पोखराको चार स्थानमा छठपूजा गरिँदै

कास्की, १० कात्तिकः पर्यटकीय राजधानी पोखरामासमेत छठपर्व धुमधामका साथ मनाउने तयारी गरिएको छ । सूर्य भगवानको उपासना गरिने यस पर्वमा नेपालको तराई तथा मधेशी समुदायका श्रद्धालुहरुका लागि पोखरामै चार प्रमुख स्थानमा छठपूजा गर्ने व्यवस्था गरिएको हो ।

पेसा र व्यवसायका कारण पोखरामै बसोबास गरिरहेका तराई–मधेशका समुदायका श्रद्धालुहरूले पछिल्ला वर्षमा पोखरामै छठपर्व मनाउँदै आएका छन् ।

पोखराको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), नारायणस्थान मन्दिर, सेतीगण्डकी र कालीखोलाको सङ्गमस्थल र कमलपोखरीलाई पूजाका लागि विशेष रूपमा सजाइएको र वरपर सरसफाइ गरिएको नारायणस्थान मन्दिर पूजा समितिका उपाध्यक्ष विनोद गुप्ताले जानकारी दिनुभयो । चारवटै स्थानमा पूजा समिति गठन गरी सामूहिक पूजाको प्रबन्ध गरिएको छ ।

पोखरामै छठपर्व मनाउने भक्तहरूका लागि सहज वातावरण सिर्जना गर्न समिति सरसफाइदेखि आन्तरिक व्यवस्थापनसम्ममा जुटेका हुन् । उहाँले भन्नुभयो,“हामीले विगतदेखिनै पोखरामा छठ पूजाका लागि व्यवस्था गर्दै आएका छन् ।

पूजाका लागि आफ्नो घर जान असमर्थ भएका र यहीँ बसेर पूजा गर्नुपर्ने बाध्यता भएकाहरुलाई सहज भएको छ । पोखरामा हामीले धूमधामका साथ यसवर्ष पनि छठ मनाउने छौँ ।”

छठ पूजामा आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने र मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन गरिने । पूजा स्थलहरूमा फूलमाला, रङ्गीन बत्ती र टेन्ट जडान गरी श्रद्धालुका लागि बस्ने व्यवस्था मिलाइएको उपाध्यक्ष गुप्ताले बताउनुभयो ।

भद्रकाली छठपूजा समितिका अध्यक्ष तारानन्द शर्माका अनुसार भक्तजनहरूले पञ्चमीका दिन व्रत बस्ने (खड्ना) र राति पूजा गर्ने परम्परा रहेको छ ।

केराको खम्बा, भोगटे, सुन्तला, उखु, अदुवा, लगायतका फलफूलका बोटहरूबाट मण्डप सजाइने र सूर्यदेवलाई भगवानको रूपमा पूजा गरेर मनोकामना पूर्ति हुने विश्वासका साथ वर्त बस्नै गरिएको उहाँले बताउनुभयो ।

पोखरामा १० हजारको हाराहारीमा नागरिकले छठपर्व मनाउने गरेको बताइन्छ । पछिल्लो समय तराईसहित पहाडी समुदायमासमेत छठ मनाउने प्रचलन बढेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्