काठमाडौँ, २३ भदौ । ‘जेनजी’को प्रदर्शनका क्रममा काठमाडौँ उपत्यकामा १७ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भएको छ । उपत्यकामा १७ जना र सुनसरी २ जना गरी मृत्यु हुनेको संख्या १९ पुगेको छ । सोमबार जेनजी नामले चिनिएको जेनेरेसन जेड अर्थात् सन् १९९७ देखि २०१० सम्म जन्मिएको पुस्ताले सोमबार सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचरविरूद्ध प्रदर्शन गरेको थियो ।
प्रदर्शनका क्रममा १०० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ट्रमा सेन्टरमा उपचाररत छ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, २५ जना घाइतेको उपचार भइरहेको ट्रमा सेन्टरले जनाएको छ । उनीहरूमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
सिभिल अस्पतालका अनुसार उपचाररत घाइते प्रदर्शनकारीमध्ये हालसम्म तीन जनाको मृत्यु भएको छ । काठमाडौँ मेडिकल कलेजमा उपचाररत २० घाइतेमध्ये एकको मृत्यु भएको छ । एभरेष्ट हस्पिटलमा ३४ जना उपचारत भने तीनको मृत्यु भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एकको मृत्यु भएको छ ।
त्यहाँ घाइते १६ जनाको उपचार भइरहेको छ । उपचाररत घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । जेनजी प्रदर्शनमा भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।
यसैबीच, नेपाली कांग्रेसका नेता कार्यकर्ताले गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।
जेनजीले गरेको विरोध प्रदर्शनमा गरिएको प्रहरी दमनबाट १९ जनाको मृत्यु र दर्जनौं घाइते भएका छन् । प्रहरी दमनको विरोध गर्दै गृहमन्त्री लेखकको राजीनामा नेता कार्यकर्ताले मागेका हुन् ।
यस्तै, ‘जेनजी’ प्रदर्शनको समाचार सङ्कलनमा खटिएका चार पत्रकार घाइते भएका छन् । नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शनको समाचार सङ्कलन गर्न खटिएका पत्रकारहरु श्याम श्रेष्ठ, दीपेन्द्र ढुङ्गाना, उमेश कार्की र शम्भु दङ्गाल घाइते भएका नेपाल पत्रकार महासङ्घले जनाएको छ ।
यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनमा घाइते भएका नागरिकको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले सङ्घीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी शीघ्र उपचारको व्यवस्था गर्न ‘सर्कुलर’ जारी गरिएको हो ।
यसैगरी, काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा कफ्र्यू आदेश जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले विज्ञप्तिमार्फत शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगञ्ज क्षेत्रको उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्व दक्षिणतर्फ सामाखुसी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म कफ्र्यू आदेश जारी गरिएको जनाउनुभएको छ ।
त्यस्तै, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रको केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र, केशरमहल चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म, नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म पनि कफ्र्यू आदेश जारी गरिएको छ ।
प्रशासन कार्यालयले सिंहदरबार क्षेत्रको भद्रकाली मन्दिर (तीनकुने आइल्याड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालयअगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म र सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म कफ्र्यू आदेश जारी गरेको छ ।
प्रशासन कार्यालयले सोमबार २३ गते अपराह्न १ः०० देखि रातिको १० बजेसम्म कफ्र्यू आदेश जारी गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको जनाएको छ ।
उता, जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । पोखरा महानगरपालिका–७ सहिदचोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोमबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेगेट (बैदाम), उत्तरतर्फ मालमोत कार्यालय र दक्षिणतर्फ राष्ट्रबैङ्कचोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालयअगाडि, ड्यामसाइड) सम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । ‘जेनजी’को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
यस्तै,जेन–जी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कास्कीमा एक जना घाइते भएका छन् । गोली लागेर घाइते भएका युवालाई उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
उता, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारकाविरुद्ध आन्दोलनमा उत्रिएको युवापुस्ताले सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाइदिएका छन् । सोमबार दिउँसो पालिका परिसर भित्र प्रदर्शनकारी प्रवेश गरेका थिए । प्रदर्शनकारीलाई लक्षित गर्दै प्रहरीले हवाइफायर गरेको थियो । लगतै प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाको मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आगो लगाइदिएका हुन् ।
आगो नियन्त्रणमा आउन नसकेको उपमहानगरपालिकाले जनाएको छ । इटहरीको प्रदर्शन अनियन्त्रित बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि कफ्र्यु लगाएको छ ।
यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । सरकारले नरसंहार गरेको दाबी गरेको छ । ‘जनतासँग माओवादीः मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो । जेनजी आन्दोलनका क्रममा सरकारले प्रदर्शन गरेको व्यवहार अनुचीत रहेको माओवादीको भनाइ छ ।
परिस्थिति सम्हाल्न पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने निष्कर्षमा पुगिएको नेताहरूले बताएका छन् । घटनापछि माओवादी नेताहरू अभियान स्थगित गरेर काठमाडौं फर्किँदैछन् ।
यस्तै, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रधानमन्त्री केपी शर्माओली र गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । सो पार्टीको केन्द्रीय सचिवालयको सोमबार बसेको आकस्मिक बैठकले ‘जेनजी’ पुस्ताका युवाहरूको आन्दोलनका सन्दर्भमा विशेष प्रस्तावसहित पारित गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन ।
उता, आन्दोलनमा उत्रिएको जेनजी युवाहरुको समूहले झापामा प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा ढुंगामुढा प्रहार गरेका छन् । झापाको दमकमा जेनजी युवाले गरेको भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा गम्भीर घाइते भएका तीनजनालाई विएण्डसी अस्पतालमा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्