अदानचुली (हुम्ला), ३१ भदौ : हेल्थ अस मेडिकल सेन्टरले यहाँ सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिकसहित ४२५ जनाले सेवा लिएका छन् ।
दुई दिनसम्म सञ्चालन भएको उक्त शिविरमा २३२ले सिमकोट गाउँपालिका– ८ स्याँडा गाउँमा र १२९ जनाले ७ नं वडाको डाँडाफया स्वास्थ्यचौकीमा सेवा लिएका हुन् ।
शिविरमा चिकित्सकको सिफारिसअनुसार औषधि पनि निःशुल्क वितरण गरिएको छ । शिविरमा जम्मा रु सात लाख बराबरको खर्च भएको आयोजक संस्थाका प्रतिनिधि नारायण फडेराले जानकारी दिनुभयो ।
सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँँका ९८ वर्षीय मेघजित शाहीले पहिलो पटक चिकित्सकबाट उपचार पाएको बताउनुभयो । यत्रो उमेरसम्म चिकित्सकबाट उपचार नपाएको बताउँदै उहाँले शिविर सञ्चालन भएपछि चिकित्सक आएको कारण उनीहरुसँग उपचार गराएको बताउनुभयो । दम, कान नसुन्ने र आँखामा समस्या आएपछि आफू शिविरमा उपचारका लागि आएको र चिकित्सकले औषधि उपचारसहित परामर्श दिँदा खुसी भएको प्रतिक्रिया दिनुभयो ।
तल्लो पेट दुख्ने, ग्याष्ट्रिक, बाथ, श्वासप्रश्वास, युरिक एसिड, दम, मधुमेह, स्त्री रोगसम्बन्धी सम्पूर्ण रोगको परीक्षण तथा निःशुल्क औषधि वितरणका साथै भिडियो एक्सरे, नाक, कान र घाँटीको उपचार शिविरमा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्