सर्लाही, १० असोज । बलरा नगरपालिकाका नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले नागरिक सरकारलाई सम्बोधन गर्दै १९ बुँदे खुला पत्र सार्वजनिक गरेका छन्। पत्रमा उनले छ महिनाभित्रै ठोस परिवर्तनको अनुभूति दिलाउन सरकारलाई आग्रह गरेका छन्।
पत्रमा उनले नेपालको वर्तमान अवस्था अस्थिर राजनीति, असमान विकास र संस्थागत भ्रष्टाचारले ग्रस्त भएको उल्लेख गर्दै, जनताको धैर्य सकिएको र विशेषगरी जेन–जेड पुस्ताको विद्रोह परिवर्तनको चेतना बनेको बताएका छन्।
नगर प्रमुख कुशवाहाले लेखेका छन्, “नागरिक सरकार केवल शासन परिवर्तन होइन, चेतनाको क्रान्ति हो। यसलाई व्यवहारमै उतार्न ‘भाषण होइन, निर्णय’ र ‘आश्वासन होइन, कार्यान्वयन’ चाहिन्छ।”
१९ बुँदे अपेक्षाका मुख्य अंश
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति लागू गर्दै ई–गभर्नेन्स, डिजिटल ट्र्याकिङ र २४ घण्टे सेवा प्रणाली स्थापना।
सर्वपदाधिकारीको सम्पत्ति छानबिन गरी अकुत सम्पत्ति राष्ट्रियकरण गर्ने र दोषीलाई कडा सजाय दिने।
मुद्रा सुधार अन्तर्गत ५०० र १००० का नोट बन्द गरी नयाँ नोट जारी गर्ने।
संविधान सुधार मार्फत ३ प्रदेश संरचना, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, एकपटक मात्र आरक्षण सुविधा, जीवनमा पाँच कार्यकालभन्दा बढी राजनीतिक नेतृत्वमा रोकजस्ता व्यवस्था।
समयमै चुनाव, फास्ट–ट्र्याक अदालतमार्फत न्याय सुधार, सीमा सुरक्षा र राष्ट्रियता संरक्षण।
युवा उद्यमशीलता कोष, बिना धितो ऋण, विदेश पलायन रोक्ने नीति।
शिक्षा र स्वास्थ्यमा आपतकालीन सुधार कार्यक्रम।
तराई–मधेशलाई खाद्यान्न उत्पादन क्षेत्र घोषणा।
सूचना प्रविधि र नवप्रवर्तन कोष, उच्च गति इन्टरनेट विस्तार।
महिला सशक्तीकरण, पर्यावरण संरक्षण, पारदर्शी बजार प्रणाली र समावेशी संस्कृति प्रवद्र्धन।
पूर्वपदाधिकारीका सुविधा कटौती र भिआइपी भ्रमण पारदर्शीकरण।
पत्रको अन्त्यमा नगर प्रमुख कुशवाहाले जनतामा नयाँ युगको अपेक्षा बढेको उल्लेख गर्दै, “नागरिक सरकारसँग स्रोत कम, समय छोटो तर आशा असीमित छ। यही आशालाई कार्यान्वयनतर्फ लैजानु नै ऐतिहासिक सफलता हुनेछ,” भनेका छन्।
मेयर कुशवाहा सामाजिक संजाल फेसबुकमा लेख्छन ।
हाम्रो प्रिय नेपाल आज पनि अस्थिर राजनीति, असमान विकास र संस्थागत भ्रष्टाचारको गहिरो अन्धकारमा जकडिएको छ ।
हिजोका चर्का भाषण, खोक्रा नारा र सुस्त कार्यशैलीले जनताको विश्वास थकित भइसकेको छ। विशेष गरी हाम्रो जेन–जेड पुस्ताले गरेको ज्वलन्त आन्दोलन केवल संघीय सरकारविरुद्धको प्रतिरोध मात्र थिएन—यो असमानता, दमन र निराशाविरुद्धको चेतनाको विस्फोट थियो।
यो स्वर गाउँका चौतारीदेखि सिंहदरबारसम्म गुन्जिएको छ। यही स्वर, यही बलिदान र यही जागरणबाट जन्मिएको “नागरिक सरकार” नेपालको इतिहासमा केवल शासन परिवर्तन होइन, चेतनाको क्रान्तिको प्रतीक हो। नागरिक सरकार भनेको जनताको स्वर हो, युवाको जोश हो, पीडितको आशा हो र भविष्यको सपना हो।
अब देशलाई भाषण होइन, निर्णय चाहिएको छ । आश्वासन होइन, कार्यान्वयन चाहिएको छ। नागरिक सरकारलाई जनताले यही अपेक्षाका साथ स्वागत गरेका छन् ।
यसै सन्दर्भमा, बलरा नगरपालिकाको तर्फबाट म जनताको प्रतिनिधिका हैसियतले निम्न १९ बुँदामा देशको सामूहिक भावना, आशा र अपेक्षा प्रस्तुत गरेको छु । यी बुँदा केवल सुझाव मात्र होइन । —यी नयाँ युगको नक्सा हुन्, जेन–जेड पुस्ताको सपना, पुराना पुस्ताको आशीर्वाद र वर्तमान पुस्ताको दृढ संकल्प हुन्।
देशलाई खरानीबाट उठाउन सजिलो छैन। ढलेको आत्मविश्वासलाई पुनः जागृत पार्न अझ कठिन छ। उठेपछि फेरि ढल्नु पर्ने भय पनि स्वाभाविक छ। तर, नागरिक सरकारले छ महिनामै परिवर्तनको अनुभूति जनतालाई दिनैपर्छ। किनभने, जनताको समर्थन दृढ छ र सरकार नागरिक समाजबाट बनेको हुँदा कार्यकर्ता मात्र होइन, सम्पूर्ण जनता नै यस सरकारका असली शक्ति हुन्।
अब ढिलाइ गर्ने समय छैन। सम्मेलन, घोषणा र खोक्रा नारा होइन—ठोस निर्णय र कार्यान्वयनको घडी हो। नागरिक सरकारसँग स्रोत सानो, समय छोटो भए पनि आशा असीमित छ। यही आशा र उत्साहलाई दिशा दिने सामथ्र्य यस सरकारसँग छ ।
जनताको विश्वासलाई केवल सुरक्षित राखेर पुग्दैन, यसलाई ऐतिहासिक उपलब्धिमा परिणत गर्नु नै नागरिक सरकारको मुख्य जिम्मेवारी हो। नयाँ युगको दीपले अझ उज्यालो ल्याउने विश्वासका साथ, हामी दृढतापूर्वक भनिरहेका छौं—परिवर्तन सम्भव छ, व्यवहारिक छ र अपरिहार्य छ।
प्रतिक्रिया दिनुहोस्