्कृष्ट भनेका छन् । साथमा लामो समयदेखि पर्दामा पुनरागमन गरेका अभिनेता भुवन केसी, चर्चित हाँस्य कलाकार केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तको अभिनयले पनि दर्शकबाट प्रशंसा पाएको छ ।
सुयोग गुरुङको निर्देशनमा बनेको सिनेमालाई दिलिप रेग्मीले दृश्यांकन गरेका छन् । अनन्या फिल्मसको प्रस्तुतिमा बनेको सिनेमाले पहिलो साता मात्रै ५ करोडमाथिको कलेक्सन गरेको थियो ।
भुवन र अनमोलको यो पहिलो स्क्रिनसेयर हो । ‘क्याप्टेन’मा भुवन थिए तर गीतमा मात्रै । त्यसैले पूरै सिनेमामा भने भुवन र अनमोलले काम गरेको यो पहिलो सिनेमा हो । बाबुछोरोको स्क्रिनसेयरलाई दर्शकले रुचाएको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्