काठमाडौँ, २६ भदौ । जेनजीको आन्दोलनका क्रममा लुटिएका ७३ थान हतियार बरामद भइसकेको छ । उछृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ परेका छन भने उनिहरुको साथबार ३३ लाख बरामद भएको छ ।
काठमाडौँको महाराजगन्ज र माछापोखरी क्षेत्रबाट नेपाली सेनाले लुटपाटमा संलग्न चार जना व्यक्तिलाई पक्राउ गरी सात थान हतियार, सोका म्यागजिन, राउन्ड र अन्य सहायक सामग्रीहरू बरामद गरेको छ । यसैगरी, माछापोखरीबाट थप एक थान हतियार बरामद गरिएको सेनाले जनाएको छ ।
नेपाली सेनाले आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका तथा फेला पारेका हातहतियार, गोलीगठ्ठा एवं सुरक्षा सामग्री यथाशीघ्र बुझाउन निर्देशन दिएको छ । सेनाले बुधबार वक्तव्य जारी गर्दै त्यस्ता हातहतियार एवं सुरक्षा सामग्री नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन अनुरोध गरेको हो ।
हातहतियार र गोलीगठ्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानुनबमोजिम कारबाही हुने सेनाले स्पष्ट पारेको छ । हातहतियारको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकाले त्यससम्बन्धी सूचना प्राप्त गर्नेे व्यक्तिले सुरक्षा निकायलाई जानकारी गराउन पनि सेनाले आग्रह गरेको छ । सेनाले सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्न अनुरोधसमेत गरेको छ ।
सेनाले यस संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोशाकको अनधिकृत प्रयोग नगर्न पनि सूचित गरेको छ । सेनासहितको सुरक्षा निकायले गए रातिदेखि बिहानसम्म काठमाडौँको विभिन्न स्थानबाट २३ र पोखराबाट आठ नाल गरी विभिन्न किसिमका हतियार ३१ थान तथा म्यागजिन एवं गोलीगठ्ठा बरामद गरेको छ ।
यसैगरी, पछिल्लो विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले उछृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ परेका छन् ।
मङ्गलबार राति १० बजेदेखि आज बिहान १० बजसम्म देशका विभिन्न स्थानमा विध्वंसात्मक तथा अराजक गतिविधिमा संलग्न भएका उनीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको हो । सुरक्षा निकायले काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिबाट ३३ लाख ७० हजार बरामद गरिएको सेनाले जनाएको छ ।
काठमाडौँका विभिन्न स्थानबाट २३ र पोखराबाट आठ नाल गरी विभिन्न किसिमका हतियार ३१ थान तथा म्यागजिन एवं गोलीगठ्ठा बरामद भएका छन् । सार्वजनिक तथा निजी सम्पत्तिमाथि प्रदर्शनकारीले लगाएको आगो तीनवटा बारुणयन्त्रको प्रयोग गरी नियन्त्रण गर्ने कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै देशको जनजीवन सामान्य बनाउने आ–आफ्नो दायित्वलाई हरेक नागरिकले निरन्तरता दिने विश्वास व्यक्त गरेको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ति जारी गरी जस्तोसुकै परिस्थितिमा पनि सबै नेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रही परिस्थितिजन्य जिम्मेवारी बहनमा सक्रिय सुरक्षाकर्मीलाई सहयोग पु¥याउन पुनः अनुरोध गरेको छ ।
देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी हाल लागु गरिएको निषेधाज्ञा आज ५ः०० बजेसम्म देशभर निरन्तर रहने जनाएको छ । साथै निषेधाज्ञा भोलि भदौ २६ गते बिहान ६ः०० बजेसम्म जारी रहने बताएको छ ।
आन्दोलनको नाममा अझै पनि अराजक व्यक्ति र समूहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवं व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास गरिरहेका तथा गर्नसक्ने भएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको हो ।
निषेधाज्ञाका बेला अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधन) सञ्चालन हुन सक्नेछन् । आवश्यक सहजताको लागि नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न सेनाले अनुरोध गरेको छ ।
आन्दोलनपछिको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानको निमित्त सम्बद्ध पक्षबीच समन्वय भइरहेको हुँदा आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने चेतावनी सेनाले दिएको छ ।
साथै अवकाश प्राप्त सैनिकलगायत सुरक्षाकर्मी, सबै सेवाका राष्ट्रसेवक, सञ्चारकर्मी तथा आमनागरिकमा अफवाहको पछाडि नलागी आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न तथा आधिकारिकतामा मात्र विश्वास गर्न अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्